पवित्र सामाजिक महाअभियानमा साथ दिनेबारे विश्वव्यापी अपील

विआरटि नेपाल सम्बाददाता

हाल समाजमा व्याप्त कथित बोक्सी प्रथाको कारण दिनहुँजसो कुनै न कुनै घटना घरिरहेका छन् । कैयौं महिलाहरुको अकालमै ज्यान गैरहेको छ । चितवनको माडीमा २०६८ साल फागुन ५ गते कथित बोक्सीको आरोपमा यस्तै एउटा दर्दनाक घटना घट्यो । चरम गरिवीले आक्रान्त एकल महिला ढेगनीदेवी महतोलाई उनकै आफन्त र छिमेकीहरुले बोक्सीको आरोप लगाएर विहानको समयमा गोठमा काम गरिरहेको अवस्थामा एक्कासी चारैतिरबाट आक्रमण गरी आँगनमा ल्याई कपाल लुछेर, शरीरका विभिन्न भागमा टोकेर रगत चुसेर, जिब्रो थुतेर, आँखा फोडेर, योनीमा परालको गुजुल्टो बनाई घुसारेर दर्दनाक तरिकाले निर्मम अनि क्रूर यातना दिंदै जिउँदै जलाएर मारे । उनको हत्याको घटनाले चितवनको माडी मात्र नभई पूरै देश स्तब्ध भयो ।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय मिडियाले समेत त्यस घटनाको भत्र्सना गर्दै प्राथमिकताका साथ समाचार सम्प्रेषण गरे । यही दर्दनाक घटनामा आधारित रहेर सत्यतथ्यको एकदमै नजिक पुगेर गहन अध्ययन, छलफल र बहस गरेर निष्कर्षमा पुगी हाम्रो नेतृत्वमा ढेगनीदेवी महतोको घटनामा आधारित रहेर के.आर. फिल्मस् एण्ड ईन्टरटेनमेन्टको ब्यानरमा चलचित्र रक्तभोग निर्माण भएको कुरा यहाँहरुलाई अवगत गराउन चाहन्छौं । २०७२ साल वैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भूकम्पले दशौं हजार मानिसको मृत्यु र कैयौं भौतिक संरचना र हजारौं घरहरु ध्वस्त भई लाखौं मानिस घरवार विहीन भएका छन् भने हजारौं बालबालिका जीवन र मृत्युको चपेटमा अन्धकार र अनिश्चित भविष्य लिएर बाँच्न बाध्य छन् ।

यसै सिलसिलामा यस चलचित्र रक्तभोगलाई विश्वव्यापी च्यारिटी शो गर्ने र त्यसबाट आएको सम्मानजनक सहयोग रकमलाई सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित बालबालिकाको घाउमा मलमपट्टी लगाउने हाम्रो पवित्र सामाजिक विश्वव्यापी महाअभियानको सुरुवात हामी यहाँको गौरममय इतिहास बोकेको गरिमामय संस्थाबाट गर्न चाहेका छौं । किनकि त्यस संस्थाले नेपाल र नेपालीको हितमा धेरै महत्वपूर्ण कामहरु गरेको सुन्यौं र देख्यौं । अनि यहाँ र यहाँको संस्थामार्फत यस परोपकारी काम सम्पन्न हुने लागेर पूर्ण आत्मविश्वासका साथ यहाँ बसेको देश र शहरमा यहाँकै कार्यकारी नेतृत्व, गरिमामय उपस्थिति र महान् सहयोगी हातबाट सभ्य र भव्य च्यारिटी सोको आयोजना गरी पवित्र सामाजिक अभियानमा साथ दिनु हुन सुमधुर तथा सद्भावपूर्ण हार्दिक अपील गर्दछौं ।

कृष्णराज तिवारी

निर्देशक-निर्माता के.आर. फिल्मस् एण्ड इन्टरटेनमेन्ट मैतीदेवी, काठमाडौं

 मोवाइल :- ९८४५०६४३५२

इमेलः [email protected]

Published on September 2, 2016 at 9:47 am

Loading...

यसमा तपाइको मत