एकअर्कालाई समाप्त पार्ने संस्कृति बन्द गरौँ – परराष्ट्रमन्त्री डा. महत

न्यु योर्क । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकामा बस्ने नेपालीहरू एकले अर्कालाई समाप्त पार्ने संस्कृतिबाट बाहिर निस्कनुपर्ने सुझाव दिएका छन् । मन्त्री डा. महतले न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयद्वारा आयोजित राष्ट्रिय दिवस कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

नेपालमा राजनीतिक दलहरू एकअर्कासँग मिल्न नसकेको प्रसङ्ग जोड्दै मन्त्री डा. महतले अमेरिकामा बस्ने नेपालीहरूले यताका राम्रा कुरा लिएर हामीलाई सिकाउनुको सट्टा उल्टै यहाँ वादविवाद गर्ने प्रचलन राम्रो नभएको अभिव्यक्ति दिए । सेप्टेम्बर २३, शुक्रवार साँझ कुइन्सस्थित चियान फेडरेसनको सभाहलमा स्थानीय नेपाली संघसंस्थाका प्रतिनिधि, पेशाकर्मी, नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदी, सार्क महासचिव अर्जुनबहादुर थापा, अमेरिकाका लागि राजदूत अर्जुनकुमार कार्कीसहित आयोजित राष्ट्रिय दिवस कार्यक्रममा मन्त्री डा. महतले नेपालको संविधानलगायत प्रवासी नेपाली अमेरिकीको विषयमा आफ्नो मन्तव्य केन्द्रित गरेका थिए ।

संयुक्त राष्ट्रसंघको महासभामा हरेक वर्ष नेपालबाट सहभागी हुन न्यु योर्क पुग्ने प्रतिनिधिमण्डलसहित अमेरिकी डायस्पोरामा यसअगाडि नेपाली नियोगले साक्षात्कार कार्यक्रम आयोजना गर्ने चलन छ । यस पटक भने महावाणिज्य दूतको छुट्टै कार्यालय स्थापना भएको पृष्ठभूमिमा राष्ट्रिय दिवसका रूपमा महावाणिज्य दूतको कार्यालयले कार्यक्रम आयोजना गरेको थियो ।

नेपाली डायस्पोराका दर्जनौं संघसंस्थाका प्रतिनिधि, पेशाकर्मी र विशिष्ट व्यक्तित्वहरुको मन्तव्यले पट्यारिलो हुने यसअगाडिका साक्षात्कार कार्यक्रमभन्दा छरितो बनाइएको थियो । कार्यक्रममा मन्त्री डा. महतले युएस एसिस्टेन्ट सेक्रेटरी अफ स्टेट एनी सी रिचार्डसँगको अनौपचारिक भेटमा आफूले टीपीएसको नवीकरण गर्न अनुरोध गरेको समेत अवगत गराए । उनले आफू पनि अमेरिकामा नै अध्ययन गरेर नेपाल फर्किएको स्मरण गर्दै विदेश बसाइँ कस्तो हुन्छ, त्यो आफूले भागेको बताए । कार्यक्रममा सांसद मोहन बस्नेत, महावाणिज्य दूत पुष्पराज भट्टराईलगायत वक्ताले मन्तव्य राखेका थिए । विश्वन्युजबाट

Published on September 24, 2016 at 12:51 pm

Loading...

यसमा तपाइको मत