नियत, नीति र नियम भित्र : प्रहरीको मनोबल
Loading...

शम्भु सुस्केरा

Published on October 7, 2016 at 8:53 am

shambhu-suskera

फोनबाट मात्र चिनजान भएका खाँदबारीका एक जना मित्रले सल्लाह मागे छोराले प्रहरी जवानमा भर्नाको लागि आवेदन दिएको छ म के गरौँ । लिखितका लागि पाठ्यक्रम बनेको छ राम्रो किताब किनेर पढ्न लगाउनुस् । शारिरिक ब्यायाममा के के गर्नुपर्छ त्यसैमा लेखेको हुन्छ त्यसै अनुसार अभ्यास गराउनुस् । परिक्षा दिइसक्दा नतिजा आफैँ थाहा पाइन्छ । मैँले तथ्य बताएँ ।

लिखित परिक्षा अघि फेरि फोन गरे । लोकसेवा आयोगले परिक्षा लिने हो । छोरालाई मिहिनेत गर्न प्रेरित गर्नुहोला । अन्त–अन्त फोन गरेर उसको जाँगरमा हस आउने काम नगरेकै राम्रो मैँले भनेँ । अन्तर्वार्ता अघि फोन गरेर दर्ता नम्बर सुनाए । एक त म त्यो हैसियतको मान्छे होईन । अर्को परिक्षा निष्पक्ष भएको थाहा पाएर पनि यसरी अर्को बाटो किन खोजको ? मैँले अलि रुखो जवाफ दिएँ । परिक्षा पास गर्दै गएको छोराको क्षमतामाथि बाबुको विस्वास देखिएन । कसैले आश्वासन पनि दिएको हुनसक्छ, र उसैको विश्वासमा परेका हुन् भन्ने अनुमान गरेँ र दुईवटा उदाहरण सुनाएँ । एक, प्रहरी नियमावलीले अमर र अशक्त प्रहरीका सन्तानलाई छुट्याएको दुई प्रतिसत आरक्षण कोटामा एक जना पनि पास नहुनु उनीहरुले न्युनतम पास मार्क नल्याएर हो । दुई, कसैको शक्ति र नगद चलखेल हुने भए एघार सय असइका लागि भर्ना खोलिएकोमा चारसय भन्दा कम पास हुने थिएनन् सबै सिट भरिएर आउँथे रिजल्टमा ।

उनले मेरो कुरामा विश्वास गरे भन्नेमा ढुक्क थिएँ । तर अचानक एक दिन काठमाडौँमा देखिए । ‘तराइ झरेको थिएँ रात्रि बसले काठडमाण्डु जान्छस् भन्यो चढेर आएँ ।’ काठमाडौँ आउनुको संयोग सुनाए । छोराको अन्तर्वाता सपार्न शक्ति केन्द्रको आरधनाका लागि आएका हुन् भन्ने प्रष्टै थियो । यस्तै मेरा जिल्लाबासी एक जना दाइका भान्जालाई मसँग भएको किताब दिएँ र अर्को नयाँ संस्करण किनेर पढ्न सुझाए । हुन्छ दाइ म कोसिश गर्छु भनेर आश्वासन दिई जस लिन पनि सक्थेँ म । तर आफ्नो आचरण र क्षमता विपरित कुराले म आफू प्रहरी संगठन र उनीहरुलाई समेत धोखा हुन्थ्यो । जे हो त्यो बताइदिएँ । मामाले जसरी पनि जागिर ख्वाइहाल्छन् भन्ठान्यो भान्जाले । मेरो कुरो मानेन । कुन किताब किनेर पढ्यौ भनेर परिक्षा सकिएपछि सोधेको थिएँ । किताबको नाम बताउन सकेन । रिजल्ट आएको दिन मामाचाहिँलाई फोन गरेँ । उनको भान्जो फेल भएछ । रिसले हो वा लाजले फोन उठाएनन् ।

माथिका जीवन्त पात्र जोडेर कथा बुन्नुको कारण कसैलाई गालि गर्न वा लान्छना लाउन खोजेको अर्थ नलागोस् । एउटा सवालको जवाफ खोज्नु छ । हामीले चाहेको पद्दति के हो ? निश्पक्ष पारदर्सी वा प्रभाव र दवाव । आफ्नो क्षमता र योग्तामा अरुले भर गरोस भन्ने हो वा अरुको शक्तिमा भर गरेर आफूलाई आश्वासन र प्रलोभनको दास बनाई रहने ? नेपाल प्रहरीले ६१ औँ प्रहरी दिवस मनाइरहँदा संगठनको एउटा सदस्यको हैसियतले संगठनप्रति सधैँ प्रश्न उठिरहने नागरिक सरोकारको एउटा विषयमा जानकारी पस्किन खोजेको मात्र हुँ । प्रतिष्पर्धामा सबै पास हुन्छन् नै भन्ने छैन । तर मिहिनेत गर्नुको बिकल्प पनि छैन । लोक सेवा आयोगले परिक्षा लिन थालेको दस वर्ष पुग्दा पनि हामी कहाँ विश्वासले वास गर्न सकेको छैन । थोरै पाठकलाई मात्र सत्य कुरा सूचित गर्न सकेँ भने क्रमशः सर्वसाधारणमा सत्य कुराको प्रवाह हुन्छ भन्ने अपेक्षा हो ।

नेपाल प्रहरीका सबै पदमा भर्ना छनौट गर्दा लिईने परिक्षामा लोकसेवा आयोगको प्रत्यक्ष संलग्नता रहन्छ । लोकसेवा आयोगबाट आएका शिलबन्दी प्रश्नपत्रहरु परिक्षा हलमा मुचुल्का गरेर खोलिन्छ र यसैगरि उत्तर पुस्तिका शिलबन्दी गरेर लगेपछि डबल कोड गरिन्छ । कसको उत्तर पुस्तिका कुन हो भन्ने नै थाहा हुन्न । सबै निकायको सबै परिक्षामा यस्तै पद्दतिको प्रयोग गर्छ लोकसेवाले । त्यसकारण यो विषय प्रहरीको मात्र रहेन अब । पारदर्सि र परिवर्तन चाहने हो भने यो तर्कमा तथ्य छ कि छैन जाँच्नका लागि समेत अविभावकले अरुको पछि लाग्नुभन्दा छोराछोरीलाई मिहिनेत गर्न पे्ररित गर्नुपर्छ । र आफूलाई शक्ति ठान्नेहरुले पनि सत्य कुरा नभनेर आश्वाशन बाँड्ने काम नगरौँ । केहि वर्षयता नयाँ नियुक्ति भएका प्रहरीका बाआमालाई थाहा छ आफ्ना सन्तान कसरी प्रहरी सेवा प्रवेशमा सफल भए । म गर्दिन्छु भनेर आश्वासन बाँड्नेहरुलाई पनि थाहा होला उनीहरुले कति जनालाई जागिर खुवाए ?

अनुभवीहरु भन्छन् छयालिसको परिवर्तनले भनसुन र मनसुनको संस्कृति जन्माएको हो । कुनै बेला सिमित व्यक्तिको निजी स्वार्थका लागि मान्छेले नै चलाएको संस्कारले सबैको हित नगरेपछि त्यसलाई बदल्नु बिकल्प छैन । जसरी संस्कार चलाइयो त्यसैगरि बदल्नुपर्छ । छयालिस पछि जन्मेको युवा नै अहिलेका नवप्रवेसी प्रहरी हुन् । ४६ पछिको युगलाई सामाजिक र आर्थिक अनुसाशन कमजोर भएको समय भन्छन् भन्नेहरु । यदि यो साँचो हो भने प्रहरी संगठनका लागि मात्र होईन हरेक क्षेत्रमा पद्दति बसाल्न कठीन छ । एउटा व्यक्ति वा संस्थाको बलले मात्र यस्ता बिकृति रोकिन्न । किन भने जन्मदै अनुभव गरेको संस्कार बदल्न नचाहनु साझा कमजोरी हो मान्छेको । चानचुन प्रयासले यस्ता संस्कार बदल्न सकिन्न ।

यस्ता चुनौतिमाझ प्रहरी संगठनले आफूमा निहीत बिकृति हटाउन विभिन्न अभियान सहित प्रस्तुत हुने गरेको छ । अरुले सुधार्न खोज्नु र आफैँ सुध्रिनुमा फरक छ । प्रहरी संगठनको सुद्धिकरण र सुदृढीकरणमा नागरिक र अन्य पक्षले केबल रामराम भने पुग्ने अवस्था छ काँध थापीरहनु पर्दैन । त्यो भनेको नैतिक समथर्न र विश्वास पनि हो । यो अवसरलाई सदुपयोग गर्न प्रहरीका तालुक कार्यालय वा ब्यक्ति आफूले लिइरहेको केही लाभ त्याग्नैपर्छ । प्रहरीका सकारात्मक प्रयासलाई मिडियाले पनि नकारात्मक टिकाटिप्णी वा अविश्वास मात्र गरेर उँडाइरहने हो भने सुधार नचाहनेलाई नै बल पुग्छ । र नैतिकवान प्रहरी र जनमैत्री प्रहरी सेवा अझै पछि धकेलिन्छ ।

तर धेरै दुःखी हुनपर्ने अवस्था किन पनि छैन भने नेपालका अरु निकायभन्दा अनियमिततामा नेपाल प्रहरी पछि नै छ भन्ने कुरा हरेक वर्षको ट्रान्सपरेन्सी इन्टर नेसनलको वार्षिक प्रतिवेदले बोलिरहको छ । नेपाल प्रहरी सुधार सम्भावनाको नजिक देखाउँछ यसले । तर उसको एक्लो प्रयासले सम्भव भएन । म कहिल्यै अव्यवसायिक आचरणमा लाग्दिन भनेर मातहत प्रहरीलाई मन्दिरमै लगेर कसम खुवाउने अधिकृत पनि छन् नेपाल प्रहरीमा । त्यसले पनि स्थायी परिणाम त आएन । जति सक्दो नीजि फाइदाकै लागि काम गर्ने प्रहरीलाई निरुत्साहित गरी नैतिकवान प्रहरीलाई धाप दिएर आत्मबल बढाउनु आवश्यक छ । यसका लागि नागरिक र मिडिया प्रहरीको ताकत बन्नुपर्छ र बनेको पनि पाइन्छ । तर प्रहरी स्वयंको बलले सबै परिणामा आउनुपर्छ भन्ने हो भने चुस्त प्रहरी र साथी प्रहरी केबल नारा र कल्पनामा मात्र सिमित रहन्छ । यसमा प्रहरीले कम नागरिक सेवाले नै धेरै हार्छ ।

तत् तत् विषयमा कुन सरकारी वा गैर सरकारी निकायको ले के गर्छन् त्यो बहसको विषय बन्ला । एउटा निकायको आचरण व्यवहारले अर्कोलाई प्रभाव पनि पार्छ भन्ने भुल्नु हुँदैन । सत्य के हो भने कानुन कार्यान्वयन गराउने निकाय पहिले आफू स्वच्छ, व्यवसायिक, दबाब रहित र कानुनी शक्ति सम्पन्न हुनै पर्छ । अनि मात्रै जनमैत्री सेवा र दुरुस्त कानुन कार्यान्वयनको सम्भावना बढ्छ । हस्तक्षेप मुक्त प्रहरीको उज्यालो छायाँले मात्र पनि अरुले हिँड्ने बाटोमा उज्यालो छर्छ वा उज्यालोमा हिँड्न नचाहनेलाई हिँडाउँछ ।

यसो हुनका लागि बिर्सनै नहुने महत्वपूर्ण पक्ष भनेको एउटा प्रहरी जवानले आफू र सन्ततिको भविष्यको चिन्ताबाट मुक्त हुन पाउनुपर्छ । नत्र माथी चर्चा गरिएजस्तो उपलब्धी हासिल हुन कठीन छ । चौबिस घण्टाको खटाई र आठ घण्टाको खटाइ बिचको अन्तर, खतरायुक्त काम गर्ने र खतरामुक्त काम गर्नेबीचको सुविधामा फरक नआइ जतिसुकै पाइला चाले पनि गन्तब्य अलमलिन सक्छ । यससँगैै इमानलाई इनामको बिपरित बेइमानलाई इनाम भयो भने नागरिक सेवा अनुत्पादक मात्र होईन घातक पनि हुन्छ । त्यसैले पारदर्सी र निश्पक्ष दण्ड र पुरस्कारको पद्दति अनिवार्य सर्त हुनु पर्दछ ।

प्रहरी दिवसको एक महिना अघिमात्र मनाइने निजामति सेवा दिवसलाई सम्झौँ । सरकारले दुईलाख रुपैयाको सर्वोत्कृष्ठ निजामति सेवा पु्रस्कार एकजनालाई, एकलाख रुपैया बराबरको उत्कृष्ठ निजामति सेवा पुरस्कार दस जनालाई र पचासहजार रुपैयाको निजामति सेवा पु्रस्कार तीस जनालाई प्रदान गर्दछ । ४१ जनालाई २७ लाखको पुरस्कार प्रदान गरिँदा त्यसको एक प्रतिसत मात्रै पनि नेपाल प्रहरीको भागमा नपर्दा ती पुरस्कारप्रति इष्र्या नभए पनि हरेक प्रहरीको चित्त दुखाइ हुनु अस्वाभाविक होईन । एउटै सरकारका दुई निकायबीच हुने सामान्य लाग्ने यस्ता थुप्रै विभेदकारी नियम, निर्णय र नियतले पनि प्रहरी सेवालाई सोचे जसरी माथि उठ्न दिएको छैन ।

अन्त्यमा, शान्ति सुरक्षा र अपराध अनुसन्धानको असफलताका बारेमा प्रहरी एक्लै आलोचित हुने गरेको छ । तर जघन्य किसिमका अपराधमा जेलमा रहेका ब्यक्तिलाई जेल मुक्त गरिएबाट स्कुलमा बम काण्ड जस्ता घटना हुनु संयोग मात्र होईन यसलाई ख्यालख्याल नठानियनेस् । यस्ता तथ्यले प्रहरीको मात्र होईन समाजको समेत मनोबल गिराएको छ । र, अपराधीको मनोबल माथि उठाएको छ । यो नियत परिवर्तन गर्न ककसले आफ्नो संस्कार बदल्नुपर्छ यहाँ उल्लेख नगरेरै पनि प्रष्टै हुन्छ ।

suskera32@gmail.com

Loading...

यसमा तपाइको मत