अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 14:47

धर्म-संकट

दिनेश अधिकारी २०७४ मंसिर १० गते ०:४९ मा प्रकाशित

केवल-
आफूलाई अविश्वास गर्न सकिने
विश्वास मात्र बाँकी रहेको यो बेला
उफ् !
फेरि यो कस्तो धर्म-सङ्कट आइलाग्यो –
स्कुलको वादविवाद प्रतियोगितामा
भाग लिने तयारीमा जुटेको
मेरो सानो छोरो
मसँग बारम्बार
कलम ठुलो कि बन्दुक ठुलो भनेर सोधिरहेछ

पढेको त
बन्दुकभन्दा कलम नै ठुलो हो
तर-
तर, पढेको खै ! के नै काम लागेको छ र –
कानुन, कसिङ्गर भएको छ
दुत्कारिँदैछ दिनदहाडै मानवता
र, दर्शनशास्त्र
एकलास रूखमा झुण्डिएर
आत्महत्या गरेको लासमा परिणत भएको छ
जीवन र जगत फाटेको छ
मन र मस्तिष्क फाटेको छ
विश्वास र परिवेश फाटेको छ
छोराको जीत सोच्ने हो भने
यत्तिखेर जताततै बन्दुकको बोलवाला छ
र, मैले कलमभन्दा बन्दुक नै ठुलो भन्नुपर्ने हुन्छ
हैन र आफूलाई नढाँट्ने हो भने
बन्दुकभन्दा कलम नै ठुलो हो भनेर र्
वर्तमानमाथि अविश्वास गर्नुपर्ने हुन्छ
उफ् ! यो कस्तो धर्म-सङ्कट !
म के गरूँ –
चेतनाको तहमा
मैले
कि त आफूलाई ज्यूँदै मार्नुपर्ने भएको छ
कि त झुकेर अत्याचारलाई अभिवादन गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया