अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१५ | Colorodo: 02:30

अपथ्य

रवीन्द्र समीर २०७४ मंसिर १९ गते ११:४१ मा प्रकाशित

राजमार्गमा एउटा मात्र होटेल भएको ठाउँमा ड्राइभरले बस रोकेर भन्यो – ‘ल खाजा खान ओर्लिनुस् । बिस मिनेट मात्र ।’

बसबाट ओर्लिएर बुढाले होटलतिर हेरे । होटेलमा भद्दा किसिमले सजाएर राखिएको खानेकुरालाई भोका आँखाले हेरे । बुढाको मुख भोक र परिकारहरुको बासनाले रसाएर आयो ।

‘बाजे ! के खाने ?’

भोकले अम्लपित्त बल्झएका बुढाले खाजाको दर सोधे । यस्ता होटलहरुमा दर नसोधी खानहुन्न भन्ने कुरा भने उनलाई राम्रैसँग थाहा थियो । होटलवालाले फटाफट भन्यो – ‘आलुचनाको सय रुपियाँ,

चाउमिनको एक सय पचास, पकौडाको एक सय, मासुपुलाउको दुई सय पचास, मासुचिउराको दुई सय, खीरको एक सय, चियाको साठी… !’

दर सुनेर बुढा जिल परे । तैपनि पापी पेट भन्ने सम्झिदै उनले गोजी छामे, मन छामे अनि कुनामा रहेको कुर्सीमा बसेर चुरोट खान थाले ।

– ‘बाजे के ल्याम तपाईँलाई ?’

बुढाले खोक्तै जबाफ दिए – ‘खान त सबै मन थियो । तर, मलाई डाक्टरले बाहिरको खाना नखानू भनेको छ… !

प्रतिक्रिया