मनकामना उमावि र आकाशदीप विद्यालयमा भएको बम बिस्फोटको घटनाप्रति NHRC गम्भीर(विज्ञप्ती)

काठमाडौं ४ असोज

प्रेस विज्ञप्ति
(आमसञ्चारका माध्यममा तत्काल उपयोगको लागि)
२०७३ भाद्र ४ गते
विद्यालय शान्ति क्षेत्र हुन्ः सम्मान गर ।

काठमाण्डौं जोरपाटीस्थित मनकामना उच्च माध्यमिक विद्यालय र आकाशदीप विद्यालयमा आज भएको बम विष्फोट तथा अन्य नौवटा विद्यालयहरुलाई लक्षित गरी विष्फोटक पदार्थहरु राखिएको घटनाप्रति राष्ट्रिय मानव अधिकार अयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
यी घटनाहरुको सम्बन्धमा आयोगले आजै अनुगमन गरेको छ । घटनाबाट बालबालिकाहरु र अविभावकहरुमा मनोवैज्ञानिक त्रास सिर्जना भएको छ भने बालबालिकाहरुले शान्तिपूर्ण वातावरणमा भयरहित ढङ्गले शिक्षा हासिल गर्न पाउने अधिकार समेत उल्लंघन भएको छ ।
विद्यालयहरुमा भएका यस्ता कार्यहरु मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को धारा २८, बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ को धारा १४, १९, तथा नेपालको संविधानको धारा ३९, बालबालिका सम्बन्धी ऐन २०४८, विपरीतको कार्य हो र यस्ता कार्यबाट बालबालिकाले सुरक्षित र शान्तिपूर्ण वातावरणमा पढ्न पाउने अधिकार तथा बालबालिकाको स्वतन्त्रता र सुरक्षाको अधिकार समेत उल्लंघन भएको छ । उक्त घटनाप्रति आयोग गम्भीर दुःख व्यक्त गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनको दायरा भित्र ल्याउन तथा कडा कारबाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ ।

साथै, सबै राजनीतिक दलहरुलाई आफ्ना प्रतिवद्धता पूर्णरुपमा कार्यान्वयन गर्न जिम्मेवार भई बालबालिका तथा विद्यालय शान्ति क्षेत्र हुन् भन्ने विषयलाई आत्मसात गर्न आयोग आग्रह गर्दछ । साथै यस्ता कार्यहरु भविष्यमा हुन नदिने तर्फ सचेत रहन आयोग सम्बन्धित सबै पक्ष, राजनीतिक दल तथा भातृ सगंठनहरुलाई आग्रह गर्दछ ।

मोहना अन्सारी
सदस्य\प्रवक्ता

Published on September 20, 2016 at 10:28 am

Loading...

यसमा तपाइको मत