सन्तान सुख– राजन पनेरू

– राजन पनेरू

लघुकथा
मध्याह्नको समय सूर्यले आफ्नो तेज देखाइरहेको थियो । गर्मी उत्पात बढेको थियो, आकाशमा बादलको सानो चिनो सम्म पनि थिएन । हिंडीरहेको बटुवा शीतल छहारी खोज्दै चौतरीतिर उक्लियो । खलखल बगिरहेको पसिना कोप्रियको चोर औंलाले सोर्दै, ढुङ्गामा उभिएर पल्याक्क – पुलुक्क यताउता हेर्यो ।

सेतै कपाल फुलेकी वृद्ध महिला चौतारीमा बसेर कपासको बत्ती काट्दै थिइन । बटुवा वृद्धको नजिकै गएर ढुङ्गामा टुसुक्क बस्यो । वृद्धले बटुवातिर पुलुक्क हेरिन ।

–‘ओहो ! कस्तो टाउको फुट्ला जस्तो घाम !’ बटुवा बर्बरायो । —‘यस्तो घाम छ बाबु ! छाता बोकेर हिड्नु पर्छ नि !’ अपरिचित व्यक्तिप्रति वृद्धले माया दर्साइन । उनीहरू बिच कुराकानी हुन थाल्यो ।

समय काट्ने मेसो, बटुवाले सोध्यो – ‘आमा ! किन यती धेरै बत्ती काड्नु भएको ?’
मुजै मुजा परेको चेहरामा थोरै हाँसो ल्याई अझै मुझा पार्दै वृद्धले भनिन् – ‘लाख बत्ती बालेर छोराछोरीको ग्रह शान्ति गर्नु छ बाबु !’
बटुवाले कुरा तन्काउन खोज्यो – हजुरका छोराछोरी कति छन् आमा ?

कागजमाथी राखेको खरानीमा औंला चोप्दै कपास बटार्दै वृद्धले भनिन – चार भाइ छोरा, एउटी छोरी छन् ।’
बटुवाले नालीबेली जान्न खोज्यो – ‘छोरा छोरी कता छन् ? के के गर्छन् नि आमा ?

वृद्धले बेलीबिस्तार लगाइन – ‘जेठो छोरो पिएडी होकी केजाती हो गर्न अम्रीका गाको छ । माहिलो चाहिँ इन्जिनिएर भाछ काठमाण्डुमा । छोरी ज्वाईसंग अष्टिलिया गई छे । साहिलो छोरोले पढेन बाबु घरमै छ । कान्छो चाहिँ हाकीम भाछ अरे काठमाण्डु तिर !’

बटुवाले वृद्धको मन खोतल्न खोज्यो – ‘त्यतिका छोराछोरीमा साहिलो छोराले मात्र नपढेर दुःख पाएको देख्दा नमज्जा लाग्छ होला है आमा ?’
वृद्धले भनिन – ‘आफ्नै माटोमा गरी खाछ केको दुःख ! कहाँ नमज्जा लाग्नु बाबु साहिलो छोराले नपढेर झन् धेरै खुसी लाग्छ ।’
अनपेक्षित उत्तरले बटुवा अचम्ममा पर्‍यो र सोध्यो -‘किन र आमा ?’

वृद्धले भित्री रहस्य खोलिन – ‘अरू छोराछोरी धेरै पढे सहर पसे, उतै-उतै रमाए, उतै घरजम गरेर बसे, मलाई तिनले बिर्सीए बाबु ! धन्न साहिलोले पढेन गाउँमै बस्यो । साहिलोले मलाई पालेको छ । यसैले धेरै माया गर्छ, यसले पनि पढेको भए त ! यो बुढेसकालमा म एक्लै हुने थिएँ ।’

Published on September 25, 2016 at 3:17 pm

Loading...

यसमा तपाइको मत