त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, मानक नेपाली भाषा अभियान–२०७३ को नेपाली वर्णविन्यास लेख्य मानकसम्बन्धी अवधारणापत्र

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर मानक नेपाली भाषा अभियान—२०७३

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, कीर्तिपुर
मानक नेपाली भाषा अभियान—२०७३

मिति– २०७३ भाद्र २७

त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, मानक नेपाली भाषा अभियान–२०७३ को नेपाली वर्णविन्यास लेख्य मानकसम्बन्धी अवधारणापत्र

नेपाली भाषाको वर्णविन्यास र लिपिचिह्न सम्बन्धमा विगत केही समयदेखि देखापरेका विवाद तथा अन्योललाई दृष्टिगत गरी विश्वविद्यालयको उच्च तहमा नेपाली भाषासाहित्यको पठनपाठनका साथै अध्ययन–अनुसन्धानमा लामो समयदेखि संलग्न रहिआएका हामी प्राध्यापकहरूको अवधारणा निम्नलिखित बुँदामा प्रस्तुत गरिएको छ ः

१. भाषाको वर्णविन्यास आम सरोकारका साथै शैक्षिक–प्राज्ञिक विषयसमेत भएकाले शिक्षा मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय गरी पाठ्यक्रम विकास केन्द्रका नाममा जारी गरिएको परिपत्र (२०६९) र सोही आधारमा निर्मित शिक्षणनिर्देशिका, शैलीपुस्तिका र पाठ्यपुस्तकमा प्रयुक्त वर्णविन्यास तथा लिपिचिह्नप्रति पूर्ण असहमति जनाउँदै त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्राध्यापकहरूद्वारा २०७३ भाद्र १६ गते विज्ञप्ति जारी गरी विरोध गरिसकिएको छ ।

२. नेपाल सरकार शिक्षा मन्त्रालयको उक्त परिपत्रपछि विभिन्न तहका विषय समितिबाट जारी गरिएका शिक्षणनिर्देशिका, शैलीपुस्तिका र पाठ्यपुस्तकमा प्रस्तुत गरिएका विवादित वर्णविन्यास र लिपिचिह्नले नेपाली भाषामा अराजकता निम्त्याएकोे हुँदा त्यसलाई खारेज गरिनुपर्ने हाम्रो ठहर छ ।

३. नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित नेपाली भाषा सङ्गोष्ठी २०६७ का नाममा गरिएका विवादास्पद निर्णयहरूप्रति हाम्रो विमति रहेको छ ।

४. नेपाली बृहत् शब्दकोशका पछिल्ला संस्करणहरूमा प्रयुक्त वर्णविन्यास र लिपिचिह्न एवं विवादित प्रविष्टिले नेपाली भाषामा अराजकता फैलाएको हुँदा नेपाली बृहत् शब्दकोश (२०७२) लाई रद्द गरी २०५८ को संस्करणलाई निरन्तरता दिनुपर्ने हाम्रो स्पष्ट दृष्टिकोण रहेको छ ।

५. चन्द्रगढी घोषणापत्र–२०६६ मा आधारित रही बनाइएका नेपाली वर्णविन्यास तथा लिपिचिह्नसम्बन्धी विवादास्पद नियमप्रति हामी पूर्णतः असहमत छौँ ।

६. विभिन्न संस्थाबाट देवनागरी लिपिको अस्तित्वलाई नै समाप्त पार्ने गरी गरिएका संयुक्त वर्णको खुट्टा काट्ने निर्णय मानक भाषा निर्माणका लागि घातक रहेको हुँदा त्यसलाई कुनै पनि हालतमा प्रचलनमा ल्याउन हुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण रहेको छ ।

७. ह्रस्वदीर्घ र वर्णका कारण अर्थमा फरक आउने श्रुतिसमभिन्नार्थक शब्दलाई ह्रस्व लेख्ने र अनेकार्थी शब्दका रूपमा प्रयोग गर्ने निर्णयले भाषाको सौन्दर्य समाप्त पारेको हुँदा त्यस्तो प्रयोग हामीलाई कदापि मान्य छैन ।

८. वर्ण, अक्षर वा लिपिचिह्न गणना गरी पदयोग र पदवियोग गर्ने निर्णय हामीलाई पूर्णतः अमान्य छ ।

९. एकात्मक अर्थबोधक रूढ तथा समस्त शब्दलाई पदवियोग गर्ने भनी गरिएको निर्णय हामीलाई कदापि मान्य छैन ।

१०. नामयोगी, द्वित्व, संयुक्त क्रिया र व्यक्तिनामको थरभन्दा अगि आउने सबै शब्द पदवियोग गर्ने निर्णय सरासर गलत रहेको हाम्रो ठहर छ ।

११. प्रचलित परम्परामा संशोधन, परिमार्जन वा परिवर्तन गर्नुपरेमा प्रयोक्ता र आम सरोकारवालासँग व्यापक छलफल गरी निष्कर्षमा पुगेर मात्र कार्यान्वयन गर्नुपर्ने हाम्रो स्पष्ट दृष्टिकोण रहेको छ ।

१२. हाल विद्यमान नेपाली वर्णविन्यास र लिपिचिह्नसम्बन्धी उल्लिखित विवादास्पद निर्णयहरूलाई खारेज गर्ने, प्रयोक्ता र आम सरोकारवालासँग व्यापक छलफल गरी साझा मानक पहिल्याउने र प्रचलनमा रहेका कतिपय लेख्य प्रयोगलाई वैकल्पिक रूपमा प्रयोग गर्ने भन्ने हाम्रो दृढ धारणा रहेको छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल
संयोजक

Published on September 12, 2016 at 12:58 pm

Loading...

यसमा तपाइको मत