प्रोफेसर रामेश्वर भन्डारी नेपाल सरकारबाट साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दुत नियुक्त

गोकुल ढकाल, लस एन्जलस, अमेरिका ।

नेपाल सरकार, नेपाल पर्यटन बोर्डले ग्रेटर लस एन्जलस क्षेत्रका सक्रिय सामाजिक अभियान्ता प्रोफेसर रामेश्वर भन्डारीलाई साउदर्न क्यालिफोर्निया क्षेत्रका लागि पर्यटन दुत नियुक्त गरेको छ । नेपाली समुदायको बढ्दो आकर्षण क्यालिफोर्निया र विश्वको व्यापारिक मुटु लस एन्जलस क्षेत्रमा नेपाली धर्म, संस्कृति, परम्परा र पर्यटन विकासका लागि सहयोग पुग्ने अपेक्षाले नेपाल सरकारको तर्फबाट प्रोफेसर भन्डारीलाई पर्यटन दुत नियुक्त गरिएको कुरा नेपाल पर्यटन बोर्डले जनाएको छ ।

व्यापार, मनोरन्जन र मौसमको मायावी सहर लस एन्जलस, विश्वको प्रख्यात चलचित्र नगरी हलिवूड र यस क्षेत्रमा बढ्दो नेपाली उपस्थिति, नेपाली समुदायको बढ्दो सामाजिक सकृयता, अमेरिकामा नव-आगन्तुक नेपालीहरूको आकर्षणको पहिलो रोजाई लस एन्जलस हुन पुगेको छ । यस् क्षेत्रमा आफ्नै स्वामित्वको नेपाली मन्दिर, विवादरहित नेपाली समाज, ब्यस्तताका वाबजुद सहभागितामा एकता बोकेको ग्रेटर लस एन्जलस क्षेत्रमा नेपाली समुदायको उपस्थिति र आपसी हातेमालो अभियानले जन्मभुमी नेपालको पर्यटन विकासमा प्रखर पत्रकार र प्रोफेसर भन्डारीको नियुक्तिले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक आस जागेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नवनियुक्त पर्यटन दुत भन्डारी क्यालिफोर्निया विश्वविद्धालय, लस एन्जलसबाट अङ्ग्रेजी विषयमा स्नातकोत्तर हुनुहुन्छ । हाल क्यालिफोर्निया विश्वविद्धालय लस एन्जलस र लस एन्जलस कम्युनिटी कालेज डिस्ट्रिक्ट अन्तर्गतको दुई कलेजमा अध्यापनरत हुनुहुन्छ । नेपालमा त्रिभुवन विश्वविद्धालयमा अङ्ग्रेजी विषयका प्राद्धापक श्री भन्डारी विगत सात वर्षदेखि लस एन्जलस क्षेत्रमा नेपाली समुदायमा सक्रिय हुनुहुन्छ ।

पत्रकारिता विषयको बि ए तहका ब्याज टपर भन्डारी नेपालमा द हिमालयन टाईम्स र स्पेस्टाईम टुडे अङ्ग्रेजी दैनिक अखवारहरुमा सह-सम्पादक हुनुहुन्थ्यो । हाल अङ्ग्रेजी शिक्षकहरूको अन्तरराष्ट्रिय सङ्गठनका सदस्य श्री भन्डारी लस एन्जलस क्षेत्रमा विभिन्न अखवार र सामुदायिक संस्थामा संलग्न हुनुहुन्छ ।

प्रवासी नेपाली समुदायिक इतिहासको एउटा नमुना श्रीपशुपतिनाथ फाउन्डेशनका वर्तमान सचिव नव-नियुक्त पर्यटन दुत भन्डारी आफ्नो निष्कलंकित छवि, प्रस्ट वाक-शैली र फाउण्डेशन मार्फत अनवरत सामुदायिक सेवाका कारण छोटो समयमै नेपाली समुदाय बिच चर्चित हुनुहुन्छ । रुंपैया- पैसा वा धन भन्दा निर्मल मनले निरन्तर आफुसक्दो गरिने सामुदायिक सेवा नै आफ्नो धर्म सम्झने श्री भन्डारी श्रीपशुपतिनाथ फाउन्डेशन प्रवेश पश्चात् सो संस्थाका हरेक गतिविधीहरुको पारदर्शिता र निरन्तर रूपमा गरिएको यथार्थ सम्प्रेषणका कारणले पनि छोटो समयमै चर्चित हुनुहुन्छ ।

मेन्स्ट्रिम पत्रकारिताका प्रखर पत्रकार, अङ्ग्रेजी विषयका बिद्धार्थी हुँदै वर्तमानमा सोही विषयका प्राद्धापन पेसा, निरन्तर निस्स्वार्थ सामाजिक सेवाको संलग्नता र व्यापार, चलचित्र र मनोरन्जनको मायावी सहर लस एन्जलस क्षेत्रबाट सम्पूर्ण तर्फबाट निपूर्ण व्यक्तित्वको मनोनयनले नेपाल सरकार र नेपाल पर्यटन बोर्डप्रति साउदर्न क्यालिफोर्निया र ग्रेटर लस एन्जलस क्षेत्रको गौरवका रूपमा नव-नियुक्त पर्यटन दुत श्री भन्डारीलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना !

Published on October 1, 2016 at 9:08 am

Loading...

यसमा तपाइको मत