पाठेघरको क्यान्सर विरुद्धको खोप आजदेखि दिन सुरु

रासस

काठमाडौँ: सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सो रोगविरुद्धको खोप कार्यक्रमको दोस्रो चरण बिहीबारदेखि सुरु गरेको छ ।
गत वर्षको फागुन १६ गते कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको थियो । छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोपको दोस्रोचरण आजदेखि सुरु गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिए ।

पहिलो चरणमा विद्यालयमा जाने कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका १५ हजार किशोरीलाई खोप दिइएको थियो ।
गौतमका अनुसार गत वर्ष लगाएकालाई दोस्रो चरणको र अहिले कक्षा ६ मा अध्ययनरत र १० वर्षका किशोरीलाई पहिलो चरणको खोप दिइन लागिएको छ ।

उनले भने-‘हामीले परीक्षणस्वरुप दुई जिल्लामा खोप कार्यक्रम सुरु गरेका छौँ । बाँकी जिल्लामा यस कार्यक्रमको प्रभावकारिता हेरी सुरु गरिनेछ ।’ निःशुल्करुपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार रुपैयाँ पर्छ ।

आजदेखि विद्यालयमा जाने किशोरीलाई विद्यालयमा पुगेर खोप दिनुपर्ने र नजाने किशोरीलाई नजिकको स्वास्थ्य केन्द्रमा पुगेर खोप दिने भएकाले कार्यक्रम सञ्चालन गर्न कठिन भएको र दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।
गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ ।

सरकारी तवरबाट पहिलोपटक पाठेघरको मुखको क्यान्सर रोक्न खोप कार्यक्रम सञ्चालन गर्न लागेको भए पनि निजी क्षेत्रबाट भने खोप पहिलेदेखि नै दिइँदै आएको छ ।

Published on September 8, 2016 at 7:12 am

Loading...

यसमा तपाइको मत