अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२४ | Colorodo: 09:39

ओबामा कार्यकालमा सबैभन्दा धेरै नेपाली डिपोर्ट

बिआरटीनेपाल २०७३ माघ २३ गते १५:०६ मा प्रकाशित

किशोर पन्थी – रिपब्लिकनहरुको तुलनामा डेमोक्र्याटहरुको नीति आप्रवासीहरुप्रति उदार रहेपनि सबैभन्दा धेरै नेपालीहरू राष्ट्रपति बराक ओबामाकै कार्यकालमा अमेरिकाबाट देश निकालामा परेको तथ्याङ्कले देखाएको छ । ओबामा अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएयताका ८ वर्षमा अमेरिकाबाट १५२५ नेपालीहरूले देश निकालाको आदेश पाएका छन् । उनीहरूले अमेरिकी अदालतबाट या त स्वेच्छिक रूपमा या त युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टमार्फत डिपोर्टेशनमा परेका हुन् । अमेरिकी अदालतबाट देश निकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या ओबामा कार्यकालमा इतिहासमा नै सबैभन्दा धेरै हो ।

ओबामा राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्थात् आर्थिक वर्ष सन् २००९ मा १६७ जना नेपालीहरूले अमेरिकाबाट देश निकालाको आदेश पाएका थिए । आर्थिक वर्ष सन् २०१० मा अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या १६३ रहेको थियो । त्यस्तै आर्थिक वर्ष सन् २०११ मा अमेरिकी इतिहासमा नै सबैभन्दा धेरै नेपालीहरूले देश निकालाको आदेश पाए । यो वर्ष २ सय ८५ जना नेपालीहरूले अमेरिकाबाट देश निकालाको आदेश पाएका थिए । यस अगाडि वा त्यस पछाडि पनि यति धेरै नेपालीहरूले अमेरिकाबाट देश निकालाको आदेश पाएका छैनन् ।

त्यसै गरी आर्थिक वर्ष सन् २०१२ मा २ सय २२ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक वर्ष सन् २०१३ मा भने २ सय १२ जना नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए । आर्थिक वर्ष २०१४ मा अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरू २ सय १५ जना रहेका थिए । आर्थिक वर्ष सन् २०१५ को उत्तराार्धमा नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा बस्ने नेपालीहरूले टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्राप्त गरेपछि देश निकालाको क्रम अलिकति कम भएको छ । आर्थिक वर्ष सन् २०१५ को पछिल्लो तीन महिनामा अमेरिकाबाट देशनिकालामा पर्ने नेपालीहरूको सङ्ख्या घट्दा आर्थिक वर्ष २०१५ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या जम्मा १४० मा सीमित रहेको थियो । ओबामाले राष्ट्रपतिमा जित्नु अगाडि आर्थिक वर्ष सन् २००८ मा पनि जम्मा १४० जना नेपालीहरूले नै देश निकालाको आदेश पाएका थिए । गतबर्षको तथ्याङ्क हेर्दा नेपालीहरूलाई देश निकालाको दर ओबामा कार्यकाल सुरु हुनुभन्दा अगाडिकै अवस्थामा पुगेको थियो ।

नेपालले टीपीएस प्राप्त गरिसकेपछिको एक बर्षमा आर्थिक वर्ष सन् २०१६ मा जम्मा १२१ जना नेपालीहरूले देश निकालाको आदेश पाएका छन् , जुन १२ वर्षको इतिमासमा नै सबैभन्दा कम हो । आर्थिक वर्ष सन् २००५ मा १ सय २७ जना नेपालीहरूले देश निकालाको आदेश पाएका थिए । त्यो भन्दा अगाडि सन् २००४ मा भने ९८ जना नेपालीहरूले अमेरिकी अदालतबाट देश निकालाको आदेश पाएका थिए ।

बुस कार्यकालसँग ओबामा कार्यकालको तुलना

रिपब्लिकन पार्टीका तर्फबाट सन् २००० मा राष्ट्रपतिमा निर्वाचित जर्ज डब्ल्यु बुसको ८ वर्षको कार्यकालमा जम्मा ७९० जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । यसरी हेर्दा ओबामाको ८ बर्से कार्यकालमा बुसको कार्यकालका तुलनामा झन्डै दोब्बर नेपालीले अमेरिकाबाट देश निकालाको आदेश पाएका छन् ।

बुस कार्यकालको पहिलो वर्ष अर्थात् आर्थिक वर्ष सन् २००१ मा ३९ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने ओबामा कार्यकालको पहिलो आर्थिक वर्ष सन् २००९ मा १ सय ६७ जना नेपालीहरू अर्थात् सवा चारगुणा बढी नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । बुस कार्यकालको दोस्रो वर्ष अर्थात् सन् २००२ मा ४६ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने ओबामा कार्यकालको दोस्रो वर्ष सन् २०१० मा १ सय ६३ जना अर्थात् साढे तीन गुणा बढी नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए ।

बुस कार्यकालको तेस्रो वर्ष अर्थात् २००३ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरू ७६ जना रहेका थिए भने ओबामा कार्यकालको तेस्रो वर्ष अमेरिकाबाट देश निकालाको आदेश पाउने नेपालीहरू २ सय ५ जना अर्थात् पौने चारगुणा बढी थिए । त्यस्तै बुस कार्यकालको चौथो वर्ष सन् २००४ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरू ९८ जना रहेका थिए भने ओबामा कार्यकालको चौथो वर्ष २ सय २२ जना नेपालीहरू अर्थात् सवा २ गुणा बढी नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । यसरी हेर्दा बुसको पहिलो कार्यकालमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या २ सय ५९ रहेको थियो, जब की ओबामाको पहिलो कार्यकालमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या ८ सय ३७ अर्थात् सवा तीन गुणा बढी रहेको थियो ।

त्यस्तै बुसको दोस्रो कार्यकालको चारबर्षमा ५ सय ३१ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए भने ओबामाको दोस्रो कार्यकालमा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरू ६ सय ८८ जना रहेका थिए । बुसको दोस्रो कार्यकालमा आर्थिक वर्ष सन् २००५ मा १ सय २७ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । आर्थिक वर्ष सन् २००६ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरू १ सय ३० जना रहेका थिए भने सन् २००७ मा अमेरिकाबाट देशनिकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या १ सय ३४ रहेको थियो । त्यस्तै सन् २००८ मा १ सय ४० जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए । 

अमेरिकी राष्ट्रपतिका उम्मेदवार हिलारी क्लिन्टनका पति बिल क्लिन्टन राष्ट्रपति रहेको पछिल्लो दुईबर्षमा १ सय ४० जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका थिए जब कि बसु राष्ट्रपति बनेको सुरुका दुईबर्षमा जम्मा ८५ जना नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए । क्लिन्टन कार्यकालका पछिल्ला दुईबर्ष अर्थात् आर्थिक वर्ष सन् १९९९ सय २००० मा हरेक वर्ष ७० जनाका दरले नेपालीले देशनिकालाको आदेश पाएका थिए जब की बुसले कार्यभार ग्रहण गरेको वर्ष आर्थिक वर्ष २००१ मा यो सङ्ख्या घटेर ३९ मा झरेको थियो ।

टीपीएसपछि पनि नेपाली डिपोर्ट
अमेरिकामा रहेका नेपालीहरूलाई नेपालमा गएको महाभूकम्पपछि टेम्पोरेरी प्रोटेक्टेड स्टेटस प्रदान गरिएपनि आर्थिक वर्ष २०१६ मा पनि अमेरिकामा बस्ने कैयन नेपालीहरूले देशनिकालाको आदेश पाए । यद्यपि आर्थिक वर्ष २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरूले १२ वर्षकै इतिहासमा सबैभन्दा कम थिए । टीपीएसको कारण नेपालीहरूले देशनिकाला पाउने सङ्ख्या घटेपनि १ सय २१ जना नेपालीहरूले डिपोर्टेशनको आदेश पाउनु भने दुखद कुरा हो । कुनै पनि देशलाई टीपीएसको दर्जामा राखिसकेपछि त्यो देशका नागरिकहरुलाई अमेरिकाबाट देशनिकाला गर्न नपाइने प्रावधान रहेपनि त्यो प्रावधान विपरीत १ सय २१ जना नेपालीहरूले अमेरिकाबाट देशनिकालाको आदेश पाएका छन् । जसमध्ये १ सय १९ जना नेपालीहरूले अध्यागमन अन्तरगत नै देशनिकालाको आदेश पाएका हुन् भने २ जनाले अमेरिकामा आपराधिक गतिविधि गरेका कारण देशनिकालाको आदेश पाएका हुन् ।

टीपीएसपछिको एकबर्ष अर्थात् आर्थिक वर्ष २०१६ मा अमेरिकाबाट सन् २०१५ को अक्टोबरदेखिका सातमहिना अर्थात् अप्रिलसम्ममा अमेरिकी अदालतबाट देश निकालाको फैसला पाउने नेपालीहरू जम्मा ६२ जना रहेको एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले जनाएको छ । मेमहिनादेखि जुलाईसम्म ३६ जना नेपालीहरूले अदालतबाट देशनिकालाको आदेश पाए भने अगस्तदेखि सेप्टेम्बरको अन्त्यसम्म देशनिकालाको आदेश पाउने नेपालीहरूको सङ्ख्या २२ रहेको थियो ।

कुन अदालतबाट कति नेपाली डिपोर्ट ?
आर्थिक वर्ष सन् २०१६ मा सबैभन्दा धेरै न्युयोर्कको अदालतबाट नेपालीहरूले देशनिकालाको आदेश पाए । न्युयोर्कको अदालतबाट आर्थिक वर्ष २०१६ मा देशनिकालाको आदेश पाउने नेपालीहरू ५५ जना रहेका थिए भने क्यालिफोर्नियाको अदालतबाट २८ जना नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए । त्यस्तै मेरिल्याण्डको अदालतबाट ८ जना नेपालीहरूले आर्थिक वर्ष २०१६ मा देशनिकालाको आदेश पाएका थिए । त्यस्तै जर्जियाको अदालतबाट ७ जनाले र पेन्सिलभेनियाको अदालतबाट ५ जनाले आर्थिक वर्ष सन् २०१६ मा नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए ।

आर्थिक वर्ष २०१६ मा टेक्सासको अदालतबाट ४ जना नेपालीहरूले देशनिकालाको आदेश पाए भने इलिनोयको अदालतबाट ३ जनाले देशनिकालाको आदेश पाए । त्यस्तै मासाचुसेट्सको अदालतबाट पनि ३ जना नेपालीहरूले देशनिकालाको आदेश पाए । आर्थिक वर्ष २०१६ मा लुजियानाको अदालतबाट २ जना नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए भने ओरेगन, वासिङ्टन, युटाह, भर्जिनिया, न्युजर्सी र मिजौरीको अदालतबाट एकएक जना नेपालीहरूले देशनिकालाको आदेश पाएका थिए । खसोखासबाट

(रिपोर्टमा उल्लिखित तथ्यांकहरु अमेरिकी सरकारको एक्ज्युकेटिभ अफिस फर इमिग्रेशन रिभ्युबाट लिइएका हुन् । )

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू