अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४२ | Colorodo: 11:57

उजाडिएको सपना

शिसम राई २०७४ मंसिर १७ गते १२:०५ मा प्रकाशित

मेरो राजा, तिमी कहिले आउछौ भनेर उनले सोधिरहदा मलिन स्वरमा उसले भन्यो हतार नगर न बा, अब छिट्टै आउछु नि मेरी काली, उनले फन्किएर भनी, हैन तिम्रो छिट्टै भन्ने शब्द कति ओटा छन् हँ काले ? ऊ भाव शून्य भएर चुपचाप हेरिह्यो अनि ढाडस दिँदै भन्न थाल्यो… प्रिया, धर्ती र आकाश क्षितिज वारि पारि, भेट हुन्छ सपना पुरा गरी सकेपछी..उनले भनी, होइन कुन सपना ? सँगै जिउनु भोकै बस्नु सह्य छ मलाई तर अघाएर टाढा बस्नु कदाचित स्वीकार छैन डियर प्रिये ।

भविष्य बनाउनु छ तिम्रो मेरो, हाम्रो सपना अनि सन्ततिको । अस्ति जस्तो लाग्छ तिमीसँगका यी अनुरोध र विरोधको, मैले नमानेको अनि तिमीले गराउन नसकेको जिन्दगी बोधको । आज कति छिटो समयले कोल्टे फेरेछ हाम्रो बिछोडका दस वर्षे इतिहास, अनि मरुभूमि भएको हाम्रो जवानीको । जीवन रङ्गीन बन्ला भन्ने सोचेँ रङ्गहीन बन्यो, सरस होला भन्ने सोचें नीरस बन्यो, म दोषी छुट्याउन सक्दिनँ तिमी कि म भनेर तर हामी बराबर साझेदार छौँ हरियालीलाई मरुभूमि बनाउन जीवनका हरियालीमा मायाको सिँचाइ खोजी गरी तिम्रा बाहुपाशमा आफूलाई सुम्पिएकी थिएँ, जवानीका तृष्णा तिम्रो अधर सपनाबाट बुझाउने स्वप्नमा चलबलाईरहेकी थिएँ, अनि आफूलाई मेटाइ तिमीमा समाहित भएकी थिएँ, मैले संसार भुलेकी थिएँ तिमीलाई सम्झेर अनि मेरा चाहना सपना तिम्रो नाम गरेकी थिएँ मन मुटु धड्कन पीडा सुख दुख हाँसो रोदन खुसी सब केवल तिम्रा नामका थिए त्यसैले त तिमीलाई पाउँदा हर्षाश्रुले विभोर भएकी थिएँ ।

तर…सपना सपना बन्यो तिमीले जीवन नबुझिदिँदा जवानीका हरियालीमा चुम्बन अनि घर्षणका स्नेहरूपी अझ भनौँ मलिलो तनलाई खनी, जोती, खेती गरेर मायाका रसको सेचन नगरेर त्यसलाई सुख्खा बाँझो बनाई नितान्त भौतिकताका पछाडि यसरी भाग्यौ तिमी, म तिमीलाई किंकर्तव्यविमूढ बनेर आँसुले छेकिरहेँ तिमी मेरा पर्खाल बनेका आँसुलाई बिदाइको सङ्केत ठानी ओझेल पर्यौ क्षणभर मै, तिमीलाई त थाहै छ बेमौसमी फलमा न रस हुन्छ न स्वाद नै, त्यो त केवल चबाइएको चुइङ्गम जस्तो हुन्छ दाँतको कचक कचक शब्द निस्काइको अर्थहीन केवल बेरसिलो ।

अझ भनौं रुखो जीवन्तहीन बितेका दशकको ती तड्पाइ ती रुवाइ ती आँसु भरिएका सम्झाइ मलाई चुइङ्गम जस्तै बेरसिलो बनाएका कारक हुन् जसमा शुष्कता यसरी भरिएको छ आज तिमी मलाई अँगाल्दा म ती दाँतबाट नि:सृत रसहीन कचक कचक ध्वनि मात्र पाउँछु तिमीमा, अनि मेरा अनुभूतिहरुमा । मलाई त्यो जर्जर सुख्खा मरुभूमिमा तिम्रा रसहीन चुम्बन अझ शारीरिक घर्षणले झन् शुष्क बनाइरहेको छ । तिम्रो भौतिक सुखका परिपूर्ति मेरा रुखा बारीमा मलजल गर्न सक्षम छैनन् छन् त केवल दशकका हाम्रो उजाडिएको जीवनमा चोट थप्न अनि पीडा बल्झाउन ।यस्तै यस्तै अधुरा सपना, बैशालु लालचालाई मनभरि काल्पिरहिन, थियो त केवल ऊनीहरूसँग पैसा, नाम, दाम र इज्जत तर थिएन समय अनि बैँस ।

प्रतिक्रिया