त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर मानक नेपाली भाषा अभियान—२०७३ को विज्ञप्ति

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा मिति २०७३÷६÷२ मा नेपाली भाषाको वर्णविन्यासका सम्बन्धमा जारी गरिएको प्रेस विज्ञप्तिप्रति त्रिवि नेपाली केन्द्रीय विभाग, मानक नेपाली भाषा अभियान–२०७३ को गम्भीर ध्यानाकर्षण भएको छ । यस अभियानले मिति २०७३÷६÷२ का दिन नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा. देवीप्रसाद गौतम र अभियानका संयोजक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको नेतृत्वमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीसमक्ष हाम्रा स्पष्ट अवधारणा प्रस्तुत गरी नेपाली भाषाको मानक वर्णविन्यास र लेख्यरूप नबिगार्न अनुरोध गर्दै नेपाली बृहत् शब्दकोश (२०७२) को बिक्रीवितरण तत्काल बन्द गरी नेपाली बृहत् शब्दकोश (२०५८) सम्म प्रयुक्त वर्णविन्यास र लेख्यरूपलाई निरन्तरता दिन आग्रह गरेको र सो अवसरमा कुलपति तथा उपकुलपतिले पनि हाम्रो प्रतिनिधि मण्डलसमक्ष सकारात्मक अभिव्यक्ति दिनुभएकोमा उही दिन प्रतिष्ठानले भनाइभन्दा ठिक विपरीत खालको प्रेस विज्ञप्ति जारी गरेकोप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीद्वारा हस्ताक्षरित विना मितिको उक्त प्रेस विज्ञप्तिमा नेपाली बृहत् शब्दकोश (२०७२) नियमसङ्गत ढङ्गमा प्रकाशित भएको र यसमा कुनै त्रुटि नभएको, अनर्गल प्रचारहरूमा कुनै सत्यता नरहेको आदि भनी केही शब्दको उदाहरण दिएर आÏना गल्तीलाई ढाकछोप गरी आम प्रयोक्तालाई गलत सूचना प्रवाह गर्नु निन्दनीय कार्य हो । सोही विज्ञप्तिमा ‘प्रज्ञा प्रतिष्ठान भाषाविद् एवं भाषाका प्रयोगकर्ताहरूसँगको संवादका माध्यमबाट वर्णविन्याससम्बन्धी समस्या समाधान गर्न सदा तत्पर रहेको’ भन्ने कुरा उल्लेख हुनु स्वयम्मा विरोधाभासपूर्ण देखिन्छ । यस विज्ञप्तिबाट प्रतिष्ठानले जे गरेको छ ठिक गरेको छ भन्ने कुरा देखाएको छ, यदि शब्दकोशमा कुनै त्रुटि नै नभए प्रा.डा. चूडामणि बन्धुको संयोजकत्वमा तीन सदस्यीय समितिको गठनचाहिँ केका लागि गरिएको नि ?

त्रिवि नेपाली केन्द्रीय विभाग एवं थुप्रै आङ्गिक क्याम्पसहरूले समेत विज्ञप्ति जारी गरी नेपाली बृहत् शब्दकोश (२०७२) मा प्रयुक्त वर्णविन्यास र लेख्यरूपलाई अस्वीकार गरेको तथा साहित्यकार, पत्रकारका साथै आम प्रयोक्ताहरूले समेत अस्वीकार गरिसकेका सन्दर्भमा त्यसको बिक्रीवितरण बन्द गरी २०५८ को शब्दकोश पुनर्मुद्रण गरेर बजारमा ल्याउनुपर्नेमा नेपाल प्रज्ञा प्रतिष्ठानजस्तो साझा प्राज्ञिक संस्थाले हाम्रो प्रतिनिधि मण्डलसँग एउटा कुरा गरी उही दिन व्यवहारमा अर्कै रूप देखाउँदै विज्ञप्ति जारी गर्ने क्रियाकलापको हामी घोर भत्र्सना गर्दछौँ । कुनै पनि कुरामा विवाद उत्पन्न भएमा त्यसपूर्वका स्थितिमा आपैmँ फर्कनुपर्ने सामान्य सिद्धान्त हो । सबैतिरबाट चरम विरोध र स्पष्ट माग आउँदाआउँदै पनि नेपाली भाषी आम प्रयोक्ताका अभिमतलाई बेवास्ता गर्नु प्रज्ञा प्रतिष्ठानजस्तो संस्थाका लागि हितकर नभएको हाम्रो स्पष्ट दृष्टिकोण रहेको छ । अहिले २०५८ सम्मको नेपाली बृहत् शब्दकोशले अँगालेको मानक वर्णविन्यास र लेख्यरूपलाई अवलम्बन गर्नु आवश्यक र उपयुक्त भएको कुरा हामी पुनः स्मरण गराउँछौँ । अन्यथा यसबाट उत्पन्न हुनसक्ने दुष्परिणामको जिम्मेवार नेपाल प्रज्ञा प्रतिष्ठान नै हुने कुरासमेत जानकारी गराउँछौँ ।
प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
संयोजक

Published on September 21, 2016 at 6:41 am

Loading...

यसमा तपाइको मत