यसरी भेटियौँ हामी

बिप्लप प्रतीक

यसरी भेटियौँ हामी
जसरी पूर्वबाट उड्दै आएको पवन
पश्चिमबाट बग्दै आएको पवनसँग भेटिन्छ ।

कहिले उत्तरतिर उड्यौँ
र, कहिले दक्षिणतिर मोडियौँ
हिँड्यौँ हामी सँगसँगै एकै लयमा
कहिले शनैःशनैः, कहिले द्रुत गतिमा ।

जोडजोडले फन्को मा¥यौँ, झुम्यौँ, घुम्यौँ
पलमा बादललाई छोयौँ र कुहिनाले पर्तिर धकेलिदियौँ
पलमा कोपिलालाई म्वाईँ खायौँ र ती उघ्रिएर फुल निस्किए,
पर्वतलाई अँगालोमा लियौँ छिनभर
अनि छरिदियौँ चिसो बतास शुष्क बस्तीहरुमा
र लहरलाई छुँदै उड्यौँ हामी नेटोतिर ।

पुरै दुनियाँको फन्को मार्यौँ
पृथ्वीभित्र खेल्यौँ लडीबुडी
कहिले एक्लैएक्लै
कहिले फुल, पुतली, नदी र इन्द्रेणीसँग डुल्यौँ
कहिले कुहिरो र कहिले बादलको साथसाथ उड्यौँ ।

कहिले सुकाइदियौँ आँसु रोइरहेकाहरुको
कहिले उडाइदियौँ केश मायालुको
कहिले हल्लाइदियौँ बेस्सरी रुखका डालीहरुलाई
कहिले सुकेका पातहरुलाई सँगै दौडायौँ परसम्म
कहिले गोधूलीलाई आकाशमा पोतिदियौँ ।

कहिले धारण ग¥यौँ रूप सन्नाटाको
कहिले सुनिरह्यौँ कोलाहल निरुद्देष्य,
निश्चिन्त हामी, बिना कुनै मार्गको खोजमा
ढुक्क हामी, बिना कुनै लक्ष्यको आसमा ।

मिसिँदै मिसाउँदै, उड्दै उडाउँदै
हामी यसरी बग्यौँ, हामी यसरी लहरायौँ
र, यसरी भेटियौँ हामी
जसरी पूर्वबाट उड्दै आएको पवन
पश्चिमबाट बग्दै आएको पवनसँग भेटिन्छ ।

र, हामी कहिले उत्तरतिर उड्यौँ
कहिले दक्षिणतिर मोडियौँ ।

Published on September 8, 2016 at 7:39 am

Loading...

यसमा तपाइको मत