अमेरिकामा बस्ने नेपालीहरूलाई अध्यागमन सम्बन्धी ५ वटा सामान्य सुझावहरू-यटर्नी-एट-ल बासु फुलारा

विआरटी नेपाल सम्बाददाता,

आजको प्रश्न:
अमेरिकामा नेपाली आप्रबाशीहरूले अध्यागमन कानुन सम्बन्धी परामर्श लिदा र कुनै कार्य गर्दा अर्थात् आफूलाई अध्यागमन सम्बन्धी आउन सक्ने वर्तमान अर्थात् भविष्य सम्बन्धी समस्याहरूबाट बच्न के के कुराहरूमा साबधानी अपनाउनु पर्छ ?

आजको उत्तर:
सर्वप्रथम, अध्यागमन कानुन सम्बन्धी कुनै कुराहरूको कानुनी सल्लाह चाहिएको खण्डमा आधिकारिक व्यक्ति, निकाय अर्थात् अमेरिकामा लाईसेन्स प्राप्त यटर्नीहरूसँग गएर सोद्धा राम्रो हुन्छ । अध्यागमन कानुन र सम्बन्धित समस्या भनेको कुनै फर्म मात्रै भर्ने मात्र काम होइन, अमेरिकाको अध्यागमन कानुन आफैमा बृहत् छ । तपाईँले अनाधिकार व्यक्तिहरूसँग गएर कानुनी कुराहरूको परामर्श लिने र आफ्नो काम गर्न खोज्दा दुख पाए पछि मात्र वकिल कहाँ धाऊने बानी छ भने सुरुमा नै आधिकारिक यटर्नीलाई सोद्धा तपाईँको समय बच्ने र उपयुक्त काम गर्न सकिने वातावरण सिर्जना हुन जान्छ र तपाईँलाई अनाधिकार व्यक्तिले ठगि गर्नबाट पनि तपाईँ बच्न सक्नु हुन्छ।

दोस्रो, तपाईँ केही समयका लागि अर्थात् अस्थाई बसोबासका लागि अमेरिकामा आउनु भएको छ भने तपाईँ अमेरिकामा बस्दा आफूसँग भएको सम्बन्धित देशको पासपोर्ट, अमेरिकाको भिसा, आइ-९४ र तपाईँले अमेरिकामा बस्दा अध्यागमन सम्बन्धी सम्बन्धित निकायलाई कुनै निवेदनहरू दिनु भएको छ अर्थात् फाइल गर्नु भएको छ भने सम्बन्धित कागजपत्रहरू र तपाईँको अध्यागमन सम्बन्धी कानुनी हैसियत सम्बन्धी अन्य सम्पूर्ण कागजातहरू तपाईँले आफूसँग सधैँ भरि सुरछित राख्दा राम्रो हुन्छ । तपाईँ ग्रीन कार्ड होल्डर हुनुहुन्छ भने ग्रीन कार्ड र अन्य सम्बन्धित कागजात सुरक्षित राख्नु पर्ने हुन्छ।

तेस्रो, तपाईँ कानुनी तबरले भिसा लिएर अमेरिका आउनु भएको छ भने लिगल हैसियत बचाएर राख्नु पर्ने हुन्छ तसर्थ तपाईँ आफ्नो हैसियत बचाएर नै बस्नु होला । तपाईँ अनधिकृत तबरले भिसा अर्थात् आइ-९४ ले दिएकोको म्याद नाघी सके पछि अर्थात् तपाईँ अमेरिकामा बस्दा लिगल हैसियत बचाएर बस्नु भएन र यता भिसा अर्थात् कानुनी आधार नै नभएर अमेरिकामा बस्नु भो भने तपाईँको अनधिकृत अमेरिकाको बसाइले गर्दा तपाईँ भविष्यमा अमेरिकामा आउन अयोग्य ठहरिन सक्नु हुन्छ र तपाईँलाई समय हेरेर ३ देखि १० वर्ष सम्म को बन्देज लाग्न सक्छ।

चौथो, अमेरिकामा तपाईँ ३० दिन भन्दा बढी समयको बसाइको लागि आउदै हुनु हुन्छ भने तपाईँले आफू बसेको ठेगाना परिवर्तन गर्दा “AR-11” भन्ने फर्म तपाईँले ठेगाना सारेको मितिले १० दिन भित्र “USCIS” लाई कानुनी रूपमा जानकारी गराउनु पर्छ । तपाईँले यो फर्म “USCIS” को वेब पेज WWW.USCIS.GOV मा गएर अनलाइन पनि भर्न मिल्छ अर्थात् तपाईँले पोस्टल मेल गरेर पनि पठाउन मिल्छ ।

अन्त्यमा, तपाईँ अमेरिकामा विद्यार्थी भिसामा आउनु भएको छ भने अध्यागमन सम्बन्धी हर एक नियमहरू पालना गरेर आफ्नो पढाई पुरा गर्नु पर्ने हुन्छ र अनधिकृत तबरले काम गर्नु हुँदैन। तपाईँको काम गर्न पाउने कार्डहरू अर्थात् अरू कुनै कागजातहरू रिन्यू गर्नु पर्ने भो भने समय मै गर्नु पर्ने हुन्छ । तपाईँ अमेरिकाको ग्रीन कार्ड होल्डर हुनु हुन्छ र कानुनी रूपमा योग्य हुनु हुन्छ भने समय मै अमेरिकाको नागरिकको लागि निवेदन दिँदा राम्रो हुन्छ किनकि ग्रीन कार्डले मात्रै तपाईँलाई सबै सुरक्षा प्रदान नगर्न सक्छ र उदाहरणका तपाईँ अमेरिकन नागरिक हुनु भो भने आफ्नो नातेदारहरुको लागि पिटिशन फाइल गर्न तपाईँलाई सजिलो हुन्छ ।

======================================

क्षेत्री एंड यसोसीयटस न्यु योर्क का यटर्नी-एट-ल बासु फुलारा
फेसबुक-प्रोफाईल: http://www.facebook.com/bashu.phulara
कार्यालय: (७१८) ६०६-६४७४, इमेल: [email protected]
========================================

( यो लेखमा व्यक्त विचारहरू पाठकका सामान्य जानकारीका लागि मात्र हुन् । कानुनी उपचारका सल्लाह भने होइनन् । अध्यागमन कानुन सम्बन्धी उपचारका लागि भने यटर्नी-एट-ल बासु फुलारालाको कानुनी कार्यालय क्षेत्री एण्ड एशोसिएटसको फोन नम्बर: ७१८-६०६-६४७४ मा अर्थात् उहाको इमेल: [email protected] मा सम्पर्क राख्न सक्नु हुनेछ –सम्पादक ।)

Published on October 9, 2016 at 10:28 pm

Loading...

यसमा तपाइको मत