अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१० | Colorodo: 07:25

पूर्वी नेपालको लिम्बु संगीत रौनक राजधानीमा

बिआरटीनेपाल २०७३ फागुन १ गते ८:४७ मा प्रकाशित

राजधानीको संस्कृतिक संस्थान, नाचघर बिहिबार लिम्बु संस्कृतिमय भयो । लिम्बु समुदायको संस्था ‘हिलिहाङ हाक्पारे पालाम सयङ’ले आयोजना गरेका ‘वेश्मा लाङ्योक’ कार्यक्रममा लिम्बु कलाकारले आफ्ना नृत्य, गायन र बाद्यबादन प्रस्तुत गरे ।

कार्यक्रम साँस्कृतिक संस्थानको संयुक्त आयोजनामा सम्पन्न सो कार्यक्रमलाई अग्रज संस्कृतिबिद् सत्यमोहन जोशीले च्याबुङ बजाएर उद्घाटन गरेको थिए ।

लिम्बु भाषाको पहिलो गीत रेकर्ड गराउने अग्रज गायक भगत सुब्बालाई लिम्बु गीतको योगदानमा चार दशक देखि पु¥याएको योगदान स्वरुप सत्यमोहन जोशीले आयोजकका तर्फबात अभिनन्दन गरे । यस्तै लिम्बु भाषाका गायक एवं गीतकार प्राज्ञ अशोक लोहरुङ राईलाई पनि कार्यक्रममा सम्मान गरियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले पूर्वी नेपालमा पहिचान लिम्बु सँस्कृति रहेको बताए । पूर्व देखि पश्चिम नेपाल विविध संस्कृतिको धनी भएकाले बिदेशले नेपालीलाई लोकसंगीत र लोक नृत्यको देश भनेर चिन्ने गरेको पनि उनले बताए । संस्कृति संरक्षण र एकतामा यहाँ राजनीतिक पार्टी र नेताहरुले जोड दिए मुलुक बन्न समय नलाग्ने सुझाब उनले दिए ।

साँस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले नेपाली संस्कृतिको जगेर्ना गर्नु नै संस्थानको उदेश्य रहेको जानकारी गराउँदै पूर्वी नेपालको लिम्बु लोक गीत, सँगीत नृत्य प्रस्तुतिका लागि आफुहरुले ‘हिलिहाङ हाक्पारे पालाम सयङ’लाई सहयोग गरेको बताए ।

‘हिलिहाङ हाक्पारे पालाम सयङ’का अध्यक्ष प्रदीप योङहाङले लिम्बु मौलिक गीत, सँगीत नृत्यको संरक्षण र प्रवर्धनमा आफुहरुले काम गर्दै आएको जानकारी गराए । लिम्बु संस्कृतिबारे गैर लिम्बुलाई जानकारी गराउँन काठमाडौंमा मौलिक लिम्बु संस्कृतिक कार्यक्रम गरिएको उनले बताए । कार्यक्रममा लिम्बु कलाकार यासेली योङहाङ र बिष्णु सिंगकले लिम्बु संस्कृतिबारे थप प्रकाश पारेका थिए ।

त्यसपछि सुरु भएको साँगीतिक कार्यक्रममा लिम्बु कलाकारहरुले आफ्ना मौलिक लोक गीत र लोक नृत्यबाट दर्शकलाई तीन घन्टासम्म मन्त्रमुग्ध तुल्याए ।

लिम्बु कलाकारहरुले लिम्बु गीत र नृत्य सहित कार्यक्रममा अतिथिलाई स्वागत गरे । सीता सिँगक र साथीहरुले स्वागत गीत आनी केरेक हिलिहाङ…गाउँदा बाँकी कलाकारले नृत्य र गायनमा उनलाई सघाएका थिए । गायिका श्रेयसी चेम्जोङले कार्यक्रममा लिम्बु गीत तागेर ग युमा…गाउँदा दर्शकको निरन्तर तालीले साथ पाईन् ।

त्यसपछि मञ्चमा गायिक सुनिता थापे आफ्नो गीत केबे आइन्ग…लिएर प्रस्तुत भईन् । कुशल थलङले प्रस्तुत गरेको गीत चेथ्या के आईन्ग…पनि मौलिक र माधुर्य थियो ।

यस्तै सुसन साम्सोहाङ र सुनिता थेगिमले सो साँगीतिक कार्यक्रममा फुङवान्बा नुमा…गीत सुनाईन् । सोही क्रममा कलाकारहरुले पालाम नृत्य प्रस्तुत गरे ।

सँधै जसो नेपाली गीत गाउने लिम्बु गायक दिपक लिम्बुले कार्यक्रममा लिम्बु गीत मिन्जी मेहानेन् माफ्रेम्बा…गाउँदा दर्शकले ताली र सिठ्ठीले उनलाई साथ दिएका थिए । यो गीतमा दिपकलाई मनु नेम्वाङले स्वरमा साथ दिएकी थिईन् ।

यस्तै गायक सञ्जय तुम्रुक र मोहन मादेनले सिबन्दी स्योङ स्योङ…गीत सुनाए । यो गीतमा उनीहरुलाई दर्शकले नाचेर साथ दिएका थिए । सञ्जय, देशु, सुसन सहितले प्रस्तुत गरेको गीत छुई पकन्दी…मा लिम्बु नृत्यकारहरुले आफ्ना मौलिक नृत्य पस्किए ।

गायिका बिष्णु चेम्बजोङले सेप्माङ ओ…गीत सुनाईन । कार्यक्रमका अन्त्यमा सञ्जय, मोहन, दिपा, सुसन, अमृता लगायतले आजुप्से आम्बी…गीत प्रस्तुत गर्दा सम्पूर्ण लिम्बु नृत्य कलाकारहरुले सामुहिक लिम्बु नृत्य प्रस्तुत गरे । उनीहरुलाई दर्शकले सो क्रममा तालीले साथ दिएका थिए ।

कार्यक्रममा अग्रज सँगीतकार शिला बहादुर मोक्तानको संयोजकत्वमा गिटार बादक आकाश गोर्खाली लगायत सांस्कृतिक संस्थानका विभिन्न कलाकारले प्रत्यक्ष बादबादनमा साथ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू