अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

ढकालको ‘नेपालको इतिहासमा सिन्धुलीगढी’ बिमोचन संगै राइड टु सिन्धुलीगढी–२०१७ घोषणा

बिआरटीनेपाल २०७३ फागुन ३ गते ८:२६ मा प्रकाशित

सागर कुमार ढकाल लिखित सिन्धुलीगढी सम्बन्धी ऐतिहासिक पुस्तक नेपालको इतिहासमा सिन्धुलीगढी  सोमबार राजधानीमा सार्वजनिक गरिएको छ । सिन्धुलीगढी संरक्षण तथा सम्वद्र्धन समितिले  प्रकाशन गरेको सो पुस्तक समृद्ध सिन्धुली नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा लेखक ढकाल, नेपाल पर्यटन बोर्डका नि.निर्देशक सुनिल शर्मा, पर्यटन बोर्ड सदस्य घनेन्द्र श्रेष्ठ, साइकलयात्री देवेन्द्र बस्नेत र डाउनहिल साइकल च्याम्पियन लक्ष्मी मगरले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

सोही अवसरमा वीर गोरखाली सेनाले तत्कालिन ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको सिन्धुलीगढीसम्म काठमाडौँबाट साइकल यात्रा (राइड टु सिन्धुलीगढी–२०१७) को घोषणा समेत गरिएको थियो । ऐतिहासिक सिन्धुलीगढी, प्राकृतिक सौन्दर्य सहितको वातावरणमैत्री नागवेली सडकसँग (बीपी मार्ग) साइकल पर्यटन जोड्दै सिन्धुलीको सम्बृद्धि गर्न सकिने परिकल्पनासहित गत सन् २०१६ देखि सम्बृद्ध सिन्धुली अभियानले राइड टु सिन्धुलीगढी साइकल यात्रा गराउँदै आएको छ ।

कार्यक्रममा राइड टु सिन्धुलीगढीका संयोजक सौरभ ढकालले राइड टु सिन्धुलीगढी–२०१७ को तीन दिने यात्राबारे जानकारी गराउनुभएको थियो । तीनदिने साइकल यात्रामा नागवेली घुम्ती सडक, उकाली र ओराली गर्दै काठमाडौँबाट सिन्धुलीगढीहुँदै सिन्धुलीमाढीसम्म पुग्दा एक सय ५३ किलोमिटर यात्रा तय गर्नुपर्छ ।

उहाँका अनुसार कात्तिक २३, २४ र २५ गते तीन दिने साइकल यात्रामा दुई सय ५० साइकल यात्रीको सहभागिता गराइने छ । राइड टु सिन्धुलीगढी–२०१७ का लागि आवेदन खुला गरिएको जानकारी दिँदै ढकालले भन्नुभयो–“सन् २०१७ मा ब्रिटिस सेनामाथि गोरखाली सेनाले विजय प्राप्त गरेको २५० वर्ष पुग्ने भएकाले २५० साइकलयात्री लैजादै छौं ।”

पर्यटन बोर्डका नि.निर्देशक शर्माले सार्वजनिक पुस्तक र सिन्धुलीगढीको पर्यटन प्रवद्र्धनबारे चर्चा गर्दै भन्नुभयो–“नेपालको इतिहासमा विजयको महत्व राख्ने सिन्धुलीगढीलाई सम्पदा र साइकल पर्यटनको रुपमा विकास गर्नुपर्छ ।”

यस्तै, बोर्ड सदस्य घनेन्द्र श्रेष्ठले नेपालमा साइकल पर्यटनको प्रचुर सम्भावना रहेको चर्चा गर्दै सिन्धुलीगढीमा पूर्वाधारको विकासगरी व्यवस्थित रुपमा पर्यटन भित्रयाउन सके राज्यको मुख ताक्न नपर्ने बताउनुभयो ।

यसैगरी, साइकलयात्री देवेन्द्र बस्नेतले नेपालमा साइकल पर्यटनको सम्भावना रहेपनि निति निर्माण तहमा यसलाई व्यवस्थित गर्न नसकिएको गुनासो गर्नुभयो ।

त्यस्तै, सञ्चारकर्मी लीलानाथ घिमिरेले नेपाली इतिहाससम्बन्धी खोज र अनुसन्धानकर्ताका लागि नेपालको इतिहासमा सिन्धुलीगढी पुस्तक उपयोगी हुने बताउनुभयो ।

कार्यक्रममा पुस्तकका लेखक सागर कुमार ढकालले सिन्धुलीगढी युद्ध नेपालको स्वाधिनतासँग गाँसिएकोले प्राप्त इतिहासको तथ्य खोजगरी पुस्तकको रुपमा पाठकबीच ल्याएको बताउनुभयो ।

लेखक ढकालले सिन्धुलीमा पर्यटन प्रवद्र्धनको मुख्य आधार सिन्धुलीगढीलाई बनाउन सकिने चर्चा गर्दै राइड टु सिन्धुलीगढी यात्राले सिन्धुलीमा उत्साहको सञ्चार गरेको बताउनुभयो ।

सो अवसरमा राइड टु सिन्धुलीगढी–२०१६ को बृत्तचित्र समेत प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू