विदेशमा बस्ने नेपालीहरू बिच आत्मियताको विकास गर्ने आधार चाडवाड

-प्रकाश श्रेष्ठ

नेपालीहरू विश्वका विभिन्न मुलुकमा रहेपनि उनीहरू आफ्नो भाषा, कला, संस्कृति, चाडवाड, रितीरिवाज, परम्परा, संस्कारलाई जीवन्त राख्न निरन्तर लागी परेकै हुन्छन् । त्यसो त जहाँ रहेपनि आफ्नो धर्म, संस्कार, संस्कृतिलाई अविच्छिन्न रूपमा अगाडी बढाइ रहनु हामी सबै नेपालीहरूको कर्तव्य हुन आउँछ किनकि यस्ता चिजहरु संरक्षण र निरन्तरता विना नेपालीको पहिचान कायम गर्न सकिदैन ।
विश्वका हरेक देशमा आ-आफ्नै भाषा, विशेष रितीरिवाज, प्रचलन, चाडवाड, पर्व मनाउने चलन हुन्छ र त्यसैकै आधारमा उनीहरूलाई अन्य मुलुकका नागरिकहरू बिच अलग्गै पहिचान कायम गराउन मद्दत गर्दछ । तसर्थ आजको विश्वव्यापिकरणको युगमा सानो मुलुक नेपालमा रहेका नेपालीहरू विविध कारणवश विभिन्न मुलुकहरूमा छरिएर स्थायी वा अस्थायी रूपमा बसोबास गरेतापनि समय- समयमा मनाईने चाजवाड, पर्व, अवलम्बन गरिने धर्म, संस्कार, संस्कृति, रितीरिवाज, परम्पराले गर्दा नेपाल र नेपालीलाई विश्व सामु विशिष्ट रूपमा परिचित गराउन मद्दत पुगेको पाइन्छ ।

नेपाल विविध संस्कृति, संस्कार, धर्म मान्ने विविध भाषाभाषीहरु, जातजातीहरुको साझा बगैचा हो । तसर्थ देश भित्रै पनि र देश बाहिर पनि विभिन्न चाजवाड, पर्वहरु समय समयमा धुमधामरुपमा मनाईन्छ । अझै यस्ता चाडवाड र पर्वहरु आपसमा मिलेर मनाउने, रमाइलो गर्ने, उत्सवको रूपमा विभिन्न कार्यक्रम आयोजना गरेर खुसी साटासाट गर्ने प्रचलन बढ्दै गएको छ । जसको फलस्वरूप विदेशमा रहेका नेपालीहरू बिच आपसमा आत्मियता, मित्रवत सम्बन्ध, आपसी सहयोग र सद्भावको विकाश हुन निकै मद्दत पुगेको पाइन्छ ।

कतिपय चाडवाड, पर्व, रितीरिवाजलाई उत्सवको रूपमा मनाउने क्रममा विभिन्न सामाजिक गतिविधि सञ्चालन गर्नको लागी केहीरुपमा भए पनि “फण्ड जेनेरेट” गर्ने माध्यम पनि बनिरहेको छ । यस्तै भर्खरै मात्र उत्सवको रूपमा विदेशमा समेत धुमधामरुपमा मनाईएको हिन्दु महिलाहरूको महान् चाड/पर्व हरितालिका तीजमा समेत विभिन्न देशहरूमा नेपालीहरूको सामाजिक संस्थाहरूले तीज पर्वको उपलक्ष्यमा “दर खाने” कार्यक्रम राखेर थोरै-थोरै रकम भए पनि सहयोग उठाएर बचत गरेर त्यस्तो रकमलाई सामाजिक सेवामा लगाएको समाचारहरु पढ्न पाइयो ।

यसले पनि के देखाउँछ भने कतिपय चाडवाड वा पर्व उत्सवको रूपमा मनाउने क्रममा समेत सामाजिक उत्तरदायीत्व निर्वाह हुने गरी धेरैथोरै जति हुन्छ आपसमा मिलेर सहयोग सङ्कलन गरेर सामाजिक हित पुग्नेगरि नेपालमा रहेका आर्थिकरुपमा कमजोर विपन्न, असहाय, बाडीपिडित आदिलाई हित हुनेगरि सञ्चालित विभिन्न कार्यक्रमका लागी आर्थिक, भौतिक सहयोग गर्ने प्रणालीको विकास क्रमश हुँदै गएको देखिन्छ । अत: एक त देश वा प्रदेश जहाँ रहेपनि दैनिक कार्यबाट थकित जीवनलाई सधैँ उत्साहित गराइरहन र आपसी भाईचारा र सद्भावलाई जीवन्त कायम गरिरहन, नयाँ पिढीमा आफ्नो भाषा, कला, संस्कृति, संस्कार, रितिरिवाज, धार्मिक मूल्य-मान्यता, विश्वासलाई हस्तान्तरण गर्न, आफ्ना पुर्खाहरुलाई समय समयमा स्मरण गर्न समेत यस्ता चाडवाड, पर्व, जात्राहरु मनाउने परम्पराले निकै महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्दछ ।

त्यस्तै आजकल त विदेशमा समेत परम्परागत बाजाहरु, बाद्यबादन सामाग्रीहरू, भेषभुषाहरुको प्रयोग गरेर विभिन्न जात्राहरु-इन्द्र जात्रा, लाखेनाँच, गाईजात्रा, हनुमान नाँच, त्यस्तै मगर, गुरुङ, किरात, राई लगायतका आदिवासी जनजातीहरुले विभिन्न पर्वहरुलाई परम्परागत झाँकीहरु प्रदर्शन गरेर विश्वका विभिन्न सहरहरूमा धुमधामसँग मनाउने चलन पनि चलिरहेको छ । यसले गर्दा पनि नेपालको संस्कृति, कलाको बारे विदेशीलाई समेत जिज्ञासा रहने र उनीहरू नेपालमा घुम्न जान लालयित हुने क्रम बढ्दै छ । जस्को फलस्वरूप नेपालमा धार्मिक एवं सांस्कृतिक पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्दै गएको देखिन्छ ।

वास्तवमा विदेशमा रहने हरेक नेपाली एक किसिमको अवैतानिक राजदूत वा पर्यटनदुत नै हो भन्दा हुन्छ किनकि उनीहरूले सकभर आफ्नो देशको भौगोलिक एवं प्राकृतिक सौन्दार्यता, भाषा, कला, धर्म, संस्कार, संस्कृति, रितिरिवाज, चाडवाड, खानाका परिकार आदिको बारेमा औपचारिक वा अनौपचारिक रूपमा अन्य देशका नागरिकलाई जानकारी गराएर नेपालमा पर्यटकको रूपमा जान र घुम्न उत्प्रेरित गरिरहेका हुन्छन् । त्यस्तै विदेशमा रहेका नेपालीहरूले आफ्ना देशका हस्तकलाका वस्तुहरू, लगायत अन्य वस्तु एवं सेवाको निर्यातलाई पनि प्रत्यक्ष एवं परोक्षरुपमा प्रभावित तुलाएका हुन्छन् । यसो त वर्तमान समयमा विभिन्न विकसित देशहरूमा ठुला-साना नेपाली व्यवसायीहरुको सङ्ख्या उल्लेख्यीय रूपमा बढ्दै गएका कारण पनि अन्य मुलुकमा धार्मिक, सांस्कृतिक एवं व्यापारिक हिसाबले नेपाल र नेपालीहरूलाई विश्व जगतमा परिचित गराउँदै लैजान मद्दत पुगेको छ ।

यसरी समग्रमा हेर्दा विदेशमा छिटफुटरुपमा चाडवाड र पर्वहरु मनाउने क्रममा तडकभडक बढ्दै गएको भन्ने आरोपहरू लाग्दै गएको भए पनि नेपाली भाषा, कला, संस्कृति, परम्परागत रितिरिवाज, संस्कारलाई जीवन्त राख्ने क्रममा नेपाली समुदायहरू हरदम प्रयासरत रहेको कुरामा दुविधा मान्नु पर्ने अवस्था छैन । तसर्थ जे जसरी हुन्छ विदेशी भूमिमा पनि समय मिलाएर आपसमा मिलेर नेपाली भाषा, कला, चाडवाड, पर्व, धार्मिक संस्कारलाई जीवन्त राख्ने नेपाली समुदायलाई सबैलाईले मुक्तकण्ठाले धन्यवाद दिदा राम्रै हुन्छ । यस किसिमको चलनचल्तीलाई सधैँ जीवन्त बनाइरहन र आपसमा धार्मिक सहिष्णुता कायम गर्दै आपसी भाईचारालाई युगौयुग सम्म कायम गर्न समेत विनम्र अनुरोध छ ।

Published on September 4, 2016 at 5:17 pm

Loading...

यसमा तपाइको मत