प्रा.डा. भोलानाथ पोखरेल, प्रमुख महेन्द्र बहुमुखी क्याम्पस, धरान नेपाली विभाग – प्रेस विज्ञप्ति

विआरटि नेपाल सम्बाददाता

प्रेस विज्ञप्ति
एक हजार वर्षभन्दा लामो इतिहास बोकेको नेपाली भाषा र अझ यसभन्दा लामो इतिहास भएको देवनागरी लिपिको आप्mनै विशेषता, मर्यादा र सौन्दर्य छन् । यति लामो शिष्ट परम्पराबाट विकसित र समृद्ध भएको नेपाली भाषाले मानक स्वरूपसमेत ग्रहण गरिसकेको छ । भाषा कुनै पनि जाति र राष्ट्रको पहिचान हो र यसकै माध्यमबाट विविध संस्कृतिको अभिव्यक्ति हुने गर्छ । त्यसैले भाषालाई महत्त्वपूर्ण सम्पदा मानिन्छ तर पछिल्ला केही वर्षयता नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासलाई केही व्यक्ति र निकायले अस्तव्यस्त पारिरहेका छन् । सजिलो बनाउने नाममा भाँडभैलो मच्चाएर भाषाको अस्तित्वलाई नै सङ्कटग्रस्त पार्ने यस्ता गतिविधिप्रति हामी असहमति प्रकट गर्दछाँै ।

भाषाको सार्वभौमसत्ता यसका प्रयोक्तामा निहित हुन्छ । जीवन्त भाषा गतिशील पनि हुने भएकाले यसमा समयसापेक्ष सुधार प्रयोक्ताको जिब्रोअनुकूल सहज रूपमा आफैँ हुँदै जान्छ । घोषणापत्र वा परिपत्रका माध्यमबाट उर्दी जारी गरेर परिवर्तन हुने वस्तु यो होइन । गतिशील भाषा आफैँ परिष्कृत हुँदै जान्छ । भानुभक्तकालीन भाषामा अहिले आएको कसैको उर्दीबाट नभई यसका प्रयोक्ताहरूबाटै भएको यथार्थ छर्लङ्ग छ । भाषाविद् वा वैयाकरणहरूको काम नियम बनाएर भाषा वा वर्णविन्यासलाई भत्काउने नभई भाषामा विद्यमान् नियमहरूको खोजी गरी त्यसलाई सूत्रबद्ध गर्ने मात्र हो । हुँदै नभएको अधिकार प्रयोग गरेर नेपाली भाषाको लेख्य मानक प्रयोग वा वर्णविन्यासमा भाँडभैलो मच्चाउन खोज्ने केही व्यक्ति र निकायका पछिल्ला निरङ्कुश व्यवहारले शिष्ट परम्पराबाट स्थापित नेपाली भाषाको लेख्य मानक प्रयोगको परम्परालाई नै समाप्तिको दिशातर्फ डो¥याउने हाम्रो ठहर छ ।

कतिपय जटिलताको गाँठोलाई फुकाउन तथा भाषामा एकरूपता ल्याउन प्राज्ञिक छलफल र बहस गर्न सकिन्छ तर कुनै व्यक्ति वा निकायको उर्दीबाट वर्णविन्यासमा परिवर्तन गराउन खोज्ने प्रयास कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । ह्रस्व र दीर्घ, पदयोग र पदवियोग, संयुक्त अक्षर जस्ता नेपाली भाषा र देवनागरी लिपिका विशेषताहरूले भाषाको सौन्दर्यमा वृद्धि गरेका छन् । कतिपय अवस्थामा अर्थभेदक हुने विशेषता बोकेका यस्ता व्यवस्थालाई एकरूपताका नाममा समाप्त पार्न खोज्नु नेपाली भाषामाथिकै निर्मम प्रहार हो ।

अन्त्यमा सरलीकरणका नाममा नेपाली भाषाको लेख्य स्वरूपमा बलात् गरिएको परिवर्तनको विरोध गर्दै त्रि.वि.वि. नेपाली केन्द्रीय विभागद्वारा २०७३ भाद्र १६ गते प्रकाशन गरिएको विज्ञप्ति र सोही विभागअन्तर्गत गठित मानक नेपाली भाषा अभियान–२०७३ ले २०७३ भाद्र २७ गते सार्वजनिक गरेको अवधारणापत्रप्रति पूर्ण सहमति जनाउँछौँ ।

प्रा.डा. भोलानाथ पोखरेल
प्रमुख
महेन्द्र बहुमुखी क्याम्पस, धरान
नेपाली विभाग

Published on September 20, 2016 at 10:22 am

Loading...

यसमा तपाइको मत