अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

अस्टिनबासी नेपालीलाई दशैं-तिहारको शुभकामना बाँढ्दै गायक शिव परियार

बिआरटीनेपाल २०७४ असोज ८ गते ४:०३ मा प्रकाशित

नेपाली सङ्गीत क्षेत्रका अत्याधिक लोकप्रिय गायक शिव परियारले अमेरिका स्थित टेक्ससको राजधानी अस्टिनमा रहेका नेपालीहरुसंग दसैँ तिहारको रौनक साटेका छन् । शुक्रवार टेक्ससको राजधानी अस्टिनमा सम्पन्न हिन्दुहरूको महान् चाड दसैँ तिहार विशेष सांस्कृतिक साँझका लागि अमेरिका आएका गायक परियारले आफ्नो प्रस्तुतिसँगै नेपालीहरुसंग दसैँ तिहारको शुभकामना र खुसी साटेका हुन् ।

अस्टिनमा रहेका नेपालीहरूको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स) को आयोजनामा सम्पन्न कार्यक्रममा शिव परियारले गालैको कोठी, रुपैली रानी, नबोले नि झिमझिम गर्ने, पिउँदिन भन्दा भन्दा भन्दै, क्या दामी भो लगायतका गीतहरू सुनाउँदा तातेको माहौलमा स्थानीय कलाकारहरूको नृत्यले दर्शकहरुलाई थप उत्साहित बनाएको थियो ।

नेपाली र अमेरिकी बालबालिकाको राष्ट्रिय गानबाट सुरु गरिएको कार्यक्रममा बिनिता थापाले शास्त्रिय नृत्यमा दुर्गा बन्धना प्रस्तुत गरेकी थिइन् भने आयोजक संस्था ग्यान्सका अध्यक्ष देवराज न्यौपानेले कार्यकमको पृष्ठभूमि, उद्धेश्य लगायत संस्था काम र योजना बारेमा आफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रममा स्थानीय कलाकार सईच्छा श्रेष्ठले सुर्के थैली खै, कृपा कार्की र सेफिया चुडालले नाईलनको सारिमा, चन्द्रा देवीका अन्जना लिला र शान्तिको संयुक्त नृत्य चरी जस्तै उड्न पाए, शेलिशिया सेनले कति राम्रो, श्रेया खतिवडा र तिस्ता तिम्सिनाले कति राम्रो, दक्षिणा र दर्शना थापाले नरिसाउ मितिन ज्यु, डिम्पल अधिकारी र स्वप्निल भुजेलले सुन सुन सनम, रेणुका तिम्सिनाले छिटको सारी, रेचल तिम्सिना र आसिका पैडेलले काले दाइ र यो हो मेरो प्राण भन्दा प्यारो, अनुसा र आस्था आचार्य आमाले गर्ने माया लगायतका गीतहरुमा नृत्य प्रस्तुत गरेको कार्यक्रममा सुभास थापा निर्देशित नाटक दसैँ एक्सप्रेश पनि मञ्चन गरिएको थियो । नाटकमा निर्देशक थापासंगै नारायण पुरी, बिदुर खतिवडा, भुपेन्द्र न्यौपाने, रबिन पिया लगायतको अभिनय रहेको थियो ।

कार्यक्रममा सहभागिता जनाएका गायक परियार सँगै वरिष्ठ चलचित्रकर्मी नारायण पुरी, चलचित्र निर्देशक उदय सुब्बा, संचारकर्मी रबिन पिया, नाटक निदर्शेक तथा कलाकार सुवास थापालाई आयोजकको तर्फबाट प्रशंसापत्र वितरण गरिएको थियो ।

कार्यक्रममा आभा शर्माको गिती एल्बमको बिमोचन गायक शिव परियार र चलचित्र निर्देशक उदय सुब्बाले गरेका थिए । सो कार्यक्रलाई धर्मानन्द गौतम र बिनिता थापाले सञ्चालन गरेका थिए भने अनलाइन मिडिया बिआरटी नेपाल डटकमले कार्यक्रममको प्रत्यक्ष प्रसारण गरेको थियो । फोटो: रविन पिया 


प्रतिक्रिया