दक्षिण कोरियाबाट सिक्ने कि ?

मुरारीप्रसाद खरेल, डा. टीकाराम पोखरेल (दक्षिण कोरियाबाट)

Published on September 30, 2016 at 8:29 am

2-writers

छ दशक अगाडिसम्म विश्वमा दक्षिण कोरियाको स्थान गरिब राष्ट्रहरुमध्ये आठौँमा थियो । आज दक्षिण कोरियाको स्थान गरिब राष्ट्रलाई अनुदान दिने मुलुकहरुमध्ये आठौँमा छ । जुन बेला दक्षिण कोरिया चरम गरिबीमा थियो त्यसबेला नेपालबाट समेत दक्षिण कोरियामा उपभोग्य सामान निर्यात हुन्थ्यो, आज नेपाल दक्षिण कोरियामा कामदार पठाइ रेमिट्यान्स भित्र्याउन्े प्रमुख मुलुहरुमध्ये एक बन्न पुगेको छ । रेमिट्यान्सले धानेको नेपालको अर्थतन्त्रको एउटा हिस्सा दक्षिण कोरिया पनि बन्न पुगेको छ ।

दोस्रो विश्वयुद्धमा जापानको पक्षबाट लडेको दक्षिण कोरिया विश्वयुद्धपश्चात् सन् १९४५ मा जापनिज उपनिवेशबाट मुक्त भएको हो । उपनिवेशबाट मुक्त भएलगत्तै कोरिया उत्तर र दक्षिण गरी दुई कोरियामा विभाजित भयो । १९४५ देखि ४८ सम्म अमेरिकी सैनिक सरकारबाट शासित दक्षिण कोरियामा १९४८ मा गणतान्त्रिक सरकार स्थापना त भयो । तर सन् १९५० देखि ५३ सम्म भएको उत्तर कोरिया र दक्षिण कोरिया बिचको युद्धले दुवै कोरियालाई थप तहसनहस बनायो । एकातिर विभक्त र अर्कोतर्फ युद्धको चपेटामा परेर दयनीय अवस्थामा पुगेको मुलुकको आजको अवस्था हेर्ने हो भने त्यो विश्वकै लागि अनुकरणीय बन्न पुगको छ । युद्धबाट क्षतिग्रस्त भएपश्चात् विकासविद्हरु अब १०० वर्षमा पनि दक्षिण कोरिया माथि उठ्न नसक्ने विश्लेषण गर्थे तर त्यो विश्लेषणलाई गलत साबित गर्दै ५० वर्षमै दक्षिण कोरियाले विश्वका विकसित मुलुकको सूचीमा आफ्नो नाम दर्ज गरायो ।

दोस्रो विश्वयुद्ध अगाडिको इतिहास हेर्ने हो भने दक्षिण कोरिया जापानी राजनीतिको क्रिडास्थल थियो । विश्वयुद्ध पछि जापानी उपनिवेशबाट मुक्त भएपछि पनि अमेरिकी प्रभावबाट दक्षिण कोरिया मुक्त भएन । तर विश्व राजनीतिको जतिसुकै प्रभाव परे पनि दक्षिण कोरिया विकासको पथबाट कहिल्यै विचलित भएन । सङ्कटलाई शक्तिमा बदल्नुपर्छ भन्ने उदाहरण दक्षिण कोरिया बन्यो । संभवतः दोस्रो विश्वयुद्ध नभएको भए दक्षिण कोरिया दुई भागमा विभक्त हुने थिएन होला तर जापनिज उपनिवेशबाट पनि मुक्त हुने थिएन । आज पनि दक्षिण कोरिया जापनिज दासत्व स्वीकारिरहेको हुने थियो कि ? दोस्रो विश्वयुद्धको विनासको लीलाबाट विकासको पाठ सिक्ने थोरै मुलुकमध्ये दक्षिण कोरिया अग्र स्थानमा रह्यो ।

दक्षिण कोरियाको विकासमा ३ कुराले महत्त्वपूर्ण भूमिका खेल्यो । पहिलो सरकारको विकास नीति, दोस्रो वैदेशिक सहयोग, तेस्रो जनताको सहभागिता र विकासमा प्रतिस्पर्धा । जब दुई कोरियाको युद्धबाट दक्षिण कोरिया तहसनहस भयो तब त्यहाँ त्यस्तो सरकारको आवश्यकता महसुस गरियो जसले दु्रतत्तर विकासको नीति ल्याओस् । युद्ध पछिका सरकारहरुले विकासका विभिन्न मोडलहरु ल्याए । खास गरी सन् १९६१–७९ मा पार्क चुङ लिई दक्षिण कोरियाको राष्ट्रपति भएपछि उनको आर्थिक विकास नीतिले तीव्र गति लियो । त्यसैले दक्षिण कोरियालीहरु पार्क चुङ लिलाई दक्षिण कोरियाली विकासका पिता मान्छन् । पार्क चुङ लिई ले आफ्ना विकासका नीतिहरू कार्यान्वयन गर्न केही कठोर कदमहरू पनि चाले । उनका ती कदमहरुले नै आज विश्वका सामु दक्षिण कोरियालाई चिनायो ।

युद्धको चपेटामा परेपश्चात् दक्षिण कोरियामा चरम गरिबीको चरण आयो । दक्षिण कोरियाको विनाससँगै अन्तर्राष्ट्रिय आर्थिक सहयोगले पनि अघिल्लो समयमा पर्याप्त भूमिका खेल्यो । अमेरिका, जापान, युरोपियन मुलुक र अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरूले दक्षिण कोरियाको विकासका लागि अनुदान दिए । यो अनुदान सहयोगलाई दक्षिण कोरियाले राम्ररी सदुपयोग ग¥यो । त्यसैले प्रारम्भमा अनुदान सहयोगबाट विकास भएको दक्षिण कोरिया आज अन्य देशको विकासका लागि अनुदान दिन सक्ने भएको छ । त्यसो त दक्षिण कोरियाको विकासमा सबैभन्दा ठुलो योगदान नै दक्षिण कोरियाली जनताको छ । जनताको साथले मात्र दिगो विकास सम्भव छ भन्ने कुराको उदाहरण दक्षिण कोरिया बन्न पुगेको छ । जनताको मेहनतकै कारण दक्षिण कोरिया विश्वको उदीयमान अर्थतन्त्रमा परिणत भएको छ । विकसित मुलुकहरूको सङ्गठन जी २० मा यतिबेला दक्षिण कोरिया सदस्य राष्ट्र बनिसकेको छ ।

आज विश्व अर्थतन्त्रको एक हिस्सा बनेको दक्षिण कोरियाको विकास मोडल संसारका लागि अनुकरणीय बनेको छ । सरकारको सही नीति, स्वदेशी तथा विदेशी सहयोग, स्रोत र साधनको सही सदुपयोग र जनताले मेहनत गर्ने हो भन्ने विकासका लागि अरू धेरै विचार र सिद्धान्तको जरुरत पर्दैन भन्ने उदाहरण दक्षिण कोरिया हो । आज कतिपय गफाडीहरु प्रजातन्त्रलाई विकासको पूर्वसर्त भनेर राजनीति भजाउँछन् तर दक्षिण कोरिया विकासलाई प्रजातन्त्रको पूर्वसर्त भन्छ । प्रजातन्त्रले विकास हुने होइन, बरु विकासले प्रजातन्त्र टिकाउँछ । विकासले नै राजनीतिलाई डो¥याउँछ र विकसित राष्ट्रमा नै मानव अधिकारको पूर्ण प्रत्याभूति हुन्छ भन्ने कुरा दक्षिण कोरियाबाट सिक्न सकिन्छ ।

दक्षिण कोरियाले शिक्षामा ठुलो लगानी गरेको छ । कुनै समय कोरियाको ठुलो सङ्ख्या अध्ययनका लागि अमेरिका जान्थ्यो । अमेरिकामा पढ्ने अन्य मुुलकका विद्यार्थीहरुमा कोरियाली थिए । आज विश्वको ठुलो जनसङ्ख्या सूचना प्रविधिलगायतको प्राविधिक शिक्षाका लागि दक्षिण कोरिया धाउँछ । दक्षिण कोरियाको झन्डै शतप्रतिशत जनसङ्ख्या शिक्षित छ । शिक्षत जनशक्तिको सदुपयोग पनि गरेको छ । उद्योगधन्दाको विकासमा छलाङ मारेको छ । आज दक्षिण कोरिया अनुदानदाता मात्र होइन विश्वका गरिब मुलुकहरूको लागि रोजगारदाता समेत बनेको छ । विश्वप्रसिद्ध सामसुङ, हुण्डाइ, एलजी जस्ता कम्पनीहरू दक्षिण कोरियामा स्थापित भएका छन् । दक्षिण कोरिया सूचना प्रविधिमा विश्वकै महाशक्ति राष्ट्र मानिने अमेरिकाभन्दा पनि अगाडि छ । सूचना प्रविधिमा विश्वको केन्द्रविन्दु दक्षिण कोरिया बनेको छ । विश्वमै सबैभन्दा उच्च गतिको इन्टरनेट भएको देश दक्षिण कोरिया हो । ९० प्रतिशत दक्षिण कोरियाली जनतामा इन्टरनेटको पहुँच छ । दक्षिण कोरियाको दैनिक गतिविधि सूचना प्रविधिबाट चल्छ । डिजिटल दैनिकी छ भन्दा अत्युक्ति हुँदैन । उच्चस्तरीय सुरक्षा प्रवन्ध छ । तर त्यो सुरक्षा व्यक्तिले भन्दा प्रविधिले गर्छ ।

मुलुक बने जनता बन्ने कि जनता बने मुलुक बन्ने भन्ने पनि आधुनिक विश्वमा बहसको विषय बनेको छ । तर दक्षिण कोरियाले मुलुक बने जनता बन्छन् भन्ने उदाहरण पेस गरेको छ । कोरियामा सन् १९५० मा प्रतिव्यक्ति आय अमेरिकी डलर ६३ रहेकोमा सन् १९७० मा आइपुग्दा १००० पुग्यो । सन् २००० मा वृद्धि भएर २०००० पुगेको प्रतिव्यक्ति आय अहिले ३७००० अमेरिकी डलर छ । सुन्दा पत्याउनै नसक्ने यो द्रूतत्तर आयवृद्धि दक्षिण कोरियाली जनताको छ । तर सँगै विभक्त भएको उत्तर कोरियाका जनताको जीवनस्तर निकै कष्टकर छ, जो पहिले दक्षिण कोरियाभन्दा समृद्ध थियो । अहिले दक्षिण कोरिया विश्वमा विकासमा प्रतिस्पर्धा गरिरहेको छ भने उत्तर कोरिया अस्त्र शस्त्र र शक्तिको प्रतिस्पर्धा गर्न खोजिरहेको छ । दक्षिण कोरियाको राजनीति जनमुखी छ उत्तर कोरियाको राजनीति सरकारमुखी (सत्ता केन्द्रित) छ । दक्षिण कोरियासँग अहिले पनि विभाजनको पीडा छ तर पनि विकासले त्यो पीडामा केही हदसम्म मलम लागेको छ ।

नेपाल जस्तो विकाशाोन्मुख मुलुकले दक्षिण कोरिया जस्तो विकसित मुलुकबाट सिक्ने धेरै कुराहरू छन् । नेपालले दक्षिण कोरियामा कामदारहरु पठाएर रेमिट्यान्स भित्र्याउने मात्र होइन, दक्षिण कोरियाको विकासको मोडल भित्र्याउन सक्नुपर्छ । दक्षिण कोरियाको विकासको रहस्यलाई आत्मसात गर्न सक्नुपर्छ । खास गरी दक्षिण कोरियाली विकासका ३ आधार सरकारको नीति, वैदेशिक सहयोग र जनताको सहयोगलाई नेपालको विकास मोडलका रूपमा अवलम्बन गर्न सकिन्छ । अहिले नेपालमा वैदेशिक सहयोगको बाढी लागेको छ । तर सही रूपमा सदुपयोग हुन सकेको छैन । नेपाली स्रोतमा त भ्रष्टाचार छ नै वैदेशिक सहयोगमा समेत भ्रष्टाचारको जालो लागेको छ । यसको नियन्त्रण आवश्यकता छ । देश विकासको लागि हामीकहाँ जनशाक्तिको अभाव छैन । ठुलो सङ्ख्यामा रहेको वेरोजगार जनता जति पनि मेहनत गर्न तयार छन् । अब आवश्यकता छ त मात्र दूरदर्शी विकास नीतिको र पार्क लिई जस्ता दूरदर्शी नेतृत्वको ।

नेपालको विकासमा सबैभन्दा ठुलो खाडल नै सरकारी नीतिको छ । राज्यसँग विकासको ठोस नीति छैन, मात्र टालटुले नीति छ । स्थिर सरकार छैन । सही नेतृत्वको विकास हुन सकेन । राजनीतिक नेतृत्वसँग दुरदृष्टि छैन । देशको लागि भन्दा पनि पार्टीको लागि राजनीति गर्ने र पार्टीको लागि भन्दा गुटको राजनीति गर्ने र अझ त्यसबाट पनि सङ्कुचित हुँदै व्यक्ति केन्द्रित राजनीति गर्ने परिपाटी बढ्दो छ । यसो हुँदा देश चाहिँ पछि पर्दैछ । देशको यो नियतिबाट मुक्त हुन हामीले खास गरी राजनीतिक नेतृत्वले दक्षिण कोरियाको विकास मोडलबाट केही सिक्ने हो कि ?

Loading...

यसमा तपाइको मत