प्रवासमा नेपाली पत्रकारिता– नारायण श्रेष्ठ

नारायण श्रेष्ठ

Published on September 26, 2016 at 12:58 pm

narayan-sh

तपाइहरू धेरैलाई लागेको हुनसक्छ, मिडिया भनेको, पुरानो नेपाली गीत जस्तोः माया (मिडिया) बैगुनी, नभै नहुने । सम्पूर्ण समाज र मिडियाको सम्बन्ध यस्तो नहुन सक्छ, तर समाजका कति सदस्य जसलाई मिडिया चाहिन्छ, मिडियाको नजिक हुन चाहन्छन, मिडियाम पहुँच राख्नपर्छ; उनीहरू र मिडियाको सम्बन्ध त्यस्तै हुन्छ । भए पनि नहुने, नभए पनि नहुने भने जस्तो ।

मिडिया अभ्यासको लामो समयपछि सञ्चार र समुदायका सदस्यहरुबीचको यो भेद मैले बुझेको हुँ । आम रूपमा हेरिने वा पढिने मिडिया कन्टेन्ट र त्यसको कन्जुमर बिचको सम्बन्धलाई मात्रै लिएर मैले यो कुरा गरिरहेको छैन ।

भेट हुँदा मानिसहरू सञ्चार, त्यसको भूमिका र मिडियाकर्मीको प्रशंसा पनि गरिहाल्छन । भित्र, मानिसहरू पत्रकारसित कि त डराउँछन, कि त्यही डरका कारण घृणा गर्छन् । साँच्चै मिडियालाई भित्रबाट मन पराउने, प्रशंसा गर्ने नेता नीति निर्माता तपाईँले कमै भेट्नुहुन्छ । मानिसहरूलाई अक्सर प्रशंसा मन पर्छ । आफ्नो वाही वाही मन पर्छ । मिडियाले संघै नेताको, कर्मचारीको गुणगान त गाउँदैन । उनीहरूका कतिपय नियतमाथि प्रश्न पनि उठाउँछ । सायद यसैले होला, उनीहरू भित्रैबाट मिडियाको भलो चाहन्नन । मिडियाका बारेमा बाहिर जति राम्रा कुरा गर्छन् त्यो देखाउने दाँत मात्र हो ।

पत्रकारितामा मेरो प्रवेश एउटा कुरा बुझ्ने जासो र हुट्हुटिले भएको हो । जागिर खोज्दै जाँदा पत्रिकाको ढोका ठोक्किएर वा साथीहरूको लहै लहैमा लागेर गरी हालुँ न त यो काम भनेर सुरु भएको हैन । स्कुल पढ्दादेखि नै मलाई समाचारहरुमा रुचि थियो- किनभने मेरो घरमा शान्ति मिसनमा लेबनान पुगेका नेपाली सेनाका जमदारले ल्याईदिएको जापनिज मेड २ व्याण्ड पानासोनिक रेडियो आईपुगेको थियो । बाले त्यसलाई कपडाको खोल हालेर चिटिक्क पार्नुभएको थियो । त्यो पिँढीमा बस्दा थामको किलामा र खाना खान भित्र बस्दा दलिनको किलामा झुण्डिन्थ्यो । त्यो रेडियो मेरो सबभन्दा नजिकको साथी थियो । त्यसले मलाई समाचारप्रति रुचि जगाईदियो । र म राजनीतिमा रुचि राख्ने भएँ । पिता जर्ज बुशले इराक आक्रमण गरेको मैले त्यही रेडियोबाट थाहा पाएको हुँ ।

समाचारहरु सुनिरहंदा मलाई देश कसरी चल्छ ? के गर्ने नगर्ने भनेर निर्णय कसले गर्छ ? कसरी हुन्छ निर्णय ? भन्ने लागिरहन्थ्यो । त्यस्ता कुराहरूको तिलस्मी कल्पनाले मलाई खुब गाँजीरहेको हुन्थ्यो । त्यसै बेला हो मलाई राजनीति प्रति रुचि बढेको । यद्यपि म त्यो सोच्दा देशमा संवैधानिक राजतन्त्र थियो ।

स्कुल सकेर पढ्न राजधानी छिर्दा पनि मलाई त्यही कुरा जान्ने ध्याउन्न थियो । मैले रोजें – पत्रकारिता ।

पत्रकारिताको औपचारिक अध्ययन सुरु भयो । पेशागत अभ्यास पनि त्यसैबेलादेखि हो सुरु भएको । पत्रकारिताबाट म जान्न चाहन्थें देश कसरी चल्छ ? त्यो जान्ने मिसनले म यो पेसामा आएँ । रेडियोमा काम गरेँ । टिभीमा काम गरेँ । देश भित्र र देश बाहिरका धेरै नेपालीलाई भेटें, कुरा गरेँ ।

देशको लगभग सबै भेग पुगें । मलाई अहिले पनि याद छ कुन नदी कताबाट बग्छ ? राजमार्गको कुन चिया दोकानमा रङ्ग कडा चाय, चिनी कडा चाय पाइन्छ । माछा फ्राइ र सुकुटीको कुरै गर्नु पर्ने । लोकल ठर्राको स्वाद चैँ म दाबी गर्न सक्दिन ।

बिबिसी छोड्ने बेला यसो फर्केर हेरेँ – १००० भन्दा धेरै नेता नीति निर्माता र उच्च अहोदाका व्यक्तिसँग अन्तर्वार्ता, १ लाख मान्छेसंग प्रत्यक्ष कुराकानी गरेछु । त्यसले आम मानिसको अपेक्षा र चाहना के हो भन्ने बुझ्न सिकायो । उच्च अहोदाका मानिस, नीति निर्माताको बोलीमा अर्थहरु कहाँ लुकेको हुन्छ हेर्न सिकायो । सामान्यतया नीति निर्माताहरु, नेताहरू जे बोल्छन त्यो गर्दैनन, जे गर्छन् त्यो भन्दैनन । हुन्छ के भने कोही तरङ्ग निकाल्न पोखरीमा ढुङ्गा हान्छन, कोही समाचारमा छाउन ढुङगा हान्छन । कोही कतिसम्म छाल आउँछ भनेर जाँच्न ढुङ्गा हान्छन । त्यही तरङ्गको छाल र बाछिटा मिडियामा आउने हो ।

यहींनेर हुन्छ मिडियाको पावरः छाल र तरङ्ग बिचको अर्थ पर्गेलेर सही दिशा दिन सक्ने, जनमत प्रतिविम्ब गर्न सक्ने । र त्यस्तो कामले राजनीतिक प्रक्रियामै प्रभाव पार्न सक्ने । मिडियाको शक्ति त्यहीँ छ, सफ्ट पावर अर्थात् यो गर वा त्यो गर भन्न नमिल्ने तर दबाब सिर्जना गर्न सक्ने शक्ति । मिडिया र समुदायका सदस्यहरुबीचको यो सम्बन्ध नेपालमा जसरी लागू हुन्छ प्रवासमा पनि त्यसरी नै मिलेको देख्छु म ।

मेरो बुझाइमा नेपाल बाहिर, जहाँ जहाँ नेपालीहरू छन्, त्यहाँ मिडिया छ – कम्तीमा अनलाइन मिडिया चलेको छ । तर यो काम कठिन छ । यो कठिनाइका दुईतीन पाटा छनः पहिलो जो पत्रकारिता अभ्यास गरिरहेको छ, उसको खास पेसा पत्रकारिता हुन सकेको छैन । खासमा उ रहरका लागि पत्रकारिता गरिरहेको हुन्छ । अर्को जुन खबर छापिन्छ छ वा अनलाइनमा अपलोड हुन्छ, त्यसमा संस्था र व्यक्तिको नामको लर्को अर्को समस्या हो । स्वाभाविक छ मान्छे नामको भोको हुन्छ । तर नेपाल बाहिरको नेपालमा त्यो चाहान अझ बाक्लो छ । नाम त आउनै पर्‍यो, मिल्छ भने फोटोमा पनि देखिनै पर्‍यो । खासमा नेपालभित्र मोफसलको पत्रकारितामा जुन समस्या छ, प्रावासको पत्रकारिता अझ अफ्ठ्यारो खाडलमा छ । फरक यति हो प्रवासमा इन्टरनेट सुविधा मोफसल भन्दा कतिपय हदमा सजिलो होला ।

राजधानीबाट चल्ने सबै मिडिया पूर्ण रूपमा राम्रा र अरू नराम्रा छन्न भन्न खोजेको हैन । ट्रेन्ड हेर्दा के देखिन्छ भने राजधानीबाट चल्ने केही मिडिया बाहेक अरू आर्थिक दृष्टिले कमजोर छन् । यस्तो समस्या प्रवासमा झन टड्कारो छ । औंलामा गन्न सकिने केहीलाइ छोडेर प्रवासबाट चल्ने कुनै पनि प्रिन्ट, अनलाइन वा रेडियो टिभी आफैँ उभिनसक्ने अवस्थामा छैनन् । व्यक्तिगत तुष्टी पुरा गर्ने वा कुनै व्यापारी, ठेकेदारको सीमित स्वार्थको घेराबाहिरबाट उभिनसक्ने हैसियत कमैले बनाउन सकेका छन् । त्यसबाहेक अघि पनि भनिहालें, पत्रकार आफैँ पनि व्यावसायिक हुन सकेको छैन । किनभने घरव्यवहार धान्न उ अर्कै कुनै पेसा गर्न बाध्य छ । सायद प्रवासको पत्रकारितालाई धान्न सक्ने नेपाली मूलका व्यावसयीहरुको विकास हुनै बाँकी छ । तर एउटा कुरा चैँ पक्का हो संसारको जुन जुन ठाउँमा नेपाली समुदाय बढ्दै जान्छ, त्यहाँ कम्तीमा एउटा अनलाइन पोर्टल चल्नेछ । त्यसले त्यो सहरमा रहने नेपालीहरू बिच सम्बन्ध सेतुको काम गरिरहेको हुनेछ ।

Loading...

यसमा तपाइको मत