भ्यालेन्टाइनस् डे – पीताम्बर पाण्डेय

मन कति चन्चल छ । राम्रो देख्यो, मन परिहाल्ने अनि मिले आफ्नो बनाउन पनि खोजी हाल्ने । कसैलाई मन पराउन जति सजिलो छ, पाउन उत्तिकै कठिन छ । किनभने भावना र वास्तविकताको श्रोत या गंतव्यमार्ग अनुरूप छैनन् । हो, मैले उसलाई मन पराउन एक क्षण पनि लागेन तर उसलाई आफ्नो बनाउन आज सम्म पनि लागिरहेकै छु । सबै भन्दा ठुलो प्रयत्न आफ्नो धैर्यतालाई बचाउनमा नै लाग्यो । मेरो प्रतीक्षाको घडी चार वर्ष सम्म पनि सकिएको छैन ।

प्रभाती-किरणको स्पर्श होस् या त्यही समयमा पूर्वी आकाशमा देखिने मधुर लालित्यको दर्शन, दुवै नपाएको त कयौँ समय बितीसकेको थियो तर त्यो दिन भने मेरो नींद चाँडै नै खुल्यो । तन्द्राबाट निस्केर चेतनामा आए पछि दिमागले सोच्यो – आज त “भ्यालेन्टाइन्स् -डे” पो त !” हो, आजको दिन विगतका अरू दिन भन्दा फरक होस् भन्ने चाहन्छु । मलाई त्यो सूर्य किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदै पूर्वको मधुर ललित्य देख्न मन लाग्यो । विगतमा सदाका दिनहरू झैँ आज आफ्नै घर-ठाँउमा मन चङ्गा बनाएर हिँड्न पनि मन छ । पढाइका चक्करमा उत्तरी यूरोपमा चार वर्ष बिताउँदा यो अवसर कहिल्यै जुरेन । राती अबेर सम्म कम्प्युटरमा झुन्डिएर बस्दा बिहान सबेरै उठेको सम्झना छैन । त्यसो त आधा वर्ष घाम नै देख्न गाह्रो हुने चिसो ठाउँमा यस्तो भएन उस्तो भएन भनेर के गुनासो गर्नु ? त्यसै पनि यो विशाल गगनमंडलमा “उषा या सन्ध्या कालको सौन्दर्य-पान” होस् अथवा “सौम्य वर्षा जलको तिखो स्पर्श”, यी सबको अनुभूति गर्न कसलाई पो फुर्सद होला र ! त्यस सौम्यताको अनुभव त त्यसले पाउँछ जो “प्रकृति-प्रेमी” बन्दछ कि चाँही स्वयम् नै कसैको प्रेममा पर्दछ । ऐले म यी दुई मध्ये कुन चाहिँ मा पर्दछु, म नै अनबिज्ञ छु, तर विदेशी ठिटो हुनु अघिको त्यो समय जति खेर प्रकृतिका प्रत्येक अंशमा सुन्दरता देख्दथे, त्यति खेर म शायद प्रेममा थिए । शायद हैन, म त अवश्य नै प्रेममा थिए, तेसैले त म “भालेन्टाइन-डे” मा उसलाई प्रेमको प्रस्ताव राख्ने पनि आँट गरेँ ।

“ऊ” अर्थात् “गङ्गा” मेरो कलेजमा पढ्ने साथी थिई । त्यही कलेजमा म र समीर भन्ने साथी सँगै जाने-आउने गर्दथ्यौँ। समीर मेरो बालक-कालमा धुले-माटो खेल्ने देखीको साथी थियो। कक्षा ११ को सुरुवातमा परिचय कार्यक्रम पछि थप खोजी गर्दा थाहा पाएका थियौ कि गङ्गा पनि हाम्रै टोल छेउकी केटी रहिछ। गङ्गाको परिवार उसको एस्. एल. सी. सके पछि यता आएका रे! पढाइको क्रम र केही समय पछि हामी तीन जनाको सम्बन्ध अति मिल्ने साथीको रूपमा परिणत भयो। कलेजका दिन होस् या छुट्टीका दिन, हाम्रो नियमित भेटघाट र बातचित भई नै रहन्थ्यो। परीक्षाका समयमा पनि हामी सबै एकै साथ हुन्थ्यौँ। हामी तिनै जनाका परिवारले पनि हामी मिल्ने साथी हौ भनेर बुझेका थिए। तर गङ्गा सँगको राम्रो चिनजान र हेलमेलका क्रममा उसको सौन्दर्यताले मलाई ऊ तर्फ बिस्तारै तानीरहेको मैले महसुस गर्दै थिए। उसको सुन्दरता र मिठो बोलीले मेरो मनमा त पहिलो दिन नै ठाउँ लिई सकेको थियो। हो, उसलाई मैले पहिलो भेट मै, पहिलो क्षण मै मन पराएको थिए। त्यस पछि उ बोलेको, हाँसेको, हिंडेको, अथवा उसले जे सुकै गरेको होस्, उसका हर क्रियाकलाप मलाई मन पर्न थाले। पढाइको लागि १२ कक्षाको अन्तिम तिर म र गङ्गा एक्लै पनि यताउता हिँड्ने गरेका थियौ। त्यही ताक आफ्नो मनको कुरा उसलाई भनुँ-भनुँ पनि नभएको होइन तर मनको कुरा बहिर कहिल्यै निकाल्न हिम्मत जुटेन ।

उसको सुन्दरता र सैहार्दपूर्ण व्यवहारले गर्दा उ प्रति त जो कोही पनि आकर्षित हुने गर्दथे। उसलाई अरू बाट आउने प्रेम-पत्रहरुबारे पनि म र समीर दुवै अवगत थियौँ । गङ्गाको मसँग जत्तिकै समीरसँग पनि दोस्ती भएकोले म आफूँलाई कहिल्यै त्यो स्थानमा पाउन सकिन जसबाट ऊ म प्रति विशेष आकर्षित होस् । तै पनि हरेस खाने मान्छे त म अवश्य नै थिइन । समयको प्रतीक्षा गर्न सक्ने अथाह धैर्यता पनि मसँग थियो तर विडम्बना यो थियो कि खुलेर बोल्नको लागि प्रर्याप्त हिम्मत मेरो आंतमा थिएन । यही हिम्मत जुटाउँदा-जुटाउँदै १२ कक्षा पनि सकियो । केही गरी भएको सम्बन्ध पनि बिग्रने पो हो कि भन्ने डर पनि कता कता थियो, यद्दपी म पछि हटिन । यस्तैमा “भ्यालेन्टाइन्स्-डे” पनि नजिकिँदै थियो । त्यो दिन पनि अरू सामान्य दिन भन्दा केही फरक त थिएन तर त्यसले हिम्मत जुटाउनको लागि भने पर्याप्त रूपमा प्रेरित गर्‍यो । तर उसलाई के भन्ने, कसरी भन्ने, के गर्ने भनेर धेरै सोचें । यिनै “के” र “कसरी”को उत्तरको लागि पत्र-पत्रिका, इन्टरनेट सबै चाहारेँ तर सबै फिल्मी तरिकाका मात्र पाए । परोक्ष रूपमा साथी-भाइसँग पनि बुझे तर कुनै योजना सुझेन । आखिर म उसलाई नजिकैको स्कुलको चौरमा भेटी कुरा गर्छु भन्ने सोँचे जहाँ ऊ फुर्सदका समयमा आफ्नो दाइको सानो छोरोलाई खेलाउन लैजाने गर्दथी । स्कुल सजाउन लगाईएका हरिया रुखहरु र रङ्गी-चङ्गी फुलका बोटहरु सहितको त्यो चौर पर-पर सम्म फैलिएको, ठुलो थियो । बस्नको लागि छेउ-छाउमा पर्याप्त बेन्चहरु र बिचमा फराकिलो हरियो मैदान भएकोले त्यहाँ खेल्न, बस्न या सैर गर्न सबै उमेर समूहका मान्छे आउने गर्दथे । भ्यालेन्टाइन्स्-डेको बारेमा उसको सोचाइ के थियो, मलाई थाहा थिएन तर त्यो दिन पनि उ सानो फुच्चेलाई खेल्न त्यहीँ लैजाने बुझे पछि मेरो योजना सही बाटो मै गैरहेको मैले अनुमान लगाए ।

म आफ्नो योजना लिएर घरबाट निस्किएँ । घरबाट मेरो प्रस्थान टोलका गल्लीमा टहलिन या कुनै आउरे-झ्याउरेसँग बात मार्नको लागि थिएन । म गङ्गालाई भेट्न निस्केको थिए तर विशेष प्रयोजनले; धेरै हिम्मत जुटाइ, असफल हुने ठुलो डर र सफल हुने ठुलै आस लिएर । यसर्थ त्यो छोटो यात्रा पनि मेरो निमित्त महाभिनिष्क्रमण भन्दा फरक थिएन । साँझ पाँच बजे त्यहाँ पुग्दा ऊ पहिल्यै नै पुगिसकेकी रहिछ । म पनि आउँदै छु भनेर उसलाई मैले बताई सकेको थिए । गङ्गा चाहिँ मनिसहरु कम भएको, चौरको एउटा कुनाको बेन्चमा धुम्म परेर बसेकी रहिछ । फुच्चे त्यतै, त्यहीँ वरिपरि अरू केटाकेटीसँग खेल्दै थियो । म गङ्गा भए तिर लागे । म उसको नजिक जादै गर्दा मेरो मुटुको गति झन्-झन् बढ्दै थियो । मनमा अनेक तर्कनाको ज्वारभाटा आउँदै-जाँदै गरेका थिए । सधैँ “हिँड्ने डुल्ने साथी त हो”- त्यहाँ पुग्दा सम्म म आँफूलाई सम्हाले अनि सदा झैँ सामान्य कुराबाट कुराकनी सुरु गरे । तर अरू कुरामा धेरै बेर अलमल नगरी “भ्यालेन्टाइन्स्-डे” को प्रसङ्ग ल्याएँ अनि योजना-सोच अनुसार नै सामान्य रूपले निर्धक्कका साथ भनेँ- “हेर गङ्गा हामी मिल्ने साथी हौ ।” उसले तत्कालै कुरा काटेर ठट्टा गरी-“मैले हैन भनेकी छु र ?” मैले मुख-मण्डलमा मुस्कान ल्याउने प्रयत्न गर्दै भने- “हो तर, कुरा अलि अर्कै छ ।” उ अलि गम्भीर भई अनि मेरो कुरामा ध्यान दिएर सुन्न थाली । मैले फेरी भने- “नजिकको साथी भएकोले हामी एक अर्कालाई राम्रो सँग चिनेका छौ । हामी मात्रै हैन आ-आफ्ना परिवारले पनि हामी एक अर्कालाई जाने-बुझेकै छन् ।” उ चुप-चाप सुन्दै गई । म एक क्षणको लागि रोकिए, अनि फेरी भन्दै गएँ- “म हाम्रो रिलेसन अझ नजिकको होस् भन्ने चाहन्छु। त्यसैले आजबाट तिमीलाई ‘फ्रेन्ड’ मात्र हैन ‘गर्ल-फ्रेन्ड’ भन्न चाहन्छु।…”

ठुलो साहसले मैले यती सम्म त भने तर यती भनी सक्दा-नसक्दै बाट मैले उसको अनुहारमा रङ्ग परिवर्तित भएको पाएँ। नकरात्मक प्रतिउत्तर आए के गर्ने भनेर म ब्याकुल भइरहेको अवस्थामा ऊ आँफै पनि के भन्ने भनेर सोच्न नसकेको मैले बुझेँ। म भित्र फेरी साहस आयो अनि गोजीबाट एउटा आयताकृतिको रुमाल जस्तो सानो कपडाको ब्यानर निकालेर दुई हातले उसको अगाडि फिँजारे जसमा रातो मुटु आकृति भित्र अङ्रेजी अक्षरमा लेखिएको थियो- “आई लभ यु”। मैले यो तरिकाले प्रस्ताव गर्दा उसलाई आफ्नो उतर दिन सजिलो होला भन्ने मैले ठाने ताकी मुखले सोधेको प्रस्ताव नभएकोले भावावेशमा मुखैले नै तत्काल निर्णय दिन बाध्यता नपरोस्। त्यो देखे पछि ऊ हल्का मुस्कुराइ तर तत्काल त्यस बाट आँखा हटाएर तल जमिनमा कतै हेर्दै मधुर स्वरमा सोधी- “कहिले बाट मन पराउँथ्यौ मलाई?”, मैले तत्काल जवाफ दिएँ- “हाम्रो पहिलो भेट देखी नै, कलेजको पहिलो दिन।” उसले मेरो आँखामा हेरी, शायद मेरा शब्दको सत्यता खोज्दै थिई। त्यो ब्यानर पट्याएर बिस्तारै उसको हातमा राखी दिएँ । उसले फेरी भनी- “प्रतीक! हेर, आइ रेस्पेक्ट योर फिलिङस् तर मैले तिमीलाई सधैँ साथीको रूपमा हेरिरहेकी छु, मलाई समय चाहिन्छ, सोच्नको लागि।” म चाहिँ “माग्ने लाई तातो भात” भने जस्तो कसरी प्रतिवाद गर्न सक्थेँ र? स्वीकृत शब्द “हुन्छ” मात्र भन्न सकेँ। ऊ त्यहाँ बाट उठी अनि फुच्चे तर्फ गई। एक हातमा त्यही कपडा र अर्को हातले फुच्चे डोर्याउँदै उ गई, केही बेर मै पर पुगी अनि मेरो नजर बाट विलीन भई। म लामो श्वास लिएँ। के जवाफ आउला, कसरी आउला, कति खेर आउला भन्ने प्रश्नका तरङ्गले मन र दिमागमा फेरी ज्वार्भाटा ल्याए। झमक्क साँझ पर्दा सम्म म त्यही बेन्च मै बस्या-बस्यै भएँ।

घर पुग्दा रात पर्‍यो। खाना खाने बेला हुन लागेको रहेछ। सामान्य निधी-खोजी पछि आमाले भन्नु भयो- “तेरो के समान आ’को छ, टिभी कोठामा, हेरेस्। आमाले फेरी थप्नु भयो- “गङ्गाकी साथी हुँ भन्दै थिई, दिनेले।” त्यो सुन्ने बित्तिकै म बिजुली गतिमा त्यो समान समक्ष पुगेँ। आफ्नो कोठामा लगेँ। के रहेछ भन्ने कौतुहलता रोक्ने कुरै आएन। गहना राख्ने जस्तो राम्रो सानो डब्बा आएको रहेछ। त्यो बट्टामा आएको चीज बिस्तारै खोली हेर्दा म झसँङ्ग भए। सारा संसार प्रफुल्लित हुने प्रीतिकर अक्षरहरु थिए, तर म भने छाँगाबाट खसे झैँ भए। शब्द तिनै थिए- “आइ लभ यु” तर मैले दिएकै ब्यानरमा। एउटा सेतो कागजको टुक्रा पनि सँगै रहेछ जसमा नेपाली- अङ्रेजीमा लेखिएको थियो- “म ऐले पढाई करीअरमा फोकस गर्न चाहन्छु। यु आर स्टिल माई बेस्ट-बेस्ट फ्रेन्ड, होप यु अन्डरस्ट्यान्ड!” म भित्र प्रेम-विफलको भावावेश, प्रेमानुरागको ह्रास, क्रोध र पिडा एकै पल्ट यसरी आयो कि म के गरु र कसो गरु भएँ, छट्पटाए। अनि जोडले छेवैको भित्तामा हाने। हातले शरिरीक पिडा पनि थप्यो। म बिस्तारामा पल्टिएँ।… मन जितेर पाउन सकिने चिज; तर बल, रिस या क्रोध… यी कसैले केही हुने वाला थिएन।
आज पाँच वर्ष पछि म फेरी त्यही बिस्तारामा थिएँ। माथि भनी नै सकेँ कि यो दिन अर्थात् आज मेरो नींद चाँडै नै खुल्यो। तन्द्राबाट निस्केर चेतनामा आए पछि दिमागले सोच्यो-आज त “भ्यालेन्टाइन्स्-डे” हो क्यार!” हो मलाई त्यो सूर्य किरणले पृथ्वीमा स्पर्श गर्न नपाउँदैको समयमै पूर्वको मधुर ललित्य देख्न मन थियो। तर मलाई “प्रकृति-प्रेम”ले भन्दा पनि कसैको प्रेमले चाडैँ जगाएको थियो।

म आफ्नो हात हेर्छु, त्यो बेला भित्ताले दिएको चोटको दाग अझै बाँकी रहेछ। म उसको पढाई र करीअरको बाधक कसरी भए मैले कहिल्यै बुझ्न सकिन तर उसले जुन निर्णय लिई, त्यसले शायद दुवैलाई सहयोग गर्‍यो। तीन बर्से पढाई सकेर ऊ बैङ्कमा काम गर्छे, मैले पनि बेच्लर-तहको पढाई सकेँ। तर हे भगवान्! त्यो दिन आज फेरी नदोहोरियोस्…

म बाहिर निस्किएर बरण्डामा बसेँ। हल्का चिसो बतासले आङ सिरिङ्ग बनायो। पूर्वको लाली आज साँच्चै नै मनोहर देखिन्थ्यो। मनमा फेरी गङ्गाकै कुरा खेल्यो। अघिल्लो दिन उसलाई भेट्दा यहाँको एक नयाँ क्याफेमा आउनको लागि बोलाएको थिएँ- साँझ पाँच बजे। समीरले पढाउने स्कुलमा सरस्वती पूजा कार्यक्रममा भेटिएकी थिई ऊ। फुच्चे पनि ठुलो भई सकेछ। पाँच वर्षमा हाम्रो ठाउँ-टोलमा परिवर्तन त धेरै नै आएछ, तर गङ्गालाई मैले उस्तै नै पाएँ- सुन्दर, नम्र, अनि मिठो आवाज… मेरो लागि त ऊ साक्षात गङ्गा कै रूप थिई।

साँझ क्याफेमा ऊ भनेको समय मै टुप्लुक आईपुगी। भित्र-बहिर दुवै तिर बस्ने प्रशस्त ठाँउ थियो। बाहिर ग्राहक धेरै नभएकाले मैले बहिरको टेबल लिएर बसेको थिए। भद्र अभिवादन सँगै मैले उसलाई फुल दिँदै भनेँ “ह्याप्पी भ्यालेन्टाइन्स्-डे”। उसले धन्यवाद टक्र्याई। पाँच वर्षको समयवधिमा हामी भौगोलिक हिसाबले टाढा नै भए पनि सामाजिक सन्जालबाट एक अर्काका समाचार देख्ने-बुझ्ने गरीरहेकै थियौँ। त्यसैले एक अर्का प्रति अभ्यस्त भए जस्तै गरी, हामी सामान्य विषय बाटै वार्तालाप सुरु गर्‍यौँ। म अलिकति परिपक्व भएछु क्यार- मेरो मन पहिलेको जस्तो अधीर र मुटुको गति ब्यग्र तेजमा थिएन। यसपालि म आशाबादी थिएँ। उसले केही खान मन नभएको बताएपछि मैले कफी मगाएँ, उसले चिया लिई। केही बेर यता-उता र देश-विदेशका कुरा पछि म फेरी सिधा कुरामा आउने बिचार गरेँ। मैले भने- “गङ्गा, म तिमीलाई तिम्रो घर मै पनि भेट्न सक्थेँ तर यहाँ नै भेट्न किन बोलाएँ भन्ने कुरा तिमीले अनुमान गरीसकेकी हौली।” उ केही बोलिन, केवल ध्यान दिएर सुनी मात्र रही। कहिले काहीँ टाउको हल्लाँउदै “अं”, “अम्” मात्र गर्दथी। म भन्दै गएँ- “त्यो दिन पछि मलाई यो ठाउँ मै बस्न मन लागेन, पढाइको लागि विदेश जानु जरुरी थिएन तर पनि एप्लाई गरे, अनि गएँ। त्यहाँ म धेरै समय सम्म तिम्रो यादमा बसी रहेँ, तर म भित्रको अहम जति खेर सेलायो तब मात्र फकेबूक एक्टिभेट गरेर तिमीलाई एड गरेको थिएँ।”

बोल्दै गर्दा मैले उसको मुख-मन्डल पनि नियाली रहेको थिए। उसका आँखामा मेरो लागि सहानुभूति झल्किन्थ्यो। सहानुभूति पनि प्रेमको अर्को रूप हो भन्ने मलाई लाग्छ। म फेरी भन्दै गएँ- “विदेशमा केटी जति पनि थिए, राम्रा पनि थिए, नराम्रा पनि थिए। विदेशी, नेपाली सबै थिए तर “गङ्गा” जस्ती थिएनन्। यदि मेरो लागि तिम्रो मनमा कुनै स्थान छ भने, म अझै पनि तिम्रो लागि भनेर बसी रहेको छु। उ मेरो आँखामा एक टकले हेरेर बसेकी थिई। म फेरी उही पुरानै तरिकाको कपडाको प्रेमपूर्ण शब्दहरू कोरिएको ब्यानर निकाले, त्यही शैली मै उसलाई देखाएँ अनि बिस्तारै पट्याएर हातमा राखी दिएँ। उ टाउको झुकाइ। मेरा ती कुराहरू सुनेर उ अति नै भावूक भएकी रहिछ, तल फर्किएर कपाल मिलएको बाहनामा आँसु पुछेको मैले देखेँ। मैले आफ्नो कुरा त सबै गरेँ तर उसको जीवनमा अरू के-के चल्दै छ त्यो मैले बुझ्न खोजिन क्यार! मैले गल्ती गरेँ कि भन्ने पनि लाग्यो। एक छिन सन्नाटा छाए जस्तो भयो। केही बेर मै उ आँफूलाई ठिक गर्दै हल्का रुन्चे स्वरमा उसले भनी- “यी सब कुरा पहिले कहिल्यै किन भनेनौ? फेसबुकमा अरू के-के कुरा मात्रै गर्थ्यौ!, म भित्र पनि धेरै कुरा छन् तर पछि बताउँला” उसले उठ्दै फेरी भनी- ” तर ऐले मलाई समय चाहिन्छ!”

हे भगवान्! म फेरी पाँच वर्ष अघिकै अवस्थामा पुगेँ। बसेर कुरा गरौँ न त भनी आग्रह गर्दा उसले मानिन। “स्त्री चरित्र दैव नजाने” भन्थे बुढा पाकाले, यही नै होला। उ त्यो रातो ब्यानर लिएर फेरी भिँडमा हराई। म समिरलाई डाँके। मेरो पुरानो कथा उसलाई सबै थाहा थियो। एक घण्टामा उ आईपुग्यो। सबै कुरा बताएँ, उसको सान्त्वना दिने मात्र काम भयो। म घर पुग्दा रात परिसकेको थियो। माथिल्लो तल्लाको बरान्डामा म झोक्राएर बसेको थिए। तल ढोकाको घन्टी बज्यो। कुनै अपरिचित केटी मान्छेको आवाज सुनियो। केही बेर मै बहिनी आएर मेरो हातमा सानो डब्बा थमाएर गई। पहिले कै जस्तो त्यो बट्टाले फेरी मेरो मन र तनलाई शिथिल बनायो। एक मनले सोच्यो यसलाई नदेख्ने ठाउँमा पुग्ने गरी मिल्काइदिउँ। तर त्यसो गरिन, म कोठामा गएँ अनि बिस्तारै खोलेँ । म जे नहोस् भन्ने सोच्दै थिएँ, त्यही नै हुँदै थियो। म फेरी झसँङ्ग भए। सारा संसार प्रफुल्लित हुने प्रीतिकर शब्दहरू देखेर म फेरी छाँगा बाट खसे झैँ भए। हो, त्यही कपडा फिर्ता आएको थियो-दोस्रो पल्ट। त्यो कपडा टेबल तिर मिल्काएँ। “केटीहरू के सोच्छन् हँ आफूलाई?” रिस र पिडाको ज्वार्भाटा फेरी मच्चियो। तर म आफ्नो रिस र भावबेगलाई नियन्त्रित गर्न खोजेँ। यस्तैमा आशुले भरिएको आँखाले फेरी त्यही कपडा तिर हेरेँ। तर त्यसमा मेरो दोस्रो पल्ट दृष्‍टि पर्ना साथ अकस्मात सबै क्रोध, द्वेश र पिडा सबै थर्ममिटरको पारो झैँ स्वात्तै तल झर्यो। मेरो मन एकै चोटि साम्य भयो। मेरो नकारात्मक सोँच सबै विलीन भएर गए। म त्यो कपडा नजिक गएँ अनि बिस्तारै उठाएर हेरेँ। भावनाले मेरी गङ्गाको प्रतिरुप र उ प्रतिको प्रेमको तरङ्ग म भित्र फेरी सञ्चार भयो। ब्यानरको पछाडि पट्टी मोट्टो रङिन-कलमले लेखिएको थियो- ” आइ लभ यु टु!” म भित्र खुसीको कुनै सीमा रहेन। म पूर्णनन्दित भएँ। ठुलो श्वास फेर्दै बिस्तारामा पल्टिएँ। धन्य कृष्ण तिम्रो लीला, आधा ज्यान नै लियौ मेरो। मन प्रफुल्लित थियो। के गरुँ के गरुँ भयो। हठात् उसलाई फोन बाट एक मेसेज पठाएँ-

“थ्याङ्क्यु! थ्याङ्क्यु!! थ्याङ्क्यु!!!”

त्यो बाहेक मलाई अरू केही लेख्न आएन। कुरेर बसेकी रहिछ, तत्त्कालै तीन वटा स्माइली आइकन पठाई – “    ”

मैले फेरी लेखेँ- यती भन्दिन ५ वर्ष लगाइ दियौ !

उत्तर आयो- “अब देखी नलगाउँला नि !

मैले फेरी सोधेँ- म नराम्रो थिएँ र?

“अहँ, थिएनौ!”

“अनि?” — मैले फेरी सोधेँ।

उसले लेखी– पहिले क्युट मात्र थियौ, ऐले ‘ह्यान्ड्सम्” पनि भएछौ 

म एक छिन प्रफुल्लित हुँदै बसेँ, अनि फेरी लेखेँ- “अघि साँझ कफी पिएँ कि अरू केही पिएँ, केही थाहा पाइन। अझ एक पल्ट पिउन पाए थाहा पाइन्थ्यो कि?…”

केही बेर मै उसले पठाइ – “आज बाहिर निस्कन मिल्दैन , मलाई देखाउन फुपुले भोलि दिउसो एउटा केटो लिएर आउँदै हुनुहुन्छ। कफी खान घर मै आउनु, उनीहरू भन्दा पहिले…

Follow the writer at Facebook.com/PitambarPandeyOfficial

Published on February 13, 2017 at 8:41 pm

Loading...

यसमा तपाइको मत