मैले चिनेको पत्रकार रामकुमारी झाँक्री

रामचन्द्र भट्ट

रामकुमारी झाँक्री सबैभन्दा बढी मत ल्याएर एमालेको केन्द्रीय सदस्यमा निर्वाचित भइछन् । आज बिहान उठेर ओछ्यानमै फेसबुक खोल्दा धेरै साथीहरूको फेसबुक स्टाटस त्यही थियो । उनी विजयी भएकोमा धेरैले खुसी व्यक्त गरेका थिए फेसबुकमा । न्यूजसाइटहरुमा आएका पाठकका प्रतिक्रियाले पनि त्यही जनाउँथ्यो ।

नेपाली समाज अनि प्रवृत्तिले कहिल्यैपनि सत्तामा बसेकालाई मन पराउँदैन । चाहे पार्टीको संस्थापन पक्ष भएर पार्टीको सत्ता हाँकिरहेका हुन् या सरकारमा बसेर त्यहाँको सत्ताको मोज गरिरहेकानै किन नहुन् ? जहिलेपनि आम सर्वसाधारण, पाठकले सत्तामा बस्नेका नकारात्मक टिकाटिप्पणीनै सुनिरहन, पढिरहन मन पराउँछ । यो समूहले विपक्षीप्रति सहानुभूति दिइरहेको हुन्छ ।

रामकुमारी यस्तै विपक्षी हुन् । झन्डै तीन वर्षयता उनी उनी पार्टीको सत्ताभित्र थिइनन् । अनेरास्ववियूको केन्द्रीय अध्यक्षबाट बाहिरिएपछि उनी बेरोजगार जस्तै छिन् एमालेको जिम्मेवारीबाट । छोरा खेलाएर बस्नु र बेलामौकामा बल्खु पुगेर सकृयता देखाउन प्रयासरत हुँदा पनि शायद सत्ताले उनलाई देखेन । अर्थात् रामकुमारीको क्रेजलाई सत्ताले सधैँभरि आफू विरुद्ध उजिएको हतियार सम्झियो । संविधान सभाको निर्वाचनमा उनले टिकटको अपेक्षा गरेकी थिइन् गुल्मीबाट । त्यो पनि पाइनन् । नाम भुँले कुनै न्यूजपोर्टलको । उनको सन्दर्भमा उपाध्यक्षमा विजयी हुनुभएकी विद्या भण्डारीले त्यो न्यूजपोर्टलमा रामकुमारीका बारेमा गरेको टिप्पणी यति घटिया थियो कि त्यसको चर्चा अहिले गरिरहनु पनि बेकार हुनेछ ।
शायद आफूले मानेका नेतृ र अग्रजहरुबाट आफ्ना सन्दर्भमा चित्त कुँडाउने अभिव्यक्ति आएपछि उनले क्याम्प चेन्ज गरेकी हुन् कि । नत्र मैले चिनेदेखि उनी वामदेब निकट हुन् । त्यही सहानुभूतिले हुनुपर्छ उनलाई एमालेको राजनीतिको भट्टीमा खारिएका अरू धेरै महिला नेतृभन्दा धेरै मतले विजयी हुने अवसर दिलायो । बधाई रामकुमारी तिमीजस्ता युवालेनै अब मुलुक अघि बढाउन सक्छ । धेरैको आशा र अपेक्षा तिमीहरुमै छ ।
–०–

रामकुमारीको सन्दर्भ आएपछि दिव्य १३ वर्ष अघिको सन्दर्भ जोड्न मन लाग्यो ।
झन्डै १३ वर्ष भएछ । २०५८ माघको महिना थियो त्यो । नुवाकोटबाट काठमाडौँ झरेको मलाई राजधानीमा स्थापित पत्रकार बन्नु थियो । पत्रकारितामा लागेको झन्डै पाँच वर्ष पुगिसकेको थियो । त्यसबीचमा एक हप्ते, दुई हप्ते र एक महिने गरी पत्रकारितासँग सम्बन्धित आधा दर्जन जति तालिम लिइसकेको थिए । तरपनि पत्रकारितामा स्थापित हुन यतिमात्रले पुग्दैन भन्ने भित्रभित्र महसुस भइरहेको थियो ।

नेपाल प्रेस इन्स्टिच्युटले १० महिने एडभान्स कोर्सको पत्रकारिता तालिम दिन्छ भन्ने सुनेको थिए । पत्रकारिताका छोटा अवधिको तालिम लिने क्रममा राजेन्द्र दाहाल, हस्त गुरुङ, चिरञ्जिबी खनाल, मोहन मैनालीबाट एडभान्स तालिमका बारेमा जानकारी पाइसकेको थिए । ‘ए तँ पनि यो तालिम गर् न त’ एक पटक काठमाडौँ झरेको समयमा त्यतिखेर नेपाल समाचारपत्रमा कार्यरत पिबी (पूर्णबहादुर) पोखरेलले भने । उनले अघिल्लो बर्षनै त्यो तालिम लिइसकेका थिए ।

ठुलो पत्रकार बन्ने धङधङीमा म पनि प्रेस इन्स्टिच्युटमा भर्ना हुने प्रयासमा लागे । सिंहदरबार पछाडिको हनुमानस्थानसँगै थियो त्यतिखेर इन्स्टिच्यूटको कार्यालय । त्यहाँ पुगेर फर्म भरियो । ३५ जनाजति प्रशिक्षार्थीको कोटा भएकोमा झन्डै डेढसय जनाको आवेदन परिसकेको रहेछ । त्यही वर्षदेखि १० महिने कोर्शलाई वृहद बनाएर एक वर्षे डिप्लोमा बनाइएको थियो । एकेडमिक बनाउने भन्ने छलफल पनि चलिरहेको थियो । त्यसो हुँदा तालिम लिनेहरु ओइरिएका थिए ।

लिखितमा उत्तीर्ण भएपछि अन्तरवार्ता भयो । अन्तरवार्ताका लागि पत्रकारितामा खारिएका ३-४ जना हुनुहुन्थ्यो । ती मध्य दुईजनामात्र याद छ यतिखेर । एक जना ध्रुबहरि अधिकारी र अर्का कपिल काफ्ले । अहिलेपनि दुवै जना सक्रिय पत्रकारितामै हुनुहुन्छ ।

माघको पहिलो दिनबाटै तालिमको कक्षा सुरु भयो । म नजिकै घट्टेकुलोमा बस्थे । हिडेर १० मिनेटमात्र लाग्थ्यो हनुमानस्थान पुग्न । दोस्रो, तेस्रो दिनदेखि ठुलो ओभरकोट लगाएकी, अग्ली एक महिला देखिइन् कक्षामा । उनी बोल्दा पनि निकै ओजपूर्ण तरिकाले बोल्थिन् । कुराकानी हुँदै जाँदा उनी रहिछन्– रामकुमारी झाँक्री अर्थात् तत्कालीन मालेको विद्यार्थी सङ्गठन अनेरास्वबियूको प्रचार विभाग प्रमुख । त्यतिखेर एमाले बिभाजनको अवस्था भएकोले अनेरास्वबियूका नाममा एमाले र मालेका दुई विद्यार्थी सङ्गठन थिए ।

एक वर्षे तालिम अवधिभरि उनी नियमित रूपमा कक्षामा आउँथिन् । मैले बिर्सिए उनी कुनै साप्ताहिक पत्रिकामा पनि आवद्ध थिइन् । तालिमममा सिकेका कुरालाई व्यवहारमा उतार्न कुनै मिडियामा आवद्ध भएमा राम्रो हुने भएकोले उनी साप्ताहिकमा लेख्थिन् । अर्थात् उनी पत्रकार पनि थिइन् । तर पछि विद्यार्थी राजनीतिमै उनले आफूलाई समर्पण गरिन् ।

मिडियामा काम गरेकी हुनाले मिडियाकर्मीसँग कस्तो व्यवहार गर्नुपर्छ ? कस्ता न्यूज सेलेवल (चर्चित) हुन्छन् भन्ने कुराको राम्रो ख्याल थियो उनीमा । २०६२÷६३ को राजनीतिले उनको राजनीतिक कदलाई ह्वात्तै बढाइदियो ।

त्यतिखेर प्रेस इन्स्टिच्यूटमा डिप्लोमा तालिम लिनेहरुमध्य कति साथीहरू कहाँ छन् भनेर लेखाजोखा गर्दा थोरैलाईमात्र मिडियामा भएको पाउँछु । मिडियामा भएकामध्य थीरलाल भुषाल, राजन कुँइकेल, हरहरि उपाध्याय, बाबुराम विश्वकर्मा अहिलेपनि सक्रिय र स्थापित छन् आफ्नो बिटमा । भुषाल रिपब्लिका दैनिक, कुँइकेल इमेल टिभी, हरहरि कान्तिपुर टिभीमा छन् । राजेन्द्र गिरी आयुर्वेदमा डाक्टर छन् । खेम कार्की एमबिबिएस डाक्टर छन् । पछिल्लो समयमा उनी टिचिङ अस्पतालमा थिए । कृष्ण भण्डारी, आशा गिरी र तृष्णा कुँबर अमेरिकाका विभिन्न राज्यमा छन् । कतिपय साथीहरू एनजिओमा जागिर गर्दैछन् । राजेश झा (अहिराज) मिडियासँगसँगै मधेसको राजनीति गर्दैछन् ।

एक वर्षे कोर्श सकिएपछि साथीहरू लाखापाखा लागे । आ–आफ्नो क्षेत्रमा स्थापित भए । रामकुमारी पनि अखिलको राजनीतिमा खारिदै अध्यक्षसम्म बन्नपुगिन् । उनले इतिहास रचिन् महिला अध्यक्ष भएर ।

अखिलबाट रिटायर्ड भएपछि एमालेको राजनीतिमा आउन उनले प्रयास नगरेकी होइनन् । तर नत उनले आदर्श मान्ने गरेको बामदेवलेनै हात दिए । नत माधव नेपाललेनै । नेपालको राजनीतिमा स्थापित हुन कुनै न कुनै नेताका दौराका फेर नसमाति सुखै छैन । जसले यो समात्दैन उ क्षमतावान छ भने पनि माथि आउनै नदिनका लागि किक हानिन्छ ।

कठिन परिस्थितीबीच एमालेको केन्द्रीय नेतृत्वमा आएकी झाँक्रीप्रति जति सर्वसाधारणको क्रेज र विश्वास छ त्यसलाई टुट्न नदिन उन सचेत हुनैपर्छ । उनी असफल हुनु भनेको युवापङ्क्तीनै असफल हुनु हो ।

Published on September 13, 2016 at 8:59 pm

Loading...

यसमा तपाइको मत