अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

निस्ता अक्षरहरु

राम लामा अविनाशी २०७४ कार्तिक १८ गते १३:४७ मा प्रकाशित

हजारौँको भिडमा
यो मन कतै हराएको छ ।
कता हो कता
त्यही मनको खोजीमा भौंतारिएका यी आँखाहरू
एक एक गरी खान तलासीमा व्यस्त छन् ।

हो, पोहोर साल यसै जात्रामा
दोहोरो नजरको हाना हानमा
घाइते भएको यो कोमल मन
बन्दी बनी गएछ कसै सँग
हो, उनैको लागि प्रतिक्षारत थियो ।

उदासियका आँखाहरू बहकिन्छन्
गहमा आँसु छचल्किन्छ
कागजमा झरे,अक्षर बने
तिनलाई समेटेको मात्र के थिएँ
कुलेलम ठोकी हाले
उनी तिरै भागी हाले
एक दिवाना प्रेम पत्रको रूपमा ।

उनीलाई बेस्वाद लाग्न सक्छ
उनीलाई बेमतलबको लाग्न सक्छ
उनीलाई बेस्वाद लाग्न सक्ने ती अक्षरहरु
प्रेम कुण्डमा
प्रेमिल जल सँग डुबुल्किंदै
बैसका ज्वालामा बाफ्फिएका हुन् ।

त्यसैले,
छोएर हेर , त्यसमा जवानी सल्बलाएको छ
सुघेर हेर, मायाको बासना मग्मगाएको छ
जोखेर हेर, जीवन भरको बोझ समेटिएको छ
नापेर हेर, जीवनको लामो यात्रा तोकिएको छ
खोजेर हेर, सिन्दूर र पोतेको सम्बन्ध देखाईएको छ ।
समग्रमा, उनीलाई निस्ता लाग्न सक्ने
ती अक्षरहरु बाट
सुन्दर दाम्पत्य जीवन लेखिएको छ ।