अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 11:58

गैरआवासीय नेपाली संघ अमेरिकाको बिवाद सकियो कि अझै छ ?

सुजन पण्डित २०७४ मंसिर २० गते ५:५० मा प्रकाशित

गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको गत अगष्टमा सम्पन्न चुनाव निकै विवादित बन्यो। डालासका सूचना प्रविधि व्यवसायी गौरीराज जोशीले अध्यक्ष पदमा दिएको उम्मेदवारीको पक्ष र विपक्षमा रहेर अमेरिकी एनआरएनका अगुवाहरुले निकै नकारात्मक शक्ति मात्र आर्जन गरे। सदस्यता वितरण र प्रमाणिकरणमा देखिएको भाँडभैलो जोशीको उम्मेदवारी दर्ता र योग्यताका बारेमा सतहमा आएको विवादले झनै उत्कर्षमा पुग्यो। विवाद एनआरएन अमेरिकाको निर्वाचन समितिसम्म मात्र होइन एनआरएन आइसीसी सम्मै पुग्यो। देख्ने-सुन्नेहरुले जोशीको उम्मेदवारीले अमेरिकी एनआरएन भित्र ल्याएको खलबलीलाई पटक्कै रुचाएका थिएनन्। झन् आइसीसीका तत्कालीन उत्तर अमेरिकी क्षेत्र संयोजक सोनाम लामाका गतिविधि विवाद सुल्झाउने भन्दा बल्झाउने खालकै थियो।

जोशीले आफ्नो उम्मेदवारी कायम राख्न एनआरएन अमेरिका भित्र मात्र होइन, आइसीसी र अमेरिकी अदालतको ढोका समेत चाहारे। चुनाव रोकियो। सबभन्दा ठुलो भनिएको एनआरएन अमेरिकाको भविष्य नै अनिश्चय तर्फ डोरियो। जोशीका शैली पनि उनी बाहेक अरू एनआरएनको नेतृत्व लाएक नै छैनन् भन्ने घमण्ड देखाउने खालकै थियो। भलै नेतृत्वको दौडमा उनको उम्मेदवारी विवाद उपयुक्त थिएन र उनलाई बिना रोकटोक प्रतिस्पर्धा गर्न दिइनुपर्थ्यो।

परिस्थिति बदलियो, घटनाक्रमहरू एकाएक फरक भए। अदालतको आदेशसंगै धरापमा परेको चुनाव जोशीले मुद्दा फिर्ता लिएपछि अगष्टमा सम्पन्न भैसकेकोछ। डा. केशव पौडेलको नेतृत्वमा नयाँ कार्यसमितिले जिम्मेवारी सम्हालिसक्यो। अमेरिकी एनआरएन नेतृत्वको दौडमा रहेका जोशी आइसीसीको उत्तर अमेरिका क्षेत्रको संयोजकमा निर्वाचित भैसके। डा. पौडेल र जोशीबीच के सहमति भएर यो सबै सम्भव भयो र दुवै विवादित पक्षहरू ‘विन-विन सिच्यूएसन’मा पुगे भन्नेबारे प्रस्ट थाहा नभएपनि अमेरिकी एनआरएन अभियानमा गएको भुईँचालो हाललाई सेलाए जस्तै भएकोछ।

एनआरएन केही हुनेखानेहरुको मात्र हो भन्ने आम धारणालाई परिवर्तन गर्न सर्वसाधारण अमेरिकी-नेपालीहरूको हितमा एनआरएन अमेरिकाले गर्ने सबैखाले कामहरू महत्त्वपूर्ण हुन्छन्। चुनाव लगत्तै डा. पौडेलको नेतृत्वले सदस्यता विवादलाई संधैको लागि सल्टाउने अभियान सुरुवात गरेजस्तो देखिन्छ। सदस्यहरूको परिचय-पत्र वितरणका लागि फोटो सहितको विवरण सङ्कलन गर्ने निर्णय गरेर राम्रो कामको सुरुवात गरेकोछ। कुनै आग्रहले व्यवधान गरेन भने सायद आगामी एनआरएन अमेरिकाको चुनावमा पहिलेजस्तो सदस्यता वितरणमा हुने गरेको चलखेलले कुनै स्थान पाउनेछैन।

एनआरएन चुनावकाबेला देखिएका बिवादहरुका बारे निरपेक्ष रहे पनि एनआरएन अमेरिका भित्रका अस्वस्थ लाग्ने खालका परिघटनाहरुबाट अमेरिकामा नै रहेको नेपाली भएका नाताले अरू धेरै नेपाली जस्तै मलाई पनि अछुतो रहन दिएन। नयाँ राष्ट्रिय समन्वय परिषद् र स्टेट च्याप्टरहरुले बदलिएको परिस्थिति र बहुसङ्ख्यक एनआरएन शुभचिन्तकहरुका चाहना अनुरूप काम सुरु गर्न लागे जस्तो लागिरहेछ। यसै सन्दर्भमा गत सप्ताहन्तमा टेक्सस च्याप्टरको आयोजनामा टेक्ससबासी गैर आवासीय नेपाली समुदायका बिच डालास स्थित नेपाली मन्दिरको सभाहलमा एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुने मौका मिल्यो। टेक्सस च्याप्टरको नयाँ नेतृत्वले आयोजना गरेको पहिलो सार्वजनिक कार्यक्रममा डालास र वरपरका प्राय सबै वर्तमान र पूर्व केन्द्रीय पदाधिकारीहरुको समेत उपस्थिति देखिएकोले यस्ता कार्यक्रमहरुले एनआरएन अमेरिकाको चुनाव अघि देखिएका निकै असहज र अस्वस्थ लाग्ने चुनावी चलखेलहरुबाट बिस्तारै एनआरएन गतिविधिहरू समुदाय केन्द्रित हुन थालेजस्तो देखिएकोछ।

नव निर्वाचित टेक्सस च्याप्टरका पदाधिकारी एवं सदस्यहरूको सपथ-ग्रहण र परिचयात्मक कार्यक्रम समेत समेटिएको अन्तरक्रियामा डालास, ह्युस्टन र अस्टिन लगाएतका शहरहरुबाट करिब १०० जना नेपाली-अमेरिकनहरुको उपस्थिति रहेको थियो। च्याप्टरको सक्रियतामा एनआरएन अमेरिका र स्थानीय सङ्घ-संस्थाहरुसंगको सहकार्यमा समुदायको हितमा गर्न सकिने अल्पकालिन र दीर्घकालीन कामहरुका बारेमा नेपाली समुदायका अगुवाहरु, सामाजिक अभियन्ताहरु, एनआरएन अभियानमा संलग्नहरुकाबीच छलफल र सुझाव सङ्कलन गर्ने अभिप्रायले गरिएको भनिएको अन्तरक्रियामा अध्यक्ष भानु खरेलले समुदायका हितमा हुनसक्ने ८ बुँदे योजना प्रस्तुत गरेका थिए।

२५ हजार डलरको आकस्मिक कोषको स्थापना, डालासमा नेपाली राजदूतावासको कन्सुलेट अफिस स्थापनाको लागि पहल, टेक्सस च्याप्टरको आफ्नै कार्यालय र सामुदायिक भवन, हेल्प डेस्क गठन, जेहेन्दार नेपाली विद्यार्थीहरुका लागि छात्रवृत्ति, नेपाली विद्यार्थी एशोसियसनहरुसंग सहकार्य, एनआरएन परिचय-पत्र वितरणमा राष्ट्रिय समन्वय परिषदसंग सहकार्य र टेक्सस च्याप्टरको आफ्नै वेबसाइट र १-८०० हेल्पलाइनको सञ्चालन जस्ता प्रशंसायोग्य योजनाहरू प्रति सहभागीहरुको पटक्कै चासो देखिएन।

च्याप्टरका योजनाहरूको कार्यान्वयनमा के सहयोग गर्न सकिएला वा योजनाहरू समुदायका लागि साँच्चै काम लाग्ने खालका हुन् कि होइनन् भन्नेतिर पनि कसैको ध्यान थिएन भन्दा हुन्छ। अन्तरक्रियामा ज-जसले चासो दिए र प्रश्नहरू सोधे, त्यो खरेलले मिहनेतपूर्वक बनाएको योजनासँग कहीँ कतै साइनो देखिने खालका थिएनन्। प्रायः प्रश्नकर्ताहरुले हालै नेपालमा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषदको चुनाव र त्यसको प्रतिनिधि छनौटमा भएको विवाद बाहेक अरू विषय नै उठाएनन्। नेपाली समुदायको नेतृत्व सम्हालिसकेका केही सहभागीका प्रश्न र जिज्ञासा सुन्दा उनीहरूको ध्यान एनआरएनलाई सबल र सबै गैर आवासीय नेपालीहरूको साझा संस्था बनाउने तिर होइन कि कसरी आफ्ना निर्वाचित प्रतिनिधिहरूको मानमर्दन गर्न सकिन्छ भन्ने मै अलमलिएको पाइयो। आफू नेतृत्वमा पुग्न नसकेको कुण्ठा बोकेर विभक्त समाजमा रमाउने अनि कार्यक्रमहरूमा आफ्नो नामले सम्मान पाउने हो कि होइन भन्नेमा अलि बढी नै ख्याल गर्नेहरुको बिचार सुन्दा बिवादहरुबाट भरखरै सुस्ताएको एनआरएन अमेरिका फेरि त्यही आपसी खुट्टा तानातान मै अल्झेला कि भनेर ह्युस्टन देखि डालासको अन्तरक्रियामा सहभागी हुन पुगेका हस्पिट्यालिटी क्षेत्रका व्यवसायी एवं टेक्सस च्याप्टरको सदस्यमा भर्खरै मनोनीत मित्र जगदिश काफ्ले ‘ज्याक’मा निकै पिर गर्दैथिए। जोस र जाँगरका साथ एनआरएन अभियानमा सहयोगी हुन भनेर टेक्सस च्याप्टरमा निर्विरोध निर्वाचित ह्युस्टन कै अर्का युवा द्रोण गौतमको आग्रहमा एनआरएन गतिविधिमा सहभागी हुन अग्रसर ज्याक जस्ता युवा व्यवसायी नेपाली-अमेरिकनहरु भने एनआरएन भित्र र सतहमा देखिने विवाद-खिचातानी देख्न-सुन्न नपरोस् भन्ठान्दा रहेछन्।

नेपाली समुदायसंगको सहकार्य विकासका लागि समुदाय केन्द्रित अन्तरक्रियाबाट आउने रचनात्मक सुझावहरुको अपेक्षा गरेको एनआरएन अमेरिकाको टेक्सस च्याप्टरलाई पहिलो कार्यक्रमबाट खासै उपलब्धि हात त लागेन तर समाजमा एकता नचाहने र परिस्थिति मिलेसम्म र हातमा माइक पाएसम्म चुनावताका देखिएको ‘ग्रुपिजम्’को तुष्टी साँध्न पछि नपर्नेहरु अझै छन् है भन्ने जानकारी चाहिँ मिलेको हुनुपर्छ। कार्यक्रममा उपस्थित भएका एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाह र प्रवक्ता विनोद तिवारीले विवादित प्रश्नहरूको मात्र सामना गरे। टेक्सस च्याप्टरलाई राष्ट्रिय समन्वय परिषदका तर्फबाट कसरी सहयोग पुय्राउन सकिएला र एनआरएनएले आगामी दिनमा गर्न सक्ने बृहत्तर सामाजिक हितहुने कामका बारेमा कसैले उनीहरूलाई प्रश्न गर्ने उत्साह देखाएको पाइएन।

नेतृत्वका राम्रा कामहरुलाई समर्थन र कार्यान्वयनमा सहयोग गरेर एनआरएनलाई सबै गैर आवासीय नेपालीहरूको साझा संस्था बनाउने तर्फ लागे मात्र साँचो अर्थमा एनआरएन अमेरिकाले कामगर्न सक्छ। नेतृत्वलाई खबरदारी गर्ने हो, नराम्रो गरे खरो आलोचना सहित सुध्रन भन्ने हो, न कि किनारामा बसेर खुच्चिंग भनिरहने र मौका पाउने बित्तिकै नांगेझार पार्नतिर लाग्ने।

करिब २ लाख ५० हजारको सङ्ख्यामा रहेको भनिएको नेपालीहरू मध्येबाट करिब १५ हजार मात्र (६ प्रतिशत) सदस्य हुनु भनेको एनआरएन अमेरिकाको लागि खुसीको कुरा होइन। नेतृत्वले आफूलाई सच्यायो र गैर आवासीय नेपाली समुदायको हितमा कामगर्न थाल्यो भने सदस्यता बिस्तार आफैँ हुन्छ। र, नेतृत्वमा पुग्न प्रायोजित सदस्यहरूको सहारा लिइरहनु जरुरी नै हुन्न। सुदृढ र समुदायको हित परस्त नेतृत्वको लागि नेतृत्वमा भएकाहरुलाई जगाईरहने भूमिका सबै एनआरएन अमेरिकाका साधारण सदस्यको पनि हो भन्ने कुरा भुलिएन भने अबको एनआरएन अमेरिकालाई दिग्भ्रमित हुनबाट सजिलै बचाउन सकिन्छ।

जय नेपाली-अमेरिकन समुदाय

 

प्रतिक्रिया