सुलेको बानी- पेशल आचार्य

पेशल आचार्य

बालकथा
सुलभलाई उसको घरमा सबैले माया गरेर बोलाउने नाम ‘सुले’ थियो ।
त्यसघरमा उसका हजुरबा, हजुरआमा, ठूलाबा, ठूलीआमा र काकाकाकी सबै थिए । त्यो परिवार संयुक्त परिवार थियो । दसैँतिहारमा सबैको भेट हुन्थ्यो तर सुले बा’को जागिरमा बस्थ्यो । ऊ त्यस घरको जेठो नाति थियो । पहिलो नाति भएकाले सबैले बढी माया गरेकाले अलि पुल्पुलिएको थियो ।

‘सुले’ यो छोटकरी नाम उसका बाआमा प्रायः दुवैले प्रयोग गर्दथे । अरूचाहिँ प्यारो गरेर ‘सुलभ’ भन्थे । सुलेका बाबा प्रहरीमा जागिरे थिए । दिनरात व्यस्त हुनु परेकाले उनले आफ्ना सन्तानको हेरचाह जति राम्ररी गर्नु पर्दथ्यो । उति राम्ररी गर्न पाएका थिएनन् ।

उनी बिहानै अफिस जान्थे । राति फर्कन्थे । दिउँसो एघार बजेतिर खाना खान घर आउँथे । खाना खाएर एक छिन आराम गरी फेरि अफिस नै फर्कन्थे । कामको चापले गर्दा कहिलेकाहीँ अफिस मै खाना खान्थे ।
सुलभ कक्षा ७ मा पढ्थ्यो । ऊ असाध्यै चकचके थियो । बाआमाले भनेको मान्दैनथ्यो । ऊ मुन्तिर उसको सानो भाइ पनि थियो । जसको नाम स्वीकृत थियो । स्वीकृतचाहिँ अलि बुझ्ने र ज्ञानी थियो । स्वीकृत कक्षा १ मा पढ्थ्यो । अफिसबाट घर आउँदा सुलभका बा उसलाई कहिले स्याउ र सुन्तला त कहिले आँप ल्याइदिन्थे । सिजनको फलफुल खानुपर्छ भन्ने उनको विचार थियो । उनी कहिले अंगुर, कहिले मेवा स्वाद् बद्लेर छोराहरूले तागत बढाउने फलफुल खाऊन भनेर सोच्थे अनि किनेर ल्याउँथे ।
बाको हात कहिल्यै पनि खाली हुँदैनथ्यो ।

सुलेचाहिँ बाको हातमा फलफुलका पोलिथिन देखेपछि भाग्न थालिहाल्थ्यो । ऊ भने कुनै प्रकारका फलफुल मन लाएर खाँदैनथ्यो ।
‘सुले स्याउ खा ।’ –उसका बा उसलाई हकार्दै भन्थे ।
‘स्याऊ त म्याउ हो । नाइँ खान्न ।’ –ऊ भन्थ्यो ।
‘अंगुर छ । त्यो त खा ।’ आमा फेरि थप्थिन् ।

‘ए ! अंगुर । त्यो त बङ्गुर । छि ! त्यो पनि कोही खान्छ ।’ –सुले कविताजस्तै मिलाएर फटापटी भन्थ्यो । अनि खेल्न दौडी हाल्थ्यो ।
‘सुले आज त आँप छ क्या ।’ –बेलाबेलामा सम्झाउने शैलीमा बा भन्थे ।
‘बाफ रे ! बाफ ! साँप ।’ – सुले आँपलाई साँप भन्थ्यो ।
स्वीकृत उसको भाइ सुलेलाई दिन लागेको स्याउ खोसेर खाइदिन्थ्यो । अंगुर चबाउँदै खेल्न जान्थ्यो । अनि आँप पनि मजाले चाटीचुटी खान्थ्यो ।

सुलेका बाआमा दुवै सुलेलाई गाली गर्थे तर सुले हाँसेर टारिदिन्थ्यो ।
समय बित्दै गयो । एक दिन सुलेलाई हन्हनी ज्वरो आयो । निकै दिनसम्म उसको ज्वरो घटेन । उसलाई डाक्टर कहाँ लगियो । उसलाई बाले मोटरसाइकलमा चढाएर लगेका थिए । डाक्टरले सुलेलाई जाँचेर भने –‘बाबु तिमी फलफुल केही पनि खादैनौं ? शरीरमा त रगत छैन जस्तो छ नि ।’
सुलेले केही बोलेन । भित्रभित्र खूब डरायो । डरले होला उसको अनुहारमा चिट्चिट् पसिना आयो । उसले बाका मुखमा हे¥यो । बा के भनौं के नभनौं दोधारमा परे । साँचो बोलौं त डाक्टरले सुलेलाई गाली गर्ने । झुटो बोलौं सुलेको नराम्रो बानी सपार्नु छ । मौका पनि यही हो ।
निकैबेर त्यहाँ चकमन्न भयो ।

उनले बोली सपारेर भने –‘डाक्टर सा’ब खान त खान्छ तर सारै थोरै खान्छ ।’
‘के खाएर यो बच्चा यत्तिको मोटो भएको त ?’ – डाक्टरले फेरि प्रश्न राखे ।
सुलेका बाले मिलाएर भने –‘यो धेरैजसो माछामासु, चाउचाउ, लेज, कुर्कुरे, कुर्मुरे र अन्डा मात्र खान्छ, डाक्टर सा’ब । फलफुल त्यति मन गरेरै खाँदैन । ज्यादै जिद्दी ग¥यो भने अलिअलि खान्छ ।’
अब डाक्टरले आफूले घाँटीमा झुण्ड्याइरहेको स्टेथेस्कोप झिकेर टेबलमा राखे अनि सुलभलाई सम्झाउन थाले –‘बाबु हाम्रो शरीरलाई माछामासु, हरियो सागसब्जी, पहेँला जातका फलफुल र सुकेका फलफुल पनि नभई हुँदैन । एकथोक मात्र खायो भने त्यसले हामीलाई त्यति राम्रो गर्दैन । सबैथोक मिलाइमिलाई खानुपर्छ । तिम्रो शरीर हेर्दा मात्र मोटो छ तर यो भित्रबाट दह्रो छैन । यस्तोमा तिमीलाई जुनसुकै रोगले आक्रमण गर्न सक्छ । कुरो बुझ्यौ ?’

‘कुरो त बुँझेँ तर त्यो सुकेको फलफुल भनेको चाहिँ के नि ?’ –सुलेले प्रश्नको सङ्ख्या फेरि थपिहाल्यो ।
‘ए ! सुकेको फलफुल भनेको नरिवल, मिश्री, छगडा, काजु, बदाम र ओखर हो बाबु ।’ –डाक्टरले बेलिबिस्तार लाइदिए ।
सुलेले बुझेकोजस्तो गरेर टाउको हल्लायो किनकि ऊ कक्षा सातमा पढ्थ्यो ।
डाक्टर कहाँबाट गएको दिनदेखि उसले कहिले पनि फलफुल नखाने भनेर झगडा गरेन । अब सुले सबै प्रकारका फलफुलहरू चुप लागेर खपाखपी खान्थ्यो ।

दिन बित्दै गए । उसको स्वास्थ्य अहिले निकै सप्रेको थियो । यो देखेर उसको भाइ स्वीकृत उसलाई बेलाबेलामा जिस्क्याइरहन्थो ।
‘सुले स्याऊ कि म्याउ । अंगुर कि बङ्गुर । आँप कि साँप ।’ भाइले यस्तो भनेको सुन्यो भने सुले स्वीकृतलाई कुट्न दौडन्थ्यो तर स्वीकृतचाहिँ आमाको मद्दत माँग्न ‘आमा मलाई सुलेले पिट्न आँट्यो’ भनेर कुद्दै नजिकै जान्थ्यो । आमा पनि उसलाई अँगालामा बेरेर च्वाप्प म्वाइ खान्थिन् र भन्थिन् –मेरो साने कस्तो बुज्जकी हगि !’

Published on October 5, 2016 at 7:09 am

Loading...

यसमा तपाइको मत