सम्झनामा कोलोराडो

 -तारा बराल

अवतरण गर्ने बेला भैसक्यो तर हवाइजहाज आकाशमै फन्फनी घुमिरहेको छ । जमिन कतै देखिदैन । कालो बादलले ढाकेको छ , पानी पर्दैछ । हाम्रो मात्र हैन जहाजका सबै यात्रुको मन र अनुहार डर र त्रासले आत्तिएको देखिन्छ । आधा घण्टा भैसक्यो डेनभर एयरपोर्ट उत्रिदैन जहाज ।हामीलाई लाग्यो, दिन आएछ । तर एक्कासि बादल फाट्यो , तल सुन्दर डेनभर देखियो। सबैको अनुहार प्रफुल्ल , हाम्रो पनि नहुने कुरै भएन ।

नेपाल अमेरिका पत्रकार सङ्घको वार्षिक साधारण सभामा भाग लिन हामी दुवैजना कोलोराडो जाँदै थियौ । म त यसअघि पनि कोलोराडो गैसकेको हुनाले धेरै कौतूहल त थिएन । तर बिटुको पहिलो भ्रमण थियो । उनी धेरै उत्साहित थिइन् । आकाश खुलि सकेको थियो । चारैतिर पहाडले घेरिएको सुन्दर सहर डेनभर देखेपछि बिटुले भनिहालिन् -यो त हाम्रो पोखराजस्तो रैछ । मैले पनि सुरुमा हेर्ने बित्तिकै यस्तै प्रतिक्रिया दिएको थिएँ । साँच्चिकै यो सहरको वनावट पोखरा उपत्यका जस्तै छ । अति व्यस्त ,सडकको सञ्जाल , टाफिकको जंजाल र गगनचुम्वी घरहरुको सहर ह्युस्टनबाट यहाँ आइपुग्दा अर्कै प्रकारको अनुभव हुन्छ ।

tara baral3

झन्डै चालिस मिनेटको सडक यात्रा पछि हामीलाई हाम्रो बस्ने होटेल कार्यक्रमस्थल पुर्याए एक जना मित्रले । शनिवार परेकोले होला सडक उस्तो व्यस्त थिएन नत कुनै भिडभाड ! नेजाका मित्रहरू धेरै आइसकेका थिए । एकवर्ष पछि साथीहरूसँग भेट हुँदै थियो । २०१४ मेमा ह्युस्टनमा भएको अधिवेशनमा निक्कै रमाइलो भएको थियो । त्यसपछि हाम्रो भेट डेनभरमा हुँदै थियो । त्यहाँ पत्रकार साथीहरू मात्र हैन हाम्रा नयाँ राजदूत पनि आउदै हुनुहुन्थ्यो । नेपालबाट वरिष्ट पत्रकार मित्र युवराज घिमिरेको सहभागिता समेत् हुँदै थियो । कोलोराडोवासी नेपालीहरुसंग चिनजान हुने अवसर थियो त्यहाँ । नयाँ साथी बनाउन पाइने , पुरानासंग पुनर्मिलन हुने अनि नयाँ नयाँ ठाउँहरू हेर्न पाइने हुँदा कार्यक्रममा भाग लिन जानुको मज्जा नै गजबको हुन्छ ।

प्रवासमा बसिएको छ – यस्तै भेटघाट , चिनजान र मित्रता आदान प्रदानबाट स्वदेशको सुगन्ध पाउन सकिने रहेछ् । बसाई र कार्यक्रम् थलो एउटै होटलमा थियो । त्यसको सुखद पक्ष भनेको कार्यक्रमका सहभागी र अतिथिहरुसंग राम्रै भेट्घाट । साच्चिकै त्यस्तै भयो । वर्षौ नभेटिएका साथीहरू भेटिए , नयाँ अनुहार फेला परे । डाउन टाउनको त्यो होटेल लवीमा पुराना पत्रकार मित्र रवि अधिकारी भेटिए । झन्डै पन्ध्र वर्ष पछि यो पुनर्मिलन थियो हाम्रो । साह्रै खुसी लाग्यो ।युवराज घिमिरेसंग धेरै पछि भेट्ने अवसर कोलोराडोले जुराइदियो । नेजाका पत्रकार भाईहरुसंग भेट हुँदा त्यसै पनि रमाइलो हुने नै भयो । भेट्घाट , चिनजान अनि भलाकुसारीले आत्मियता बढ्छ । कुराहरू आदान प्रदान् हुन्छन् । झन् स्वदेशमा विपत परेको बेला दु:खहरू साटासाट हुन्छ ।tara baral1भर्खरै आउनु भएका राजदूत डा अर्जुन कार्की मुख्य अतिथिको रूपमा आमन्त्रित हुनुहुन्थ्यो । उहाँको नाम् र परिचय थाहा भए पनि प्रत्यक्ष भेट भएको थिएन । यो पनि हाम्रोलागि सुखद अवसर थियो । अवैतनिक बाणिज्यदुत ॠषी ढकाल त्यहीँ भेटिनु भयो । अर्को सुखद क्षण लोक सङ्गीतका महारथीहरू हिरण्य भोजपुरे र उर्मिला श्रेष्टसंग झन्डै विष वर्ष पछिको भेट । साङ्गीतिक क्षेत्रकी अर्की चर्चित नाम् उषा किरण अधिकारीसंग भेट्ने संयोग पनि पर्‍यो । क्यालिफोर्नियाका राम् लामा ,बलराम थापा, वोल्डरका रमेश गुरुङ्, गजलकार भुपेन्द्र महत, साहित्यकार ज्ञानेन्द्र गदाल भाईसंगको भेट मेरोलागि उत्तिकै महत्वको रह्यो । न्युमेक्सिकोदेखि कार्यक्रममा सहभागी बन्न एन आर एन अमेरिकाका अध्यक्ष केशव पौडेल टुप्लुक्क आउँदा आनन्द लाग्यो । दुई दिनको कोलोराडो बसाइमा अरू पनि धेरै मित्रहरू भेटिए, पचासौको सङ्ख्यामा छन् नाम् । सबै उल्लेख गर्न यो छोटो लेखमा स्थान पनि पुग्दैन ।

तर एउटा अर्को सुखद कुरा मैले उल्लेख नगर्दा आफैमाथि अन्याय हुन्छ जस्तो लाग्यो । २०५० सालतिर गोरखापत्रको प्रधान् सम्पादक भएर काम गर्दा मलाई राम्रो सहयोग पुर्‍याउने पत्रकार मित्र राजेन्द्र शर्मा कोलोराडो मै छन् भन्ने त थाहा थियो । तर पन्ध्रौ वर्षसम्म पनि भेट हुन सकेको थिएन । त्यो सुखद क्षण नेजा कार्यक्रमले जुटाइदियो ।

भोलीपल्टको बोल्डर र इस्टेक्स पार्क यात्राको अर्कै मिठो अनुभव छ । झन्डै आठ घण्टाको त्यो यात्रालाई हाम्रो सवारीको स्टेरिङ सम्हाल्नु हुने राम् लामाले साह्रै रमाइलो बनाउनु भयो । हामीसंगै त्यो यात्रामा युवराज घिमिरे र उहाँकी श्रीमती , पत्रकार भाइ विजय घिमिरे , नातिबाबु भट्ट र बलराम थापा हुनुहुन्थ्यो ।आफू त परिएछ मधेसी ठाउँको वासिन्दा । ह्युस्टनको तातो मौसमबाट बोल्डर पुग्दा चिसो सिरेटो चल्दै थियो । पानी पनि सिम सिम । त्यो लेकाली मौसममा तातो चिया सुर्क्याउन पाए कति आनन्द हुनेथियो भन्ने सोचेको मात्र थिएँ शेर्पा रेष्टुरेन्ट्का कोइराला भाइले चिया पस्की हाले । उनले आफै ब्लेण्ड गरेर बनाएको त्यो चिया पिएपछि त मेरो मात्रै हैन सबैको फुर्ती अर्कै थियो । उनी त्यहाँ झापाबाट आएका रैछन् , त्यसैले सबैले त्यो चियालाई झापाली चिया भनेर् नाम् दिए । साधारण सभाको बन्द सत्र सहित् समापन भएपछि मुखै रसाउने नेपाली खाना खान पाउँदा नेजा कार्यक्रम आयोजक भाइहरू शैलेस पोखरेल र विजय घिमिरेले अतिथिहरुबाट राम्रो धन्यवाद पाए । शेर्पा रेष्टुरेण्टको आतिथ्य आफैमा प्रशंसनीय थियो ।

स्यानु सुन्दर सहर बोल्डरको कार्यक्रम पछि राम् भाइले हामीलाई हुँइक्याए इस्टेक्स पार्कतिर । पहाडको नागवेली सडक हुँदै हामी रकी माउन्टेनको आधार बजार इस्टेक्स पार्क पुग्यौ । स्यानु तर चिटिक्क परेको त्यो ठाउँमा नेपालीहरू जमेर बसेका रैछन् । रेष्टुरेन्ट व्यवसायमा मात्र हैन अरूतिर पनि नेपालीको राम्रो प्रगति देखेर खुसी लाग्यो । नारायण श्रेष्टजीले नजिकैको एउटा रेष्टुरेन्टमा लगेर चिया कफीको निम्तो दिनु भयो । अर्का एक नेपाली भाइको त्यो रेष्टुरेन्ट निक्कै राम्रो रैछ । तातो कफी , हट लेमन र चियाको चुस्कीसंगै गफहरू भए । त्यहाँ राजदूत लगायत अरू धेरै साथीहरू थियौ । समयले कोल्टे फेरि सकेछ पत्तै भएन ।tara baral2

त्यहाँबाट साढे एकघण्टाको बाटो काट्नु थियो डेनभर पुग्न । हामी सबै लाग्यौ आआफ्नै गाडीतिर । टुप्पोमा हिउँले ढाकिएका सुन्दर हिमाल् र तिनै नागवेली सडकको मज्जा लिदै फर्क्यौ डेनभर । हामीलाई भोलिपल्ट बिहान् आठ बजेको जहाज समात्नु थियो ।

अघिल्लो र दोस्रो रात् निद्रा पुगेको थिएन । गीत सङ्गीत र साहित्यको जमघट भएपछि रात् बितेको कहाँ पत्तो हुन्छ र ! त्यस्तै भयो । तर साह्रै रमाइलो । फर्कने दिन बिहानै छ बजे शैलेश भाइ होटेल लवीमा भेटिए । हामीलाई एयरपोर्ट छोड्न भुपेन्द्र महतजी तयार हुनुहुन्थ्यो । हामी लाग्यौ आफ्नू गन्तव्यतिर । जहाजभरि कोलोराडोमा बिताएका रमाइला पलहरू सम्झ्यौ । पुराना र नयाँ अनुहारहरू आँखामा आइरहे । नेजा र खासगरि शैलेश पोखरेल भाइको आतिथ्यलाई धन्यवाद दिँदै समय वितायौ । जहाज जर्ज बुश एअरपोर्टमा ल्याण्ड गर्‍यो, अझै पनि हाम्रो सम्झनामा कोलोराडो ताजै थियो ।

http://localhost:8080/2016/brt/old/literatures.php?pid=8977#sthash.kOVvQKgC.dpuf

Published on September 4, 2016 at 10:05 pm

Loading...

यसमा तपाइको मत