भेरी यातायात प्रालिका दुईवटा बसमा मंगलबार पनि तोडफोड

दिनेश ठाकुर -नेपालगञ्ज,४ असोज

बर्दियाको शान्तिबजार र तारातालबाट नयाँ सुविधा सम्पन्न एसि बस सेवा सुरुवात गरेको भेरी यातायात प्रालिको दुईवटा बसमा मंगलबार पनि तोडफोड भएको छ । बर्दियास्थित कृष्णासार समितिका अध्यक्ष शम्भु रिजालको प्रत्यक्ष निर्देशनमा परिचालित केही युवाले बसमा तोडफोड गरेको प्रालिले दावी गरेको छ ।

मंगलबार बर्दियाबाट छुटेका ना ६ ख ८४४३ र ना ६ ख ८४४५ नम्बरका दुईवटै बसमा तोडफोड गरिएको भेरी यातायात प्रालिका महासचिव उमेश गुरागाईले बताए ।

भेरी यातायात प्रालिको सेवा संचालन हुन नदिनका लागि कृष्णासार समितिले निरन्तर अवरोधको प्रयास गर्दै आएको प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । सिण्डीकेटलाई निरन्तरता दिन खोज्ने यातायात समितिलाई कारवाही गर्नुपर्ने अध्यक्ष गिरीले बताए । भेरी यातायात प्रालिले अत्याधुनिक सुविधासम्पन्न एसी सस्पेन्सन बसहरु भित्राएपछि पुराना समितिले निरन्तर अवरोध गर्दै आएका छन् । हालसम्म प्रालिका चारवटा बसमा तोडफोड गरिएको छ ।

प्रालिले तोडफोडमा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँके र बर्दियामा लिखित उजुरी समेत दिएको छ ।

बर्दियाको शान्तिबजार र तारातालबाट स्तरीय बस सेवा संचालन भएपछि स्थानीय बासिन्दा भने खुशी भएका थिए । स्थानीयले यात्रुको चाहना अनुसार अत्याधुनिक सुविधा सम्पन्न एसी बसहरु संचालन गरेको भन्दै सोमबार बाजागाजा सहित स्वागत गरेका थिए । भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जुनसुकै खालको अवरोध भएपनि यात्रुलाई स्तरीय सेवा दिने आफुहरुको उद्देश्यमा रोकावट नहुने बताए ।उनले प्रालिले यात्रुलाई थप सेवा सुविधा उपलब्ध गराउनका लागि नयाँ स्थानबाट समेत बसहरु संचालनका लागि तयारी गरिरहेको बताए ।

यसैबीच नयाँ बस संचालनमा अवरोध गरिएको बर्दियामा नेपाल प्रहरीका डिआईजी माधव नेपाल मंगलबार पुगेका छन् । भेरी यातायात प्रालिले कानुनसम्मतढंगले राज्यका निकायले अनुमती दिएपछि बिना रोकतोक बस सेवा संचालनका लागि सहयोग गर्न आग्रह गरेको छ ।

Published on September 20, 2016 at 10:56 am

Loading...

यसमा तपाइको मत