अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

ट्रान्सफर्मर प्रकरण: ४ वर्षपछि फेरि छानबिन सुरु, मुख्यसचिव देखी प्रहरी प्रमुखसम्म बयानमा तानिए

बिआरटीनेपाल २०७४ कार्तिक १९ गते १७:५० मा प्रकाशित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ट्रान्सफर्मर अनियमितता प्रकरणमाथि फेर छानविन सुरु गरेको छ ।  विवादास्पद प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा ३ वटा मुद्दा चलेर अस्वभाविकरुपमा रोकिएको फाइलमाथि चार वर्षपछि फेरि छानबिन सुरु भएको हो ।

छानबिनका क्रममा अख्तियारले आईतबार पूर्व–मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसहित ३ जनासँग बयान लिएको अख्तियार उच्च स्रोतले बतायो ।

‘गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा मुद्दा चलेको अर्को महिनामा नै यी पदाधिकारीहरुले गैरकानूनी रुपमा आर्विटेसन (मध्यस्थता) लगायतको निर्णय गरेर राज्यकोषमा नोक्सानी पुर्‍याएको अनुसन्धानका क्रममा भेटियो’ अख्तियारस्रोतले कान्तिपुरसित भन्यो, ‘उनीहरुको बयान चलिरहेको छ । उनीहरुले आफ्नो कामको औचित्य पुष्टि गर्न नसके भ्रष्टाचारको आरोपको सामना गर्नुपर्नेछ ।’

अख्तियारस्रोतका अनुसार आईतबार ऊर्जा सचिवका हैसियतले नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएका क्षेत्रीसहित पूर्वसचिव विश्वप्रकाश पण्डित र प्राधिकरणका पूर्व कार्यकारी निर्देशक अर्जुन कार्कीसँग पनि बयान लिएको छ । पण्डित उर्जा सचिव हुँदा प्राधिकरणको बोर्डमा थिए । २०७० साल भदौं २९ गते ट्रान्सफर्मर अनियमितता प्रकरणमा मुद्दा चलाउने भनी अख्तियारले निर्णय गरेकोमा अर्को महिना नै प्राधिकरणबाट आर्विटेसनको निर्णय भएको थियो । अर्कोवर्ष क्षेत्रीले त्यस्तै विवादास्पद निर्णय गरेका थिए । विवादित निर्णयका कारण करिब ३ करोड रुपैंयाँको हाराहारीमा अनियमितता भएको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।

कार्कीको संरक्षणमा कार्की 

लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुनासाथ दायर भएको ट्रान्सफर्मर भ्रष्टाचार प्रकरणमा गत चैतमा विशेष अदालतले भ्रष्टाचार भएको ठहर गर्‍यो । चारवटा भ्रष्टाचार मुद्दामा अख्तियारले एक अर्ब ६ करोड रुपैंयाँ बिगो मागदाबी गरेकोमा विशेष अदालतले ४६ करोड १७ लाख रुपैंयाँ भ्रष्टाचार भएको ठहर्‍याएको थियो । तर झण्डै आधा दर्जन टेण्डर र खरिदको फाइलमा हात हालेको अख्तियारले अर्जुन कार्की मुछिएको घटनामा भने फाइल नै खोलेको थिएन ।

सबैभन्दा बढी चुहावट भएको ट्रान्सफर्मर खरिद प्रकरणको फाइल चार वर्षदेखि अख्तियारमा थन्किएको छ । भारतीय कम्पनी एसभीआरबाट खरिद भएको ६४० थान ट्रान्सफर्मर र त्यसमा भएको अनियमिततामा तत्कालीन कार्यकारी निर्देशक कार्की जोडिएका थिए ।

छानबिनमा परेकामध्ये थाइल्याण्डको सहवान्त र चीनको हुवावे सनलाईट कम्पनीको ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा चलाएको थियो । सबैभन्दा बढी विद्युत चुहावट र अनियमितता भएको भनी ल्याब परीक्षणबाट प्रमाणित भएको एसभीआर कम्पनीको टेण्डरका क्रममा भएको अनियमितता छानबिन भएको थिएन ।

अख्तियार स्रोतका अनुसार यही घटनामा सोमबार प्राधिकरणका सञ्चालक समितिका पदाधिकारी सन्तोषनारायण श्रेष्ठ, लक्ष्मण अग्रवाल, मनोज मिश्र, रामचन्द्र पाण्डे र विवेक तातेडसँग बयान लिने योजना रहेको स्रोतले बतायो ।

थप चारसँग बयान 

अख्तियारले गैरकानूनी सम्पति आर्जन गरेको अभियोगमा पूर्व–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहित चार जनासँग आईतबार बयान लिएको छ । अख्तियारले अर्यालसहित सचिव गजेन्द्र ठाकुर, काठमाडौं महानगरपालिकाका दुई डीएसपीहरु धनपती सापकोटा र राजुनाथ पाण्डेसँग बयान लिएको हो ।

उनीहरुको बयान जारी रहने अख्तियार स्रोतले बतायो । उनीहरुमाथि वैध आर्जनको तुलनामा बढी सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनयापन गरेको आरोप छ । कान्तिपुर दैनिकमा समाचार छ  ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू