स्थगित सार्क सम्मेलन आफ्नै मुलुकमा हुनुपर्ने पाकिस्तानको ईच्छा

काठमाडाैं,२८ असोज

पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को स्थगित १९ औं शिखर सम्मेलन आफ्नै मुलुकमा गर्ने जानकारी गराएको छ । पाकिस्तानले सार्क अध्यक्ष मुलुक नेपाललाई अनौपचारिक जानकारी गराउँदै सदस्य मुलुकबीच वातावरणअनुकूल भएपछि आफ्नै मुलुकमा शिखर सम्मेलन गर्ने बताएको परराष्ट्र स्रोतले जनाएको छ ।

भारत र पाकिस्तानबीच तनावका कारण कात्तिक तेस्रो साता पाकिस्तानमा तय गरिएको सम्मेलन स्थगित गरिएको थियो । गोवामा हुने ब्रिक्स सम्मेलनमा सार्कको नयाँ मिति र स्थान तोक्नेबारे छलफल गर्ने नेपालले तयारी गरेको थियो । तर पाकिस्तानको यस्तो धारणा आएपछि सम्मेलनको नयाँ तिथि अन्योलमा परेको छ । ब्रिक्स सम्मेलनको साइडलाइनमा हुने क्षेत्रीय बैठकका क्रममा सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखसँग शिखर सम्मेलनको नयाँ तिथिबारे नेपालले छलफल गर्ने बताएको थियो ।

भारतको गोवामा आगामी आइतबार र सोमबार हुने ब्रिक्स देशहरूको सम्मेलन र सोही अवसरमा हुने बिमस्टेक साइडलाइन रिट्रिटमा सार्क सदस्य मुलुकका केही सरकार प्रमुखसँग हुने भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ मिति र स्थानबारे छलफल गर्ने तयारी अझै छ । तर पाकिस्तानले आफ्नै देशमा शिखर सम्मेलन गर्ने बताएपछि अन्य मुलुकमा सम्मेलन हुने सम्भावना न्यून रहेको स्रोतको भनाइ छ ।कान्तिपुर दैनिकमा समाचार छ।

Published on October 13, 2016 at 8:52 pm

Loading...

यसमा तपाइको मत