सभासद् मोहनबहादुर बस्नेतसंगको अन्तर्कृया सम्पन्न

गोकुल ढकाल, लस एन्जलस्, अमेरिका ।

व्यवस्थापिका संसदका सभासद् एवम नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री मोहनबहादुर बस्नेतसंगको भेटघाट तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन आउनुभएका सभासद् बस्नेत डी सी, न्यु योर्क, सान फ्रान्सिस्को हुँदै आज लस एन्जलस आईपुग्नुभएको हो । नेपाली जन सम्पर्क समिति अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरको आयोजनामा पूर्व मन्त्री बस्नेतसंगको अन्तर्कृया नेपाल अमेरिका एकता समाजको कार्यालय, आर्टेसियामा आज आयोजना गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सभासद् बस्नेतले संविधान कार्यन्वयन, सरकारमा नेपाली काँग्रेसको भूमिका, मधेसी आन्दोलन, टिकापुर घटनाको वास्तविकता र भूकम्प र बाढी पहिरोको विपत्तिमा प्रवासमा रहेका नेपालीहरूले गरेका योगदानका विषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमका विशेष अतिथि बाणिज्यदुत ॠषि ढकालले दोहोरो नेपाली नागरिकता, सक्षमताको लागि स्वाबलम्बी व्यवसाय र यस क्षेत्रमा नेपाली दूतावासको आवश्यकताबारे आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा नेपाली जन सम्पर्क समिति, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरका सल्लाहकार मुकुन्द ढुंगानाली स्वागत मन्तव्य दिनुभएको थियो । यसै गरी श्रीपशुपतीनाथ फाउन्डेशनका अध्यक्ष भक्त थापा, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि हेमराज भट्ट, नेपाली जन सम्पर्क समिति, अमेरिकाका केन्द्रीय सदस्य एवम प्रचार विभाग प्रमुख गोकुल ढकालले आ-आफ्न प्रवासी सामुदायिक प्रगति, संस्कृतिको जगेर्नाका लागि साउदर्न क्यालिफोर्नियाका नेपाली समुदायले चालेका कदमहरू, दोहोरो नेपाली नागरिकता, यस क्षेत्रमा नेपाली दुतावसको आवश्यकता, र नेपालबाट आउनुहुने पाहुनाहरुले यहाँबाट सिकेर परिवर्तनको आभास स्वदेशमा दिनुपर्ने प्रयासहरुका बारे आ-आफ्ना धारणाहरु राख्नुभएको थियो ।

च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्थानीय सामुदायिक संस्थाका पदाधिकारीहरू, अग्रज र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव गंगाबहादुर बस्नेतले गर्नुभएको थियो भने उपस्थितहरुको प्रश्नका जवाफहरु प्रमुख अतिथि श्री बस्नेतले दिनुभएको थियो ।

Published on October 4, 2016 at 10:29 am

Loading...

यसमा तपाइको मत