कमल थापाले एकताको ढोका बन्द भने पनि हामीले बन्द गरेका छैनौं-पशुपति शमशेर राणा

दिनेश ठाकुर - नेपालगञ्ज, २४भदौं

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले कमल थापाले एकताको ढोका बन्द भने पनि आफुहरुले एकताको ढोका बन्द नगरेको बताएका छन् । आन्तरिक विवादलाई साम्य पार्न राप्रपाका शीर्ष नेताहरु देश दौडाहका क्र्रममा नेपालगञ्ज पुगेर सो कुरा बताएका हुन् ।

अध्यक्ष राणाले भने ‘कमल थापाले एकताको ढोका बन्द भने पनि हामीले बन्द गरेका छैनौं’ ।

राप्रपा नेपालसंगको पार्टी एकता अन्तिम चरणमा भाँडिएपछि कार्यकर्ताको ठूलो पंक्ति नेतृत्वसंग असन्तुष्ट छ । संवैधानिक निकायका प्रमुख पदमा अंगिकृत नागरिकलाई स्वीकार्न नसकिने बताउँदै राणाले आफ्नो पार्टी मधेसमा दुई प्रदेश हुनुपर्छ भन्ने मधेसी मोर्चाको माग संग भने सहमत रहेको पनि बताएका छन् ।

नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राणाले भने, ‘मधेसमा दुई प्रदेश, आमाको नाममा नागरिकता र समावेशितामा हाम्रो सहमति छ तर, संवैधानिक अंगको प्रमुखमा वैवाहिक अंगिकृतलाई भने स्वीकार्न सक्दैनौं’ ।’

राप्रपाले राष्ट्रियता, प्रजातन्त्र र उदारवादसंगै हिन्दू राष्ट्रको मुद्दालाई पनि आफ्नो मुख्य राजनीतिक एजेण्डा बनाएको बताउँदै तराई मधेसका एक तिहाई जनसंख्यालाई बाहिर राखेर संविधान कार्यान्वयन हुन नसक्ने भएकाले आफ्नो दल अहिलेको सरकारमा संलग्न भएको बताए ।

दुई मन्त्रीहरु दीपक बोहरा र विक्रम पाण्डे, सहअध्यक्ष प्रकाशचन्द्र लोहनी, प्रतिभा राणा, सुनिल थापा सहित अध्यक्ष राणा नेपालगञ्ज नेपालगञ्ज आएका हुन् ।

Published on September 9, 2016 at 10:15 am

Loading...

यसमा तपाइको मत