प्रधानमन्त्रीको भारत भ्रमण सफल

रासस, नयाँ दिल्ली (भारत), असोज १ गते ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल भएको बताउनुभएको छ ।

भारत भ्रमणबारे जानकारी दिन उहाँले आज एक होटलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा भन्नुभयो, “सद्भावना र सहयोग बढाउने भ्रमणको मूल लक्ष्य थियो, त्यसमा हामी सफल भयौँ ।”

भारत सरकार, राजनीतिक दल र जनताको तहमा पनि प्रधानमन्त्रीको भ्रमणबाट उच्च उत्साह देखिएको आफूले महसुस गरेको उल्लेख गर्दै मन्त्री डा महतले यस भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ उचाइ थपेको जिकिर गर्नुभयो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सहित भएको द्विपक्षीय वार्ताबारे जानकारी दिँदै उहाँले दुई देशबीचका सबै विषयमा खुलेर छलफल भएको र त्यसले आगामी दिनमा सकारात्मक सन्देश दिने उल्लेख गर्नुभयो ।

विगतमा भएका सम्झौता एवम् प्रतिबद्धतालाई निश्चित समय सीमाभित्र कार्यान्वयनमा ल्याइने र त्यसका लागि दुई देशबीचमा भएका मन्त्री, सचिव एवम् प्राविधिकस्तरीय संयन्त्रलाई क्रियाशील गराउने प्रतिबद्धता व्यक्त गरिएकाले पनि आगामी दिनमा विकासको विषयले प्राथमिकता पाउने बताउनुभयो । pm-prachand-india

उहाँले द्विपक्षीय छलफलमा एक एक गरेर आपसी हितका विषयमा छलफल भएकाले कार्यान्वयनको पाटोले थप उत्साह थपिएको बताउनुभयो । परराष्ट्रमन्त्री डा महतले भन्नुभयो, “भारत सरकारले भूकम्पपीडितलाई उपलब्ध गराएको एक विलियन डलरमध्ये ७५० मिलियन डलर सहुलियत ऋण र बाँकी अनुदान छ, सहुलियत ऋणको सेवा र सामग्री ७५ प्रतिशत भारतको हुनुपर्ने व्यवस्था थियो, त्यसलाई हटाएर सहज बनाउने सहमति भएको छ ।”

उहाँका अनुसार ढल्केबरमा सबस्टेसन बनाउने कुरामा सहयोग गर्ने, तराई हुलाकी राजमार्गमा दोस्रो चरणको महत्त्वपूर्ण आयोजनामा सहुलियत ऋण दिने र ४०० केभी टान्समिसन लाइन गोरखपुर– बुटवललाई पनि अगाडि बढाउने सहमति भएको छ ।

पञ्चेश्वर आयोजना अगाडि बढाइने र विद्युत् व्यापारमा सहज पहुँचलाई पनि द्विपक्षीय मन्त्रिस्तरीय संयन्त्रले त्यसलाई टुङ्ग्याउने सहमति भएको छ । सीमा सुरक्षाका सन्दर्भमा थप सहजीकरण गर्ने, थप नाका खोल्ने, सिँचाइ आयोजना, लिङ्क रोडलाई विकसित गर्ने, रेल्वे लिंकलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्ने विषयमा कुरा अगाडि बढाइएको छ । prachand-singh

संविधानका विषयमा भारत सरकारले पहिले नै स्वागत गरेको उल्लेख गर्दै मन्त्री डा महतले लोकतन्त्रको सुदृढीकरणमा जाने प्रक्रियालाई सराहना गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–“नेपाली जनताले संविधानसभा मार्फत संविधान निर्माण गर्ने ऐतिहासिक काम भयो, त्यसलाई अझै विकसित गर्ने र कतिपय मागलाई सम्बोधन गर्ने सरकारको पहललाई पनि सरकारात्मक रूपमा भारतले लिएको छ, त्यसकारण संविधानको विषयमा कुनै समस्या छैन ।”

द्विपक्षीय छलफलका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानका विषयमा भन्नुभएको विषय उल्लेख गर्दै डा महतले भन्नुभयो– “संविधान नेपालको आन्तरिक विषय हो, त्यस विषयमा जे भएको छ, मेरो केही भन्नु छैन ।”

उहाँले विगतका कुराभन्दा पनि भविष्यप्रति केन्द्रित भएर दुई देशबीचको सम्बन्धलाई विकासको जगमा मजबुत पार्ने र दुई देशका विषयलाई दुवै देशका जनताका हितमा अधिकतम प्रयोग गर्ने गरी कार्यान्वनलाई अगाडि बढाउने स्पष्ट बाटो लिइएको बताउनुभयो ।

PTI9_16_2016_000044B

Published on September 17, 2016 at 3:59 pm

Loading...

यसमा तपाइको मत