गीत, सङ्गीत तथा साहित्य क्षेत्रमा केही गर्न चाहन्छु- रामप्रसाद खनाल लोक दोहोरी गायक
Loading...

मनोहरि पौडेल

Published on September 21, 2016 at 6:20 am

ram-pd-khanal

रामप्रसाद खनाल नेपाली लोक दोहोरी गीतका पुराना तथा चर्चित गायक हुन् । खनालले लोक दोहोरी गीतलाई स्थापित गर्नको लागी २०५३ सालमा नेपाल टेलिभिजनबाट सोहीअनुसारको लोक दोहोरी गीतको कार्यक्रम प्रसारण गरेर यसलाई आन्दोलन कै रूपमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुर्याएँ । २०५३ सालदेखि २०६४ सम्म आइपुग्दा लोकदोहोरी गीतले नयाँ जुनी पायो । देशभर लोकदोहोरीको माहोल बनाए । लोकदोहोरी बिना न कुनै महोत्सव सम्पन्न भए न कुनै प्रदर्शनी कार्यक्रम । खनाल लोक दोहोरी गायक मात्र नभएर साहित्यकार तथा पत्रकार पनि हुन् । उनका कविता तथा गजलका गरी १६ वटा कृतिहरु प्रकाशित भईसकेका छन् भने करिब ७०० वटा कविता तथा गजलहरु लेखिसकेका छन् । एक हजार दुई सय भन्दा बढी गीत गाइसकेका र चालिस भन्दा बढी एलबम प्रकाशित गरिसकेका खनाल राष्ट्रिय एबम अन्तरराष्ट्रिय पुरस्कार, मान सम्मान पाइसकेका व्यक्ति हुन । अमेरिकाले अतिरिक्त प्रतिभावान् कलाकार, पत्रकार, साहित्यकार का रूपमा एक्स्ट्रा अर्डिनरी एबिलिटी ग्रिनकार्ड प्रदान गरेका खनाललाई नेपाल सरकार ले पनि बिशिस्थ श्रेणीका लोक दोहोरी गायक उपाधी पहिलेनै प्रदान गरिसकेको छ । खनालको गीत, सङ्गीत, कला तथा साहित्य क्षेत्रको बारेमा  मनोहरि पौडेलले गरेको कुराकानीका अशंहरुः

तपाईँ कहिलेदेखि गीत, सङ्गीत, कलाकारीता क्षेत्रमा लाग्नुभयो ?
म सानैदेखि यो क्षेत्रमा लागेको हुँ । दुई कक्षामा पढ्दादेखिका सबै क्षण सम्झिन्छु । गीत, सङ्गीत, साहित्य, कला मेरा बाल्य अवस्था देखिका अभिन्न अङ्ग हुन् ।

हालसम्म के कति गीत गाउनुभएको छ, कति कृतिहरु प्रकाशित गर्नुभएको छ ?
मैले हालसम्म ४० वटा एल्बम, सिडी, भिसिडी, डिभिडी प्रकाशित गरेको छु जुन बजारमा उपलब्ध छन् । हालसम्म करिब १२ सय लोक, आधुनिक, दोहोरी, राष्ट्रिय गीत लेखेको, गाएको छु । मेरा थुप्रै गीत रेडियो नेपाल, नेपाल टेलिभिजनमा रेर्कडेड छन् ।

तपाईँ कविता, गजल पनि लेख्नुहुन्छ, साहित्यिमा राम्रो दख्खल पनि छ, त्यो क्षेत्रमा कसरी लाग्नु भयो, केके गर्नुभयो ?
हो म गीत मात्र होइन, कविता, गजल पनि लेख्छु । हालसम्म मेरा १३ वटा गीत सङ्गीतसँग सम्बन्धित पुस्तक प्रकाशित छन् भने २ वटा आफ्नै जिन्दगीका उतार चढाबबारे र एक सय कविताको सङ्ग्रह ‘देश हराएको मान्छे’ सहित १६ वटा पुस्तक प्रकाशित छन् । करिब ७०० कविता, गजल लेखिसकेको छु ।

गीत, सङ्गीत, कला, साहित्य क्षेत्रमा लाग्ने प्रेरणा कोबाट पाउनुभयो ?
सानोमा मलाई स्कुल पढाउने गुरुहरुले ‘बाबु तैँले यो क्षेत्रमा केही गर्न सक्छस्’ भन्नुहुन्थ्यो । तर प्रेरणा भनेर ठ्याक्कै त्यस्तो छ छैन । मलाई लाग्छ आफू भित्रैबाट आएको भावनाले मलाई यो क्षेत्रमा डो¥याएको हो । यद्यमी मेरा हाइस्कुलका गुरु नारद गौतमले सानोमा मलाई मलजल गर्नुभएको कुरा म स्मरण गर्न चाहन्छु । त्यसलाई मैले व्यवस्थित गर्दै लगें ।

तपाईँ गीत, सङ्गीत, कला, साहित्य र पत्रकारिता क्षेत्रमा पनि पहिलेदेखि नै त्यत्तिकै सक्रिय हुनुहुन्छ, कुन क्षेत्रमा बढी रमाउनुहुन्छ ?
गीत, सङ्गीत, कला, साहित्य र पत्रकारिता हर क्षेत्र मेरा प्रिय र रमाउने क्षेत्र हुन् । गीत, सङ्गीत, साहित्य, कलाको कुरा गर्दा सानैदेखि र १६ वर्षको उमेरदेखि पत्रकारिता पेसा अंगाल्दै आएको छु । यी सबै मेरा अभिन्न अङ्ग बनेका छन् । म कुनैलाई पनि छाड्न सक्दिन् ।

पछिल्लोपटक नेपालमा लोकदोहोरीको क्षेत्रमा कायापलट नै गरिदिनुभयो, कसरी गनुभयो त्यस्तो बताइदिनुस् न ?
हिन्दी गीत, सङ्गीत, अङ्ग्रेजी, पप, रयापले आक्रान्त भएको देखिपछि केही त गर्नै पर्छ भन्ने भावनाले म बि.स. २०५३ सालदेखि लोक दोहोरीलाई देशव्यापी बनाउने, नेपाल टेलिभिजनबाट सोहीअनुसार प्रसारण गरेर यसलाई आन्दोलन कै रूपमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगें, पु¥याएँ । २०५३ सालदेखि २०६४ सम्म आइपुग्दा लोकदोहोरीले नयाँ जुनी पायो । देशभर लोकदोहोरीको माहोल बन्यो । लोकदोहोरी बिना न कुनै महोत्सव सम्पन्न भए न कुनै प्रदर्शनी कार्यक्रम । लोक दोहोरीको बाढी आयो । त्यसका लागि मैले कति खुन पसिना बगाएँ, केके गरेँ त्यो मेरा दर्शक श्रोताले मूल्याङ्कन गर्ने कुरा हो । म आफैँ के भनौं र !dsc06231-sized

हालसम्म के कति पुरस्कार, सम्मान पाउनुभएको छ, यी क्षेत्रमा काम गर्दा ?
२५ वर्ष लगातार पत्रकारिता गर्दा मैले प्रख्यात त्रिशक्ति पट्ट राष्ट्रिय पुरस्कार पाएको छु भने बाल अवस्थादेखि ३०÷३५ वर्षसम्म गीत, सङ्गीत, कला, साहित्यको क्षेत्रमा काम गरे बापत गोरखा दक्षिण बाहु राष्ट्रिय पुरस्कार पाएको छु । त्यस्तै अमेरिकाबाट वर्ष पुरुष सन् २००४ अन्तर्राष्ट्रिय पुरस्कार पाएको छु । यस बाहेक संयुक्त राष्ट्रसंघ, तत्कालीन श्री ५ को सरकार, विभिन्न मन्त्रालयबाट नेपालका विभिन्न स्थापित÷प्रतिष्ठित निकाय संस्थाहरुबाट करिब २ सय ५० अभिनन्दन, सम्मान र पुरस्कार प्राप्त गरेको छु । जनताबाट त्यत्तिकै सम्मान पाएँ । मैले पाएको मान सम्मान सबैको फेहरिस्त मेरो व्यक्तिगत वेब साइट रामप्रसाद खनाल डटकममा गएर हेर्न सक्नुहुन्छ । त्यसमा मेरा प्रकाशित पुस्तकहरू पढ्न र विभिन्न भिडियो पनि देख्न सक्नुहुन्छ ।

यस्तो बहुप्रतिभाशाली मान्छे अमेरिका किन बस्नुभयो ? देश किन छाड्नु भयो ?
२०६४ सालमा नेपालमा म जब आतंककारीहरुबाट अपहरणमा परें, निकै मानसिक यातना भोग्नुप¥यो । त्यसपछि मलाई लाग्यो नेपाल साच्चै शतिले श्राप गरेको देश रहेछ । अनि मरे त मरी गइयो बाँचेर केही गर्नुपर्छ भनेर अमेरिका बसाइँ सुरु गरेको हुँ । म रहरले होइन, परिस्थितिले, बाध्यताले अमेरिका बस्न थालेको हुँ । किनकि २०५२ फागुन १ देखि नेपालमा सुरु भएको हत्या, हिंसाको एक प्रकारको विजय भयो त्यसले मलाई अमेरिका बस्न प्रेरित गर्‍यो ।

अहिले के गर्दे हुनुहुन्छ अमेरिकामा ?
म अमेरिकामा बसेपनि गीत, सङ्गीत, कला, साहित्य, पत्रकारितालाई नितरन्तरता दिइरहेको छु । अमेरिका बस्न थालेकै वर्षदेखि अन्तर्राष्ट्रिय कलाकार मञ्चको संस्थापक अध्यक्षका रूपमा संसारभर यसको सञ्जाल बनाएर गीत, सङ्गीत, कला, साहित्यको लागि काम गरिरहेको छु । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसीको अध्यक्षको रूपमा पनि काम गर्दै नेपाली भाषा र साहित्यका लागि आफू सक्दो योगदान दिइरहेको छु । यसका अलावा म बाँच्नका लागि, जीवन यापनका लागि विभिन्न बिजनेस सञ्चालन गर्नै आइरहेको छु । स्टोर, ग्यास स्टेसन, रियल स्टेट जस्ता बिजनेसमा पनि संलग्न छु । के गर्ने खानु पर्‍यो, बाँच्नु पनि त पर्‍यो नि ।

तपाईंं अमेरिका बसेपछि अमेरिकामा पनि सांस्कृतिक माहौल पैदा गर्नुभयो भन्छन् नि नेपालीहरू ?
म १४ पटक अमेरिका भ्रमण गरेर नेपाल फर्केको मान्छे, पन्ध्रौं पटकमा अमेरिका बसें, अमेरिका पनि बाध्यताले बसियो मैले माथि नै भनिसकें, म अमेरिका बसे पनि शरणार्थी भएर बसेको होइन न त डिभी परेर बसेको हुँ । अमेरिकी सरकारले अतिरिक्त क्षमतावान गायक, सङ्गीतकार, पत्रकापरका रूपमा एक्ट्रा अडिनरी एबिलिटी इवि वान अन्तर्गत अत्यन्त सम्मानित क्याटेगोरीको ग्रीन कार्ड दिएर बसेको हुँ । यसरी बसे पश्चात् मैले यहाँ तीजका बेला तीज महोत्सव, दसैँ तिहारका बेला होस् वा अन्य समयमा सांस्कृतिक कार्यक्रमहरू, तिहारमा देउसी भैलो जस्ता सांस्कृतिक जगेर्ना मूलक कार्यक्रम गर्दै आएको छु । म आएपछि नै सुरु भएको हो तीज महोत्सव, म आएपछि सुरु भएको देउसी भैलो, सांस्कृतिक माहोल, त्यो सबैका अगाडि त त्यो नेपाली समुदायले मूल्याङ्कन गर्ने विषय हो ।

तपाईँ नेपाल फर्किने बारे के छ नि योजना ?
अमेरिका बसेपछि आजको भोलि छाड्ने कुरा सम्भव हुँदो रहेनछ । फेरि म त दुई छोराछोरीको बाउ पनि भएकोले छोराछोरी, परिवारजन प्रतिको दायित्व पनि निर्वाह गर्नु पर्ने भएकोले बढीमा त्यसका लागि म ५ वर्ष अमेरिका बस्छु त्यसपछि म नेपाल फर्केर नेपाल मै केही गर्नु छ । मेरो शरीर मात्र अमेरिकामा हो । मन मुटु सब नेपालमै छ अहिले पनि । म नेपाल नै जान्छु । नेपालमै केही गर्छु । त्यहीँ नै मर्छु, मेरो मृत्यु पश्चात् पनि म पशुपति आर्यघाट मै विसर्जन हुन चाहन्छु ।

राजनीति प्रति निकै वितृष्णा देखिन्छ नि तपाईँको किन होला ?
नेपालको राजनीति हेर्नुस् त, राजादेखि काँग्रेस, एमाले, राप्रपा, माओवादी, खाओवादी, मधेसवादी सबैको चालचलन, सत्ता सञ्चालन विधि, लुटतन्त्र, सब देख्दा म कसरी हर्षित हुन सक्छु र ? कहाँ नेर सन्तोष गर्ने, खुसी हुने ठाउँ छ र ? कसको नै आस छ र ? त्यसैले मलाई नेपाली फोहोरी राजनीति प्रति घृणा छ । म राजनीतिबाट अलग छु । धेरै टाढा छु । वाक्क दिक्क छु । नेपालमा त्यस्तै छ, यहाँ अमेरिकामा हेर्नुस् न । ठ्याक्कै त्यही कपि । कसरी चित्त बुझोस् ?

५ वर्ष पछि नेपाल फर्कने भन्दै हुनुहुन्छ । नेपाल फर्केर राजनीति गर्ने विचार छ कि छैन ?
म नेपाल फर्केर पनि राजनीति गर्ने छैन । त्यहाँ पनि म गीत, सङ्गीत कला, साहित्य, लोक संस्कृतिका लागि काम गर्ने छु । राष्ट्रको सच्चा सपुत भएर काम गर्ने छु ।199018_1882192087769_6008244_n-400×268

देशको वर्तमान अवस्था देख्खा कस्तो लाग्छ ?
छाती पिटीपिटी रुन मन लाग्छ, डाँको छोडेर चिच्याउन मन लाग्छ । हेर्नुस् त कस्तो देश कस्तो बनाए ? पृथ्वीनारायण शाहले बाइसे चौबिसे राज्य एकिकरण गरेर बनाएको नेपाल आज फेरि जातजाति, भाषााभाषी, क्षेत्रगत, पूर्व–पश्चिम, उत्तर–दक्षिण, तेरो–मेरोमा परिणत भएको छ । दाजुभाइ, दिदीबहिनी आ–आफैैं लड्दैछन् । देश अफगानस्तान, इराक, सोमालिया, हाइटी, कंगो, बुरुन्डी, सियरालियोन जस्तै असफल राष्ट्र बनाइदैछ । धर्म बेचे, संस्कृति बेचे, एउटा राजा फालेर सयौँ राजा जन्माएर, विदेशी इसारा अन्माए । एउटा सच्चा सपुत जन्मेको रहेनछ देशमा । सबै खानका काल रहेछन्, कुर्चीको भोका रहेछन् । मेरो देश देश जस्तो छैन अहिले, लुछिएको छ, चिथोरिएको छ, आफ्नै आमाको बलात्कारमा जुटेका छन् कपुतहरु । देशको अवस्था लथालिंग भतागुंग छ, यस्तो देख्दा अत्यत्य दुःख लाग्छ ।

गीत, सङ्गीत, कलाकारिता क्षेत्रमा पनि वेथिति देख्दा कस्तो लाग्छ ?
सायद देशको राजनीतिको असर होला हाम्रो कलाकारिता, गीत, सङ्गीत, साहित्य हर क्षेत्रमा वेथिति झांगिदै गएको छ अहिले । नग्न, छाडा, देख्नै नहुने, सुन्नै नसकिने, विकृतिका पराकाष्ठाहरुले झांगिदै जान थालेको छ हाम्रो यो क्षेत्र पनि । अब त परिवार सँगै बसेसर टिभी हेर्न, वेभसाइट खोल्न, कार्यक्रममा जानै नहुने दिन आउन लागे । छाडापनले सीमा नाध्न थालेको छ । बेलगाम हुन आत्तुर छन् कलाकारहरू । दर्शक श्रोता पनि सिठ्ठी फुक्न र हाहा र हुहु मै मस्त छन् । आफ्नो कला, संस्कृति, रीति रिवाजमाथि धावा बोल्न थालिएको छ । यो अत्यन्त दुर्भाग्यपूर्ण छ । हामी कलाकारले तुरुन्त सच्चिनुको विकल्प छैन । दर्शक श्रोताले पनि फिल्टर गर्न थाल्नु प¥यो । आवाज उठाइदिनु प¥यो । यस्ता कुरालाईप प्रश्रय दिनु भएन ।

नेपालमा पाएजस्तै सम्मान अमेरिकामा पनि पाउनुभएको छ ?
आफू जन्मे हुर्केको, स्थापित भएको ठाउँमा जस्तो मानसम्मान त यहाँ खोजेर पाउन गाह्रो हुन्छ । अमेरिकामा यसै त हामी नेपाली थोरै छौँ । तर पनि अमेरिकामा भएका नेपालीहरूले पनि हामीलाई माया, विश्वास गर्नुहुन्छ । त्यसैमा म सन्तुष्ट छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
मेरा भावनाहरू जनमानसमा पुर्याइदिने तपाईँलाई हार्दिक धन्यवाद । म राजनीतिबाट पूर्ण अलग छु, राजनीतिमा नमुछिदिनुहोला । गीत, सङ्गीत, कला, साहित्य कै क्षेत्रमा मैले केही गर्न चाहन्छु । साथ दिनुहोला । नेपाली फोहोरी राजनीति र कलाकारिताका क्षेत्रमा देखिएका विकृतिलाई कसैले प्रवासमा पनि प्रश्रय नदिनुहोला । हामी जहाँ भए पनि सबैभन्दा पहिला नेपाली हौँ भन्ने कुरा नभुलिदिनुहोला । हाम्रो धर्म, संस्कार, मान, मर्यादा, अनुशासन, सीमा सबैले मनन गर्नुहोला । सबैसँग मेरो यही आग्रह छ । अन्त्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वासिङ्टन डिसी अमेरिकाको अध्यक्षको तर्फबाट यो अन्तर्वार्ताका लागि धन्यवाद र आभार प्रकट गर्न चाहन्छु ।

Loading...

यसमा तपाइको मत