गैरसरकारी संस्थाका कार्यक्रम सम्वृद्धिमुखी हुन आवश्यक छ-शंकर पोख्रेल

दिनेश ठाकुर- नेपालगन्ज १४असोज

नेकपा एमालेका नेता तथा पुर्वमन्त्री शंकर पोख्रेलले गैरसरकारी संस्थालाई सम्वृद्धिको अभियानमा साथ दिन आग्रह गरेका छन् ।
गैरसरकारी संघ संस्थाले गर्दै आएको अधिकारमुखी कार्यक्रम अब करिब पुरा भईसकेको छ, ईन्रुडेक बाँकेको ९ औं अधिवेशन तथा १९ औं साधारणसभाको शुक्रबार कोहलपुरमा उद्घाटन गर्दै एमाले नेता पोख्रेलले भने,– अब गैरसरकारी संस्थाका कार्यक्रम सम्वृद्धिमुखी हुन आवश्यक छ ।

पछिल्लो समय मुलुकमा सम्वृद्धिका लागि आर्थिक विकासमा जोड दिइएको भन्दै उनले सहयोगका लागि गैरसरकारी संस्थालाई आग्रह समेत गरे ।

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको विगतको सरकारले ५ बर्षमा दुईअंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको
बताए ।

ईन्रुडेकका अध्यक्ष धर्मलाल रोकायको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटनमा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइराला, नेकपा माओवादी बाँकेका संयोजक आईपी खरेल, महिला उपकार मञ्चका अध्यक्ष शान्ति ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

अधिवेशनले धर्मलाल रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

यसैबीच नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेल शुक्रबार कोहलपुर नौवस्तामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।

Published on September 30, 2016 at 10:42 am

Loading...

यसमा तपाइको मत