अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

२७ औं सम्झनामा स्वर सम्राट नारायण गोपाल (तस्विर+भिडियो)

बिआरटीनेपाल २०७४ मंसिर १९ गते ११:५४ मा प्रकाशित

स्वरसम्राट नारायण गोपालको २७ औं स्मृती दिवस मनाईएको छ । वि.सं. २०४७ साल मंसिर १९ गते राति ९ बजे बीर हस्पिटलमा निधन भएका स्वर सम्राट नारायण गोपालको सम्झनामा हरेक बर्ष झैं नारायण गोपाल संगीतकोषले यो बर्ष पनि उनकै निजी निवासमा सांगितीक कार्यक्रमको आयोजना साथै उनका समकालिन संगीतकर्मीहरुको सम्मान गरि नारायण गोपाल स्मृती दिवस मनाएको हो ।

स्मृती समारोहमा राष्ट्रकवि माधव प्रसाद घिमिरे संगै बरिष्ठ संगीतकर्मीहरु सिके रसाईली, कालिप्रसाद रिजाल, चेतन कार्की, दुर्गालाल श्रेष्ठ, कन्चन पुडाशैनी, यादव खरेल, मन बहादुर मुखिया, किरण खरेल, रत्न समसेर थापा, नरेन्द्र थापा लगायतका नेपाली संगीतका धरोहरहरु सम्मानित भएका थिए ।

गायक गायिकाहरु शिशिर योगी (आजै र राती), अजर जंगम (कहिलेकाहीँ म हाँस्छु) ,निसा देसार (तिमीलाई भुल्दा), मदन गोपाल (मधुमास यो), सुरज कुमार थापा (आजभोली दुख्दैन ), मथुरा श्रेष्ठ प्रधान (बिर्षेर फेरी), सरला बिसी (उदास मेरो जीवनकथा),देवेन्द्रमान सिंह (आँखा छोपी), लालकाजी श्रेष्ठ (पिउँदा पिउँदै), कृष्ण विश्वकर्मा (जुन फूल मैले),कुशल पौडेल (मेरो कथा) र रञ्जीत नेपाली (चिनारी हाम्रो) जस्ता नारायण गोपालका कालजयि गीतहरु प्रस्तुत गरेको स्मृति समारोहमा प्रेम ध्वज प्रधान, उषा शेरचन, राजु सिंह, सम्भुजित बास्कोटा लगायतका थुप्रै नयाँ पुराना संगीतकर्मी, साहित्कार, गायक गायिका, सञ्चारकर्मी र नारायण गोपालका प्रसंशकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

वि.सं १९९६ असोज १८ गते बुधबार काठमाडौंको किलागलमा पिता आशागोपाल गुरुवाचार्य र माता रामदेवी गुरुवाचार्यको सन्तनका रुपमा जन्मेका नारायण गोपालले सानै उमेरबाट गायनको सुरुवात गरेका थिए । शास्त्रिय संगीतको माहौल भएको पारिवारिक पृष्ठभुमीले नारायण गोपाललाई संगीतका लागि प्रेरित गरेको भएपनि उनले आफुलाई आफ्नै लयमा सफल उदाहरण बनाएका हुन् ।

नारायण गोपालको पहिलो गीत २०१८ सालमा कलकत्तामा रेकर्ड भएको थियो । २०२३ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक संगीत सम्मेलनमा सर्वोत्कृष्ट संगीतकारको उपाधी प्राप्त गरेका उनले २०२४ सालमा सर्बोत्कृष्ट गायकको उपाधी सोहि सम्मेलनबाट प्राप्त गरेका थिए तत्कालीन राजा महेन्द्रबाट ।

स्व. राजा बिरेन्द्रको बिबाह समारोहको सांस्कृतिक कार्यक्रमको जिम्मेवारी पाएका नारायण एकल, युगल, नेवारी गरी १३७ वटा गीतहरु गाएका छन् ।

नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु, चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट, तेस्रो(मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित नारायण गोपालसंस्कृति बिभिागको संगीत निर्देशक, बागिना सांगितीक त्रैमासिकका प्रकाशक तथा सम्पादक, सांस्कृतिक संस्थानका महाप्रवन्धक रहेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू