निजीको दबाबमा शुल्क सिफारिस

काठमाडौं, १८ असोज

शुल्क पुनरावलोकन समितिले विश्वविद्यालय र मेडिकल काउन्सिलले तोक्ने सिट संख्याका आधारमा एमबीबीएसको शुल्क लिन सकिने व्यवस्था कार्यान्वयन गर्न सरकारलाई सिफारिस गरेको छ । समितिले अधिकतम १ सय, १ सय १५, १ सय ३५ र १ सय ५० सिट निर्धारण भएमा कलेजले कति–कति शुल्क लिन पाउने भन्ने यकिन गरेको छ । सिट बढदा शुल्क कम हुनेछ भने घटदा शुल्क बढी हुनेछ।
समितिले नियमित, १० प्रतिशत छात्रवृत्ति, वैदेशिक वा अतिरिक्त शुल्कको कोटा छुट्टयाएर शुल्क सिफारिस गरेको छ । विद्यार्थी अध्ययन गराउन लाग्ने लागत (नियमित शुल्क) र व्यवसायीले नाफा कमाउने (व्यावसायिक शुल्क) गरी दुई किसिमबाट शुल्क निर्धारण गरिएको छ । सरकारले गत वर्ष एमबीबीएसको शुल्क सबैलाई ३५ लाख निर्धारण गरेको थियो । समितिको पछिल्लो सिफारिस कार्यान्वयन भएमा विद्यार्थीले कलेजअन्ुसार फरक शुल्क तिर्नुपर्ने छ ।
एक सय ५० सिट निर्धारण गरिएको कलेजमा नियमित शुल्क तिर्ने विद्यार्थीले ३२ लाख ३९ हजार ९ सय ५६ रुपैयाँमा एमबीबीएस अध्ययन गर्न पाउने छन् । यसका लागि ८५ सिट निर्धारण गरिएको छ । यसमा १५ जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउँछन् भने व्यावसायिक सिट ५० निर्धारण गरिएको छ । यो सिटमा स्वदेशी विद्यार्थीले अध्ययन गर्न चाहेमा ४८ लाख ५९ हजार ९ सय ३४ र विदेशी विद्यार्थीले ५१ लाख ८३ हजार ९ सय ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । वैदेशिक वा नेपाली अतिरिक्त शुल्कतर्फका विद्यार्थीबाट मात्र लगानीकर्ताले प्रतिफल हासिल गरी लगानीको सुरक्षा र योगदानको प्रतिफल प्राप्त गर्नुपर्ने प्रस्ताव समितिले राखेको छ ।
एक सय ३५ सिट निर्धारण गरिएको कलेजमा नियमिततर्फ शुल्क तिर्ने विद्यार्थीले ३५ लाख ८८ हजार ३ सय ८३ रुपैयाँ तिर्नुपर्ने हुन्छ । एक सय ३५ सिटमा नियमिततर्फ ७६ सिट छुट्टयाइएको छ । मेडिकल कलेजका लगानीकर्ताको लगानी सुरक्षित गर्न भन्दै ४५ सिट ‘व्यावसायिक सिट’ का रूपमा छुट्टयाइएको छ । यो सिटमा अध्ययन गर्ने स्वदेशीले ५३ लाख ८२ हजार र विदेशीले ५७ लाख ८१ हजार तिर्नुपर्ने हुन्छ । एक सय ३५ मध्ये १४ सिटमा छात्रवृत्तिमा अध्यापन गराउनुपर्ने हुन्छ ।
एक सय १५ सिट निर्धारण भएमा १२ जनालाई छात्रवृत्ति दिनुपर्ने हुन्छ । यसमा ६५ जनाले नियमित शुल्कमा पढ्न पाउने छन् । नियमित शुल्क ४१ लाख ५६ हजार लिन पाउने समितिको सिफारिस छ । व्यावसायिक सिट ३८ वटा निर्धारण गरिएको छ । ‘वैदेशिक वा नेपाली अतिरिक्त शुल्कतर्फका विद्यार्थीबाट मात्र लगानीकर्ताले प्रतिफल हासिल गरी लगानीको सुरक्षा र योगदानको प्रतिफल प्राप्त गर्नुपर्ने भएकाले यो संख्यालाई व्यावसायिक सिटमा गणना गरिएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो सिटमा अध्ययन गर्न चाहने अतिरिक्त शुल्क समूहको योग्यता क्रममा रहेका नेपाली विद्यार्थीको हकमा लागत रकम ४१ लाख ५६ हजारमा थप ५० प्रतिशत अतिरिक्त लिने व्यवस्था गर्नुपर्ने छ ।’ यसअनुसार नेपाली विद्यार्थीले ६२ लाख ३४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । विदेशी विद्यार्थीले यो सिटमा अध्ययन गर्न ६६ लाख ५० हजार तिर्नुपर्ने हुन्छ ।
एक सय सिट निर्धारण सबैभन्दा महँगो पर्नेछ । यसमा नियमित शुल्कतर्फका विद्यार्थीले कम शुल्कमा अध्ययन गर्ने वातावरण सुनिश्चित गर्न ४५ लाख ७० हजारमात्रै लिन पाइने समितिले औंल्याएको छ । यसमा नियमित शुल्क तिर्नेका लागि ५७ सिट छुट्टयाउनुपर्ने हुन्छ । यस्ता कलेजमा १० जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन् । लगानीकर्तालाई नाफा कमाउने व्यावसायिक सिट ३३ वटा छुट्टयाइएको छ । यसमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीले ६६ लाख ५५ हजार र विदेशी विद्यार्थीले ७३ लाख १२ हजार तिर्नुपर्ने हुन्छ । यो खबर आजको
कान्तिपुरमा छ ।

Published on October 3, 2016 at 8:54 pm

Loading...

यसमा तपाइको मत