अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

बुद्ध, लुम्बिनी र दलाइ लामा

नारायण अधिकारी २०७४ मंसिर ८ गते १७:१४ मा प्रकाशित

उत्तर अमेरिका र अमेरिका भन्नु एउटै होइन, दक्षिण अफ्रिका र अफ्रिका भन्नु एउटै होइन । त्यस्तै, भारत भन्नु र भारतीय उपमहाद्वीप भन्नु पनि एउटै होइन ।

बुद्ध लुम्बिनीमा जन्मिएका थिए र त्यतिबेला नेपाल देश नै थिएन । लुम्बिनी एउटा छुट्टै राज्य थियो । तसर्थ बुद्ध नेपालमा जन्मिएका थिएनन् र जन्मका आधारमा बुद्ध नपाली पनि होइनन् । उनको जीवनकालभरि नेपाल थिएन । त्यस कारण बुद्ध नेपालमा जन्मेका होइनन् र नेपाली पनि होइनन् ।

यो तथ्यलाई आजको भारतीय सन्दर्भसँग जोडेर हेर्दा पनि बुद्ध न भारतमा जन्मिएका थिए न भारतीय थिए ।

अर्को दृष्टिकोणले हेरौं । गोर्खा, मकवानपुर आदि राज्य नेपाल थिएनन्, तर आज छन् । बाइसे चौबिसे राज्य, तिनका राजा रजौटा, प्रजा, जनता आदि पनि नेपाल र नेपाली थिएनन् । पछि एकीकरणपछि ति सबै नेपालमा गाभिए, विलय भए र जनता एकीकृत देशको नामबाट नेपाली कहलाइए । पश्चिमतिरका सतलज, काङ्गडा र पूर्वका टिस्टा नेपाल थिए तर आज छैनन् । सिक्किम र सिक्किमेली जनताको भारत र भारतीय थिएनन् तर आज छन्, बनाइएका छन् ।

इतिहासमा हेर्दा भूगोल र त्यससँग जोडिएका मानिसहरूको राष्ट्र र राष्ट्रियता परिवर्तन भइरहेको हुन्छ । यी यावत कुराहरूलाई दृष्टिगोचर गर्दा यो निष्कर्षमा पुग्न सकिन्छ, वास्तवमा बुद्ध नेपाली वा भारतीय दुवै थिएनन् ।

तर यहाँ अहिले चर्चामा आएको दलाइ लामाको अभिव्यक्तिमा केही केही सत्यता छ भने केही अतिरञ्जना पनि छ । उनले भनेका छन्- Some Nepali say, “Buddha born in Lumbini so far or Nepal, so Buddha was Nepali, not Indian. And that’s non sense, I think. In ancient time, you see the one of the small kingdom there, big Bharata, something like that …

उनले स्पस्ट शब्दमा बुद्ध नेपाली हुन् भन्ने कुरा “ननसेन्स” अर्थात् वाहियात हो भने पनि भारतीय हुन् पनि भनेनन् । उनको तर्क हो, प्राचीन समयमा त्यहाँ एउटा छुट्टै राज्य थियो (In ancient time, you see the one of the small kingdom there, big bharata ….) बिशाल भारत त्यस्तै केही ।

के दलाइ लामाले भनेको बिशाल भारत नै आजको भारत हो त ? यसको जवाफ फेरि उनैले देलान् तर उत्तर यदि “होइन” भने उनकै भनाइमा पनि बुद्ध भारतमा जन्मेका होइनन् र भारतीय पनि होइनन् । तर एउटा कुरा भने भन्नै पर्छ, उनले “बुद्ध नेपाली हुन् भन्ने कुरा ननसेन्स” भन्नु र त्यहीं वाक्यसँग “बिग भारत” जोड्नु कुटनैतिक र अत्यन्तै सूक्ष्म तवरले बुद्ध नेपालीभन्दा भारतीय नै हुन् भन्ने भारतको दावीलाई टेवा दिन भने स्पस्ट प्रयास गर्नु हो ।

तिब्बतबाट निर्वासित दलाइ लामा भारतको निगाहामा त्यहाँ शरणार्थी जीवन बिताइरहेकोले भारतको नुनको सोझोको लागि भारतीय स्वार्थको पक्षपोषण गर्नु उनको बाध्यता पनि हुन सक्छ । नत्र भने बुद्धको जन्मभूमि लुम्बिनी आज पनि भारतमा होइन, नेपालमा छ । यसकारण पनि बुद्ध भारतीयभन्दा नेपाली नै बढी हुन् भन्ने कुरा उनलाई थाहा नभएको पक्कै होइन । “ननसेन्स” शब्दको प्रयोगले बुद्ध भारतीय हुन् कि होइनन् छलफल गर्दै गरौंला तर नेपाली चाहिँ होइनन् भनेर सत्यको रेखालाई बंग्याएर भारततिर फर्काइदिने भारतीय स्वार्थको काम भने गरिदिएका छन् ।

अन्तमा, बुद्ध भारतमा जन्मेका भारतीय हुन् भन्ने भारतको दावीलाई गोयबल्स शैलीमा प्रमाणित गर्न भारतद्वारा प्रयोग भएका पछिल्ला कडी हुन् दलाइ लामा आजलाई ।