अन्त्येष्टि संस्कार सुधारको प्रश्न

- कमल रिजाल

केही समययता अन्त्येष्टि संस्कार सुधारबारे जोडदार बहस चल्दै आएको छ । अन्य सञ्चार माध्यममा यसबारे जे जति चर्चा भइरहेका छन् त्योभन्दा बढी सामाजिक सञ्जालका भित्ताहरू रङ्गीन पुगेका छन् । हालै नेपाल प्रज्ञा–प्रतिष्ठानको समाजशास्त्र विभाग र जनसांस्कृतिक प्रतिष्ठानले संयुक्त गोष्ठी गरे । अधिकांश व्यक्ति संस्कार सुधार गरी समय सापेक्ष बनाउनुपर्छ भनिरहेका छन् भने केही व्यक्ति तथा धार्मिक सङ्घसंस्था त्यसो गर्नुहुन्न, यसले सामाजिक विखण्डन गराउन सक्छ भनिरहेका छन् । केही सुनियोजित प्रहारको आँखाले हेर्ने पनि भेटिएका छन् । अझ केही त मन्त्री आफैँ टिप्पणी–आदेशद्वारा भाषा भ्रष्टीकरणमा उक्साउन अघिसर्ने मुलुकमा भोलि टिप्पणी– आदेशद्वारा नै संस्कार सुधार गरियो भने पनि आश्चर्य मान्नु पर्दैन भन्नेहरू समेत छन् ।

निःसन्देह बहस, छलफल तथा गोष्ठी हुनु नराम्रो होइन । सामान्य विषयमा त परिवर्तनको कुरा गर्दा विभिन्न तरङ्ग उठ्छन् भने अन्त्येष्टि कर्म संस्कार जस्तो हजारौँ वर्षदेखि जनमानसको भावनात्मक सम्बन्ध रहँदै आएको विषयमा छलफल, गोष्ठी र भाषण हुनु के नै ठुलो कुरा भयो र । निष्कर्ष आउने यस्तै खाले बहस तथा छलफलहरूबाटै हो । ‘वादे वादे जायते तìवबोध’ भन्ने त उक्ति नै छ । यथार्थ के हो भने आज अन्त्येष्टि कर्म–संस्कारप्रतिको सुधार यति बढी आवश्यक भइसकेको छ कि यदि संस्कार बचाउने हो भने ढिलो चाँडो सबैले त्यही बिन्दुमा नपुगी धर पाउँदैनन् । समयले नै सुधार माग गरिसकेको अवस्थामा कसैले रोक्न खोजेको भरमा त्यसलाई रोक्न सकिन्न ।

एकताका नेपाल अधिराज्यको संविधान २०४७ लाई विश्वकै उत्कृष्ट संविधान भनिन्थ्यो तर त्यही संविधान १६ वर्षे जवान हुँदानहुँदै च्यातिन पुग्यो । अहिलेकै कुरा गर्ने हो भने संविधानसभाले बनाएको संविधानको समेत वर्षदिनभित्रै पहिलो संशोधन मात्र भएन दोस्रो संशोधनको पनि कुरा उठ्न पुग्यो । यस्तो अवस्थामा हजारौँ वर्षपूर्व बनेका हाम्रा संस्कार र संस्कृति सम्बन्धित पद्धतिहरूमाथि सुधारको प्रश्न उठ्नु अस्वाभाविक हुँदै होइन । धन्न पूर्वजहरूको स्नेहको गाँठो निकै मजबुत रहेछ र अहिलेसम्म टिक्यो । अब पनि त्यस्तै आँखाले हेर्न खोज्नु भनेको समयसित पौंठेजोरी खेल्नु बाहेक केही हुनै सक्दैन ।

अहिले पनि गोरखापत्रका पाठक धेरैलाई थाहा हुनुपर्छ पङ्क्तिकारले केही वर्षअघि पनि सुधारसम्बन्धी केही तर्क उठाएको थियो । त्यति बेला यसले अन्त्येष्टि कर्म–संस्कार सुधार गरी पाँच दिनमा झार्नुपर्छ भन्ने आशय व्यक्त गरेको थियो । पङ्क्तिकार अहिले पनि त्यसैमा दृढ छ र साथै यही मत नै एक दिन सर्वसम्मत हुन्छ भन्नेमा पूर्ण विश्वस्त पनि । यसै पनि वैदिक सनातनधर्मीहरूलाई थाहा भएकै कुरा हो, पहिले अन्त्येष्टि कर्म–संस्कार पूरा हुन बाह्र महिना लाग्थ्यो । पछि मात्र १२ दिनमा सपिण्डी श्राद्ध गर्ने गरी यसलाई समय सापेक्ष बनाइएको हो । अब प्रश्न उठ्न सक्छ त्यति बेला सुधार गरी सयम सापेक्ष बनाउन मिल्थ्यो भने अहिले पुनः संशोधन गरी अझ समय सापेक्ष बनाउँदा के नै फरक पर्ला र ? पद्धतिकै कुरा गर्ने हो भने पनि मानिसले नै बनाएका हुन् । त्यसलाई बनाउन न देवीदेवता आएका थिए न भूतप्रेतले सघाएका थिए ।

निश्चित रूपमा ऐन वा नियम कानुन जे भने पनि समाजको माग अनुसार बन्छन् भने माग अनुसार नै चल्छन् पनि । हरेक नियम समय सापेक्ष हुँदासम्म चल्छन् । अन्यथा कि सुधारिन्छन् कि फेरिन्छन् । उदाहरणार्थ गर्भपतनसम्बन्धी सेवालाई नै लिन सकिन्छ । हामीलाई थाहा छ एकताका धर्मशास्त्रले मात्र होइन मुलुकी कानुनले समेत भ्रुणहत्यालाई घोर पाप मान्दै निषेध गरेको थियो तर अहिले सरकार आफैँ कानुुन बनाई त्यसलाई व्यवस्थित गरिरहेका छन् । हाम्रा धार्मिक पद्धतिहरू पनि त्यस्तै हुन् । त्यतिबेलाको समाजले जे माग्यो त्यही बनाए । अहिलेका समाजले जे माग्छ त्यही बनाउनुपर्छ । पक्कै अहिलेका मानिसले बनाएका भए अन्त्येष्टि कर्म–संस्कारलाई १३ दिने जामा पहि¥याउने थिएनन् । कि पाँच दिने हुन्थे, हदै भए सात दिने ।

वस्तुतः कर्मसुधार अहिलेको आवश्यकता हो । विवाह, व्रतबन्ध, पास्नी आदिका प्रक्रियामा सुधार आइसकेको छ । पहिले यी सबै काम घरमा हुन्थे भने भतेर खाने काम बारीको पाटामा हुने गर्थे तर अहिले सबै काम पार्टी प्यालेसमा हुँदै आएका छन् । यसमा न कसैले विरोध गरेका छन् । न त्यहाँ गरिएका काम कसैले अधुरो भयो भनेर उजुर नै गरेका छन् । अधुरो भएका भए कसैको कर्म नै नचल्नु पर्ने थियो भने कसैको जायजन्म नै नभएर घर व्यवहार नै चौपट हुनुपर्ने थियो तर अहिलेसम्म कसैले पनि त्यस्तो भयो भनेका छन् जस्तो लाग्दैन । अन्त्येष्टि संस्कारकै कुरा गर्ने हो भने पद्धतिले जलाशयको कुरा गरेको छ तर हाल यस्ता यावत कार्य घर आँगनमै सम्पन्न भइरहेका छन् । यहाँ पनि न कसैले कुरा उठाएका छन् न यसैका कारण कोही कसैको पितृ नरकमा परे रे भन्ने नै सुनिएको छ । जब अरू सबै कार्यमा समयानुकूल सुधार गर्न मिल्छ भने अन्त्येष्टि संस्कारलाई मात्र समयानुकूल बनाउन नमिल्ने प्रश्नै भएन ।

हुनत पद्धतिमै मृतकलाई शुभाशुभ कर्म भोग्न अर्र्काे शरीर निर्माण गराइदिनुपर्छ, जुन काम दश दिनसम्म प्रत्येक दिन एक एकवटाका दरले दिइएका दसवटा पिण्डले गर्छ भनिएको छ भने पाँच दिनमा काम सक्ने भन्ने कुरा कसरी सम्भव हुन सक्छ भन्ने तर्क पनि उठ्नसक्छ तर बुझ्नुपर्ने कुरा के हो भने अर्को शरीर निर्माण गर्ने काम दिनले होइन पिण्डले हो । दसवटा पिण्डको कुरा उठाइसकेपछि पद्दतिकारलाई तत्कालीन परिवेश अनुसार दिन पनि दशवटैको गणना गर्दा बढी सहज लागेको मात्र हुन सक्छ । अन्यथा हलो बनाउने काठले हो भने जति दिन लागे पनि हलोसित दिनको के सम्बन्ध रहन्छ र ! हामीलाई थाहा छ पहिले पनि कहीँ कतै पाँच दिनमा अन्त्येष्टि संस्कार सक्ने गरेका उदाहरण छन् । मात्र फरक त्यति बेला नौ दिनदेखि १३ दिनसम्मको पाँच दिन लिने गरिको थियो भने अहिले प्रस्ताव गर्न खोजीको मृत्युभएको दिनबाट पाँच दिनसम्मको अवधिको हो । यसो गर्दा मृत्युभएको दोस्रो दिन उपवास बसी तेस्रो दिन वचन मिलाएर दशवटा पिण्ड दिने र चौथो र पाँचौ दिन क्रमशः षोडसी श्राद्ध तथा सपिण्डी श्राद्ध सकी शुद्धशान्तिको हवन कार्य गर्नु उपयोगी हुनेछ ।

तर, यति ठुलो काम एकाध व्यक्ति विशेषले भनेको भरमा पनि हुँदैन र कसैलाई पनि बलजफ्ती लाद्न खोज्नु पनि हुँदैन । यसका लागि मुलुकभरका सबै धार्मिक सङ्घसङ्गठन तथा व्यक्तित्वहरूको भेला गराई व्यापक छलफल गरेर सबैको चित्तबुझ्दो ढङ्गले निष्कर्ष निकाल्नुपर्छ । यसमा कसैले होइन हामी १३ दिन नै लगाउँछौं भन्छन् भने उनीहरूले सो छुट पनि पाउनुपर्छ । कसैले संस्कारै मान्दैनौं भन्छ भने उसलाई त बलजफ्ती मनाउन सकिन्न भने परम्परा अनुसार १३ दिन नै लगाउँछौं भन्नेलाई कसले हुँदैन भन्न सक्छ र । आखिर त्यसमा अडिने भनेका उनीहरू र अधिकतम भए उनीहरूका छोरापुस्तासम्म मात्र हो । नातिको पुस्तासम्म पुग्दा सबैको गन्तव्य भनेको पाँचै दिन नै हो । निःसन्देह संस्कार सुधार समयले मागिसक्यो अब यो कसैले रोकेर रोकिन्न । मात्र प्रश्न अवैधानिक तारिकाले आफैँ हुन दिने कि वैधानिक तरिका अपनाएर निकास खोज्ने भन्नेसम्म हो । जब एक दिन सबैले त्यहाँ पुग्नैपर्छ वा नपुगी धरै पाउँदैनन् भने आजै पद्धतिसङ्गत ढङ्गले बाटो किन नखुलाउने ? त्यसैले जिम्मेवार निकायले यसबारे व्यापक बहस चलाउनु पनि पर्छ र सम्बद्ध सबै पक्षले विषयवस्तु र अवस्थाको गाम्भीर्यलाई मनन पनि गर्नैपर्छ ।

आज एकथरीले जुनरूपमा संस्कार र संस्कृतिलाई अनावश्यक झन्झट र आडम्बर भन्दै लत्याउने प्रयास गरिरहेका छन् सोही रूपमा अर्काथरि त्यसैलाई भजाएर धर्मान्तरणको खेती गरिरहेका छन् । वास्तवमा यी दुवै अतिवाद हुन् । त्यसैले यसलाई रोक्न पनि संस्कार सुधारप्रति सबैको ध्यान जानै पर्ने देखिन्छ । अन्यथा हाम्रो भागमा पश्चात्ताप बाहेक केही रहने छैन । सबमा चेतना भया । गोरखापत्रबाट

Published on September 25, 2016 at 3:27 pm

Loading...

यसमा तपाइको मत