सनातन धर्म
Loading...

प्रा. डा. नारायण कुँवर

Published on October 19, 2016 at 2:50 am

‘मैले त आफ्नो सनातन धर्म छोडेको छैन, तपाईं पनि सनातन धर्म नै मान्नुहुन्छ कि आर्को कुनै धर्म लिनुभएको छ ?’ हिन्दु धर्मको बारेमा स्पष्ट ज्ञान नहुँदा एउटा हिन्दुले आर्को हिन्दुलाई यस्तो प्रश्न सोध्ने गरेको पाइन्छ | पूजा-पाठ, कथा-पुराण, तिर्थ-ब्रत र कर्म-काण्डहरु सनातन धर्म हुन् र अन्य आध्यात्मिक संस्थाहरु जस्तै ओमशान्ति, राधास्वामी, कृष्णप्रणामी, निखिलेश्वर, ओशो, इसकोन, राधेराधे, र साईबाबाबाट प्राप्त ज्ञान सनातन धर्म नभई अन्य धर्म हुन् भन्ने धेरैको धारणा छ |

आदि-अनादी कालदेखि मानिदै आएकोहुनाले हिन्दु धर्मलाई सनातन धर्म पनि भनिन्छ, तर पूजा- पाठ, कथा-पुराण, तिर्थ-ब्रत र कर्म-काण्ड मात्र सनातन धर्म होइनन् | यस्ता क्रियाकलापहरु हिन्दु धर्मका दोश्रो चरणका क्रियाकलाप मात्र हुन् | पहिलो चरण नैतिक आचरण हो | हिन्दु धर्मको तेश्रो वा अन्तिम चरण त ब्रह्मज्ञान प्राप्त गर्नु हो | पहिले मानिसहरु शिक्षित थिएनन् | उनीहरुले उपनिषद् र भागवत गीता जस्ता शास्त्रहरुमा उल्लेखित ज्ञान बुझ्न सक्नेथिएनन् | उनीहरुलाई बुझाउन ब्रह्मज्ञानी गुरुहरु पाउन पनि धेरै कठिन थियो | त्यसैले उनिहरु हिन्दु धर्मको पहिलो र दोश्रो चरणमा मात्र सिमित रहे | अहिले मानिस शिक्षित छन् | शास्त्र अध्यन गर्न र बुझ्न सक्छन्  आध्यात्मिक ज्ञानको शिक्षा दिने ब्रह्मज्ञानी गुरुहरु पाउन पनि धेरै सजिलो भैसकेको छ |

यस्तो सुबिधा छ, तर पनि अधिकांस हिन्दुहरु दोश्रो चरणबाट अगाडी बढ्न सकेका छैनन् | हिन्दु धर्मको उच्चतम ज्ञान प्राप्त गर्नको लागि ब्रह्मज्ञानी गुरुको आबस्यकता पर्दछ | एक-दुई प्रतिशत हिन्दुहरुले मात्र बिभिन्न आध्यात्मिक संस्थानमा पुगेर ब्रह्मज्ञानी गुरुको निर्देशनमा साधना गरेको पाइन्छ | अरुलाई लाग्छ उनिहरु आफ्नो सनतान धर्म छोडेर अन्य धर्म अपनाएका हुन् | बास्तबमा उनिहरुले हिन्दु धर्म कै उच्चतम साधना गरेका हुन्, आफ्नो धर्म छोडेर अन्य धर्ममा लागेका होइनन् |

पश्चिमी मुलुकका मानिसहरुको हिन्दु धर्म प्रतिको आकर्षणको मुख्य कारण पनि हिन्दु धर्ममा उच्चतम ज्ञान हुनु हो | कथा-पुराणमा बर्णन गरिए जस्तै सुख- सम्पति आर्जन गर्न वा अन्य सांसारिक बिषय-बस्तु प्राप्त गर्नको लागि भनेर उनीहरुले हिन्दु धर्म अपनाएका होइनन् | सरस्वतीको पुजा गरेर विद्या आर्जन हुन्छ वा लक्ष्मीको पूजा गरेर धन-सम्पति कमाइन्छ भनेर उनिहरु हिन्दु बनेका होइनन् | हिन्दु धर्ममा बर्णन गरिएको उच्चम ज्ञान प्राप्त गरेर मात्र मुक्ति होइन्छ भन्ने कुरा बुझेर उनिहरु हिन्दु बनेका हुन् |

बास्तबमा बुध्द धर्म पनि फरक धर्म होइन | सनातन धर्म भन्दा भिन्न धर्म होइन बुध्द धर्म | भगवान बुध्दको जन्म नेपालमा भएको हो भनेर हामि नेपालीहरु गौरव गर्दछौं, तर बुध्द धर्मको बारेमा अधिकांस हामि अनभिज्ञ छौ | हिन्दु धर्मको जस्तै बुध्द धर्मको जग पनि कर्म र पुनर्जन्मका सिध्दान्तमा आधारित छ | दुवै धर्मको सिध्दान्त कर्म नमेटिएसम्म जन्म-मरणको चक्र चलिरहन्छ र त्यो चक्र नतोडेसम्म मानिस मुक्ति हुँदैन भन्ने हो | दुवै धर्मको उदेश्य त्यो चक्रलाई तोड्नु हो | जन्म-मरणको चक्र मेटाउने हिन्दु धर्ममा उच्चतम ज्ञान र साधना बिधि भएता पनि विभिन्न कारणबाट मानिसहरु त्यो चरणमा पुग्न नसकेको हुनाले भगवान बुध्दले सर्बसाधरणले पनि बुझ्न र अपनाउन सक्ने सजिलो विधिहरुको प्रतिपादन गर्नुभएको हो जुन आज बुध्द धर्मको नामबाट विश्वभरि प्रसिद्ध छ | दुई धर्मका साधना बिधि मात्र फरक हुन्, सिध्दान्त फरक होइनन् | हिन्दु धर्म अन्तर्गतका बिभिन्न पन्थ अर्थात आध्यात्मिक संस्थानका आफ्नै प्रकारका साधना बिधिहरु भए जस्तै यी दुई धर्मका साधना बिधिहरु फरक हुन् |

भगवान कृष्ण, भगवान शिव, भगवान बुध्द, उपनिषद्का ऋषिहरु, आदि शंकराचार्य, गुरु गोरखनाथ,सन्त कबिर, गुरु नानक जस्ता अबतार र सन्त वा बुध्द पुरुषहरुले दिएको अध्यात्मिक ज्ञानले हिन्दु धर्मको उत्कृष्टता सिखरमा छ | उहाँहरुले दिएको आध्यात्मिक ज्ञानलाई ओशोले आधुनिक युगको मानिसहरुले बुझ्नसक्ने गरि बिस्तृत ब्याख्या गरेर हिन्दु धर्मको उत्कृष्टतालाई अझ प्रष्ट पारिदिनु भएको छ | ओशोले पनि सनातन धर्म भन्दा भिन्नै कुनै नया धर्मको स्थपना गर्नुभएको होइन |

कुनै पनि समाजको संस्कृति त्यस समाजमा मानिने धर्मको अभिन्न अंग हो | संस्कृति र धर्म एक-अर्काको पुरक हुन् | एउटा सिक्काको दुई पाटा जस्तै हुन् | हाम्रा सबै चाड-पर्वहरु हाम्रा संस्कृति हुन् र हिन्दु धर्मको प्रथम र दोश्रो चरणको क्रियाकलाप भित्र पर्दछन संस्कृतिले समाजलाई जीवन्त राख्ने काम गर्दछ | सस्कृतिको धेरै महत्व भएको हुँदा यसमा कुनै बिकृति आउन दिनु हुँदैन | हाम्रो सन्तानलाई आफ्नो संस्कृति सिकाउनको लागि पनि सानातन धर्म राम्रो संग बुझ्नु पर्दछ | नया पुस्तालाई कर्म-काण्ड र काथा-पुराणले मात्रै आकर्षित गर्दैन |

धर्मलाई जीवनशैलीको रुपमा लिनु पर्दछ | जिबन जिउने कलाको रुपमा लिनु पर्दछ | त्यसको लागि हिन्दु धर्मको सबभन्दा उपयुक्त ग्रन्थ भागवत गीता हो | दु:ख-सुख, शत्रु-मित्र, सफलता- असफल जस्ता बिपरित परिस्थितिमा पनि सधै एकनास हुनु पर्दछ भन्ने जास्ता जीवन जिउने कलाका उपदेशहरु भागवत गीतमा छन् | जीवनलाई सार्थक बनाउनको लागि प्रत्यक हिन्दुले भागवत गीताको अध्यन-मनन गर्नु पर्दछ | त्यसै गरि भगवान बुध्दको उपदेशलाई पनि राम्रो संग बुझ्नु पर्दछ | भगवान बुध्दको जन्म नेपालमा भएको हो भनेर वा उहाँको मुर्तिको पूजा गरेर मात्र उहाँको सच्चा भक्त बनिदैन| विश्वका धेरै मानिसहरुले भगवान बुध्दको उपदेशको पालना गरेर आफ्नो जीवनलाई सार्थक बनाएकाछन्, तर बुध्दकै जन्मभूमिमा अधिकांस मानिसहरुले उहाँको संदेश बुझेका छैनन् |

ध्यान हिन्दु र बुध्द धर्म दुबैको साधनाको मुख्य अंग हो | आध्यात्मिक ज्ञानको लागि मात्र होइन शारीरिक र मानसिक स्वास्थ्यको लागि पनि ध्यान धेरै उपयोगी छ | सानै उमेरदेखि ध्यान गर्दा बच्चाहरुको स्मरण शक्ति बढ्छ | उनीहरुलाई संस्कार सिकाउने सबभन्दा उपयुक्त माध्यम पनि ध्यान हो |

सनतान धर्म राम्रो संग बुझेर यसलाई जीवनशैलीको रुपमा अपनाउनु पर्दछ | सबै ब्यबहार सकेर बृध्द अबस्थामा धर्म गर्दछु भन्ने सोंच राखनु हुँदैन | धर्मलाई जीवनशैली नबनाउदा जीवन कठोर बन्ने मात्र होइन कि कतिपय रहस्य नबुझिकन जीवनको अन्तिम घडी आइपुगेको हुन्छ |

Loading...

यसमा तपाइको मत