कर्मबन्धनबाट मुक्ति हुने भगवान् बुद्धको तरिका भिन्दै

प्रा. ड़ा. नारायण कुँवर

मानिसले जीविकाको लागि कुनै न कुनै कर्म गर्नै पर्दछ| कर्मको नियम नजानेमा आफैले गरेको कर्म अनन्त जन्म मरणको बन्धन बन्दछ| भगवान् बुद्धले प्रतिपादन गर्नु भएको अस्टांगमार्गको अवलम्बन गर्नाले पनि कर्मको कारणबाट हुने जन्म मरणको बन्धन अर्थात् कर्मबन्धनबाट मुक्ति प्राप्त हुन्छ|

राजकुमार सिद्धार्थ गौतमलाई दरबारमा ऐस-आरामको कुनै कमी थिएन, तर पनि मानव जीवन दु:खमय रहेछ भन्ने बुझेपछि त्यसबाट मुक्ति हुने उपाय खोजी गर्नको हेतु राजप्रासाद परित्याग गर्नुभयो| विभिन्न गुरुहरुको सानिध्यमा रहेर केही समय आध्यात्मिक साधना गर्नु भयो| तर पनि त्यस बेलाको परिस्थितिमा जन्म मरणको बन्धनबाट मुक्त हुन सर्वसाधारणलाई हिन्दु धर्मको उपयुक्त साधना गर्न सहज नभएको कुरा प्रस्ट बुझ्नु भयो| त्यस बेलाका मानिसहरू शिक्षित नहुँदा शास्त्रको अध्ययन गर्न सक्ने थिएनन् | ज्ञान दिने सद्गुरुहरु पाउन पनि धेरै कठिन थियो| समाज केवल कर्मकाण्डमा जकडिएको थियो जसबाट मुक्ति सम्भव थिएन| अतएब: मुक्तिको लागि सर्बसाधरणले पनि बुझ्न र गर्न सक्ने सरल उपायको खोजी गर्न राजकुमार सिद्धार्थले एकान्त ठाउँमा बसेर ध्यान गर्नु भयो| छ वर्षको अथक ध्यानपछि पूर्णिमाको एक रात्रिमा उहाँले आफ्नो खोजीको उत्तर प्राप्त गर्नु भयो| रात्रिको पहिलो पहरमा उहाँले आफ्नो अनगिन्ती पुर्वजन्महरु देख्नु भयो| दोस्रो पहरमा मानिसको तत्कालीन जन्मको परिस्थिति उसको पूर्व जन्मका कर्मबाट निर्धारित हुने गरको र त्यसबाट उ अनन्त जन्म मरणको बन्धनमा परेको देख्नु भयो| तेस्रो पहरमा आफ्नो वास्तविक स्वाभाव नबुझेकाले मानिसले प्रत्यक जन्ममा दु:ख पाइरहेको देख्नु भयो| तत्पश्चात बाँकी जीवन आफूले प्राप्त गरेको जन्म मरणको बन्धनबाट मुक्त हुने ज्ञानको उपदेश दिनु भयो र राजकुमार सिद्धार्थ गौतमबाट भगवान् बुद्ध बन्नु भयो|

मुक्तिको लागि भगवान् कृष्णले योगको उपदेश दिनु भयो, तर भगवान् बुद्धले भने योगको कुनै प्रसङ्ग उठाउनु भएन किनभने योगको चर्चा गर्दा आत्मा, परमात्माको कुरा बुझाउन गार्हो हुन्थ्यो| आत्मा, परमात्मा निर्गुण र निराकार भएको हुँदा तत्कालीन परिवेशमा यो कुरा बुझाउन सजिलो थिएन| स्वयम् वेदका ऋषिहरुले समेतले आत्मा र परमात्माको बारेमा केवल ‘नेती, नेती’ मात्र भनेर प्रस्ट पार्न नसकेको विषय थियो| भागवद् गीतामा भगवान् कृष्णले अर्जुनलाई प्रस्ट भन्नुभएको छ – अर्जुन, तिमीले मेरो जुन रूप देखिरहेका छौ म त्यो रूप होइन, मेरो वास्तविक रूप त निर्गुण, निराकार हो| एक्काईसौं शताब्दीको शिक्षित समाजले त भगवान् कृष्णको उपदेश बुझ्न सकेको छैन, भगवान् कृष्णको उपदेश बुझ्नुको सट्टा केवल उहाँको रूपको पूजा गरेर बसेको छ| रूप पनि आ-आफ्नै हिसाबले पारीकल्पना गरेका छन्, जहाँ जस्तो रूपका मानिस बस्छन त्यस्तै रूपको…|

उदाहरणको लागि इन्डोनेसियामा कृष्णको रूप दुब्लो, पातलो र लामो जुँगा भएको छ रे किनभने त्यहाँ त्यस्तै किसिमका मानिसहरू बस्दछन्| शिक्षाको यती ठुलो विकास भइसकेको छ, यातायात र सञ्चारको सुविधाले गर्दा ज्ञान दिने सद्गुरुहरु पाउन पनि धेरै सहज भइसकेको छ, तर पनि मानिस रूपमा अड्केको छ – कोही कृष्णको रूपमा त कोही रामको रूपमा, कोही हनुमानको रूपमा त कोही गणेशको रूपमा, अनि कोही अन्य कसैको रुपमा| त्यसैले भगवान् बुद्धले योगको कुरा केही नगरी, आत्मा,परमात्मा कुरा केही नगरी, केवल कर्मबन्धनबाट मुक्त हुने सजिलो उपाय सिकाउनु भयो| उहाँले सिकाउनु भएको उपायको नाम अष्टांगमार्ग हो जुन आज बुद्ध धर्मको नामबाट विश्व प्रसिद्ध छ| भगवान् बुद्धका अष्टांगमार्ग हुन: सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक बाणी, सम्यक कर्म, सम्यक आजीविका, सम्यक प्रयत्न, सम्यक जागृति र सम्यक ध्यान| तिनीहरूको संक्षित वर्णन यस्तो छ:-

1. सम्यक दृष्टि भनेको जे जस्तो छ त्यही वा त्यस्तै देख्नु, आफ्नो अलग धारणा नबनाउनु हो|
2. सम्यक संकल्प भनेको आफ्नो लक्ष प्राप्तिको लागि दृढताकासाथ अगाडी बढ्नु, जस्तो सुकै विषम परिस्थितिमा पनि विचलित नहुनु हो|
3. सम्यक बाणी भनेको बोलीमा पवित्रता र सत्यता हुनु, मन भित्र जे छ बाहिर त्यही बोल्नु हो|
4. सम्यक कर्म भनेको ठिक काम कर्तव्य गर्नु, सोचाईं, बोलाई र गराइमा फरक नपार्नु हो|

5. सम्यक आजीविका भनेको जे पायो त्यही पेसा नअपनाउनु, अरूको शोषण गरेर वा अरूलाई अन्याय गरेर जीविका नगर्नु हो|
6. सम्यक प्रयत्न भनेको इमान्दारीपूर्वक काम कर्तव्य गर्नु, परिणाम जे जस्तो आउँछ त्यसलाई अहोभावका साथ स्वीकार्नु हो|

7. सम्यक जागृति भनेको आफ्नो चेतनामा स्थिर रहनु अर्थात् होसमा रहनु हो|
8. सम्यक ध्यान भनेको आफ्नो कम्प र अकम्प दुवैलाई एक साथ हेर्नु हो|

अष्टांगमार्गले सम्यकतालाई जोड दिएको छ| कुनै पनि क्रियाकलाप सम्यकताकासाथ गर्नको लागि होसमा रहेर गर्नु पर्दछ| जागृति अर्थात् होस अष्टांगमार्गको अभिन्न अङ्ग हो| होसपूर्बक गरिने क्रियाकलाप संचित नहुने हुँदा अष्टांगमार्गको अवलम्बनबाट कर्मको संचित हुँदैन| सम्यक जागृति र सम्यक ध्यानबाट बुद्धत्व अर्थात् आत्मज्ञान प्राप्त हुने हुनाले संचित भएको सबै कर्म पनि मेटिन्छ| त्यसकारण अष्टांगमार्गको अवलम्बनबाट मानिस कर्मबन्धनबाट सधैंको लागि मुक्त हुन्छ|

कर्मबन्धनबाट मुक्ति प्राप्त गर्ने भगवान् बुद्धको तरिका अस्टांगमार्ग योग भन्दा भिन्दै छ| अस्टांगमार्ग बुझ्न र अवलम्बन गर्न गार्हो छैन| तर विडम्बना: कोही भगवान् कृष्णको उपदेशलाई अवलम्बन गर्नुको सट्टा उहाँको रूपको पूजामा अड्के जस्तै अन्य कोही भगवान् बुद्धको उपदेशलाई अवलम्बन नगरेर उहाँको रूपको पूजामा अड्किरहेका छन्| भगवान् कृष्ण र भगवान् बुद्ध दुवै धेरै श्रद्धनिय हुनुहुन्छ, तर उहाँहरू प्रतिको श्रद्धा वा भक्ति रूपको पूजा गरेर होइन कि उहाँहरूको उपदेशको पालना गरेर हुनु पर्दछ| रूपको पूजा मानिसले आफ्नो सुविधाको लागि गरिरहेका छन्| त्यसैले त सन्तहरुले भन्ने गर्दछन् कि मानिसले आफ्नो सुविधाको लागि सुतुरमुर्गले जस्तै गरिरहेका छन्| गर्न पर्ने कुरा नगरेर सुतुरमुर्गले जस्तै आफ्नो सुविधाको लागि अन्यथा गरिरहेका छन्; उपदेशको पालना अर्थात् गर्न पर्ने साधना नगरेर आफ्नो सुविधाको लागि केवल रूपको पूजा गरिरहेका छन्|

Published on September 22, 2016 at 10:13 pm

Loading...

यसमा तपाइको मत