स्तनपान अमृत समान
Loading...

अतुल मिश्र

Published on September 3, 2016 at 1:55 pm

pkg story foto

पत्याउनुहुन्छ ? आमाको स्तनमा शिशुलाई जतिखेर जस्तो चाहियो ठिक त्यस्तै प्रकारको दूध आफैँ तयार भइरहेको हुन्छ । आमाको दूध विश्वको एक मात्र यस्तो खाद्य पदार्थ हो, जुन उचित समय, उचित ठाउँ, उचित मात्रा र उचित तापक्रममा उपलब्ध भइरहेको हुन्छ । आमाको दूधमा बच्चाको उमेर, आवश्यकता, रोग लाग्न नदिने गरी विभिन्न तत्त्वहरूको मात्रा स्वचालित रूपमा निर्धारण भइरहेको हुन्छ । यसैले होला, सामान्य अवस्थामा मात्र नभई समयअगावै जन्मेका बच्चाहरूको लागि समेत उसकै आवश्यकता अनुसार आमाको दूध बन्ने गर्छ । अझ कम तौल भएका बच्चाको लागि समेत उसलाई फाइदा पुग्ने गरी आमाको दूध निर्माण भइरहेको हुन्छ ।

‘आमाको दूध शिशुको उमेर, आवश्यकता अनुसार स्वचालित रूपमा विभिन्न पदार्थको मात्रा निर्धारण गर्ने खालको हुन्छ,’ वरिष्ठ बाल रोग विशेषज्ञ डा. धनराज अर्याल भन्छन्, ‘जसरी शिशु विकसित हुन्छन्, त्यसरी नै उनीहरूको आवश्यकता अनुसार आमाको दूधमा पौष्टिक लगायतका अन्य थोकको मात्रा व्यवस्थित हुन्छ ।’

आमाको दूधमा भएका विभिन्न पदार्थहरू शिशुको आन्द्राको लागि अनुकूल हुनुका साथै सहजै पच्ने हुन्छन् । आमाको दूधमा रोग प्रतिरोधक क्षमता हुने भएकाले यसले विभिन्न प्रकारका संक्रमण र रोगहरूबाट शिशुलाई जोगाउँछ । स्तनपानका कारण शिशु र आमाबीच भावनात्मक सम्बन्धसमेत विकसित हुने गर्छ ।

यति मात्र नभई, आमाको दूधमा भएको एक प्रकारको ‘अम्ल’ शिशुको मस्तिष्कको विकासका लागि अत्यावश्यक हुन्छ । शिशु जन्मेको प्रारम्भिक केही महिनासम्म स्तनपान गर्ने शिशुको ज्ञान सम्बन्धी विकास राम्रो हुन्छ । अर्थात्, आमाको दूध खाएका शिशु बढी बुद्घिमान् हुन्छन् ।

आमाको दूधमा भएको लेक्टोफोर्मिन तत्त्वले शिशुको आन्द्रामा फलाम तत्त्वलाई बाँध्छ र फलाम तत्त्वको अभावमा शिशुको आन्द्रामा रोगको कीटाणु उत्पन्न हुँदैन । डा. अर्यालका अनुसार, आमाको दूधबाट आएका साधारण जीवाणु शिशुको आन्द्रामा फस्टाउँछन् र रोगसँग लडेर त्यसलाई उत्पन्न हुन दिँदैनन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार, जन्मेको एक घन्टाभित्रै स्तनपान सुरु गर्नुपर्छ । पहिलो दूध कोलेस्ट्रोम अर्थात् बिगौती खुवाउनुपर्छ । यसमा भिटामिन एवं जीवन रक्षक सबै कुरा हुन्छ । यो खोपजस्तै शिशुलाई विभिन्न रोगबाट रक्षा गर्छ । बिगौती शिशुको जन्म भएको चार/पाँच दिनसम्म आइरहन्छ ।

जन्मदेखि ६ महिनासम्म शिशुलाई मात्र आमाको दूध ख्वाउनुपर्छ । यसपछि आमाको दूधसँगै मुछिएको ठोस आहार पनि बिस्तारै ख्वाउँदै लग्नुपर्छ । शिशुलाई दुई वर्ष वा योभन्दा बढी समयसम्म स्तनपान गराउनुपर्छ ।

शिशुका लागि आमाको दूध सम्पूर्ण आहार हो । यसमा सबै प्रकारको आवश्यक तत्त्व हुन्छ । यसमा भिटामिन, फयाट, कार्बोहाइड्रेट खनिज आदि पर्याप्त मात्रामा हुन्छ । भनिन्छm यसमा कम्तीमा चार सय पोषक तत्त्व मात्र नभई हार्मोन र रोगबाट लड्ने पदार्थहरूसमेत हुन्छ । आमा दूधमा भएको प्रोटिन सजिलै पच्नुको साथै राम्ररी अवशोषित हुन्छ ।

आमाको दूधमा भएको थुप्रै प्रकारको एन्टिबडी र इम्युनोग्लोबिनले बच्चाको रोग प्रतिरोधक क्षमतालाई बढाउन सघाउनुका साथै संक्रमण र एलर्जी हुने सम्भावनासमेत कम गर्छ ।

जन्मदेखि ६ महिनासम्म शिशुलाई पानीबसमेत चाहिँदैन । मात्र आमाको दूध भए पुग्छ । आमाको दूधमा पर्याप्त पानी भएकोले जन्मको ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै पनि कुरा दिनु हँदैन । गर्मी मौसम वा गर्मी ठाउँहरूमा समेत ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै पनि वस्तु खुवाउनु हुँदैन ।

‘समाजमा बच्चा जन्मनेबित्तिकै महपानी लगायत ख्वाउने चलन भए पनि यो पूर्णत: गलत हो,’ डा. अर्याल भन्छन्, ‘६ महिनासम्म आमाको दूधबाहेक केही पनि दिनु हुँदैन ।’ शिशुलाई जन्मको ६ महिनाभित्रै बाख्रा/गाई/भैंसीको दूध मह–मिश्री पानी आदि दिनु स्वास्थ्यका लागि घातक रहेको डा.अर्याल बताउँछन् ।

समाजमा सामान्यत: बच्चा रुन थाल्दा आमाले आफ्नो दूधले नपुगेको ठान्ने गरेका छन् । यसपछि महिलाहरूले आफ्नो ६ महिना नपुगेको शिशुलाई आमाको दूधको विकल्पको रूपमा बट्टाको दूध, गाई/भैंसी/बाख्रा आदिको दूध खुवाउँछन् । यो प्रक्रियालाई विज्ञहरू पूर्णत: अवैज्ञानिक मान्छन् । यो शिशुको स्वास्थ्यसँग खेलाची गर्नुजस्तै हो ।

‘कुनै दुर्लभ परिस्थितिमा कुनै–कुनै कारणबाहेक प्राय: हरेक आमाले आफ्नो बच्चाको लागि उसको आवश्यकताअनुसार पर्याप्त मात्रामा दूध उत्पादन गर्छन्,’ डा. अर्याल भन्छन्, ‘आमाको दूध बच्चालाई राम्ररी पुग्ने गरी उत्पादन भएको हुन्छ भन्नेमा आमाहरू निश्चिन्त भए हुन्छ ।’

हाम्रो मुलुकमा दुई महिना सुत्केरी बिदा भए पनि त्यसपछि बच्चालाई स्तनपान गराउन गाह्रो हुने गरेको देखिएको छ । यस्तो स्थितिमा कार्यालय/काममा जानुअघि आमाले आफ्नो दूध निकालेर सफा कचौरामा राख्नुपर्छ । यो दूध करिब आठ घन्टासम्म सामान्य तापक्रममा राखेर बच्चालाई खुवाउन सकिने जनाउँदै डा. अर्याल भन्छन्, ‘यसरी आफ्नो दूध निचोरेर राखी आवश्यकता परेको बेलामा ख्वाउँदै गर्दा समेत ६ महिनासम्म शिशुलाई मात्र आमाको दूध दिने प्रक्रियालाई जारी राख्न सकिन्छ ।’

बट्टाको दूध त्यो पनि बोतलबाट खानेहरूमा झाडापखाला, निमोनिया बढी हुन्छ । कथंकदाचित कुनै विशेष परिस्थितिमा बट्टाकै दूध खुवाउने बाध्यता आए यसलाई बोतलको माध्यमले खुवाउनु हँदैन । यस्तो स्थितिमा बट्टाको दूधलाई चम्चा र कचौराको प्रयोग गरेर खुवाउनुपर्ने जनाउँदै डा. अर्याल भन्छन्, ‘बोतलमा दूध खानेहरूमा झाडापखाला, निमोनिया आदि अन्य शिशुको दाँजोमा धेरै बढी हुने गरेको पाइएको छ ।’

नवजात शिशुलाई सुरुमा २४ घन्टाभित्र ८ देखि १२ पटकसम्म स्तनपानको आवश्यकता हुन सक्छ । उसो त, शिशुले जति खेर रुचाउँछ, आवश्यकता देखाउँछ, त्यतिखेर दूध खुवाइहाल्नुपर्छ । कान्तिपुरबाट
http://localhost:8080/2016/brt/old/news.php?pid=13022#sthash.k4NtWLUp.dpuf

Loading...

यसमा तपाइको मत