देश खोज्दै देशभित्र

पेशल आचार्य

Published on August 30, 2016 at 8:49 am

peshal acharya

– युवा पुस्ताको सपनाको नेपाल र युवा पुस्ताले भोगेको विपनाको नेपालमा आकाश जमिनको अन्तर रहेको छ । देश युवा पुस्ताले भनेजस्तो छैन । देश युवा पुस्ताले भोगेजस्तो पनि छैन । अहिलेको युवा पुस्ता केट्रिना कैफको सेक्सी अनुहारमा ताक धिना धिन नाच्न चाहन्छ । अहिलेको युवा पुस्ता मोजार्डको सङ्गीतमा उत्तुङ्ग नाच्न चाहन्छ । यो युवा पुस्तालाई साकिराको अन्तर्राष्ट्रिय गीत वाकावाकामा झुम्न मन पर्छ ।

– नेपालकै कन्था झिक्दा यो युवा पुस्तालाई आइस क्रिम खाँदै क्यू एफ एक्स सुविधाको राजधानी स्थित जय नेपाल सिनेमा हलमा विनीता बरालको चपली हाइट र दिपेन्द्र के खनालको लुटमा मस्ती गर्न मन पर्छ ।
– अहिलेको युवा पुस्तालाई देशको झन्झावात राजनीतिदेखि वाल मतलब छैन । ऊ बरु मुन्नि बद्नाम हुई डारलिङ् तेरेलिए गीतमा सानन्द लिन मन पराउँछ तर संविधान संशोधन र मधेस केन्द्रित पार्टीहरूले ल्याएका बखेडामा रत्तिभर दिलचस्पी दिँदैन ।
– गएको विष वर्ष याने दुई दसकयता जन्मिएको युवा पुस्ताले नेपालमा सबैभन्दा धेरै परिवर्तन भोगेको छ । नेपालीहरूमा पन्पिएका आनीबानी र सुक्रीविक्रीहरू पनि टटोलेको छ । नेपाली बजार र राजनीतिमा धेरै परिवर्तन आइसकेका छन् । राजनीतिको बजारमा धेरै ब्राण्डेड दर्शन बिक्न छाडेका छन् । बजारको राजनीतिक दर्शन दन्त्य कथाको स्यालको रङ् उडेझैँ फुङ्ग भएको छ । मसिहा कहलिएका राजनीतिज्ञहरूका कद र काँठी लिलिपुट यात्रामा ओरालो लागिरहेका छन् । फुटपाथमा घुमिरहेका कार्यकर्ताहरू महलका मालिक र विभिन्न आदेशका मठाधीश भएका छन् ।

– गोलचक्कर काटिरहेका छन् –विचार र व्यवहारहरू । गएको वर्ष भारतको विरोध गरेर एकथरी राजनीतिज्ञले आफूलाई सफेदपोश वश्त्रमा लपेटेर परिचयको कित्ताकाट गरे । यो वर्ष अचम्म लाग्दो गरी राजनीतिको नदनदीमा पानी पृथक् पाराले बग्दो छ । हिजो पनि रनभुल्लमा थिए जनताहरू । आज पनि रनभुल्लमा छन् जनताहरू ।

– विकासको राजनीतिको कुरा गर्ने विवेकशील युवाहरूले खोलेको पार्टी भने सुकेधारा तीरको भाडाको घरमा किरायाको कोठामा सीमित छ । महावीर पुन र डा.गोविन्द केसीहरू माइतीघर मण्डलामा आफ्ना मागहरू सुनाउन चिच्याइरहेका बेला लोकतन्त्रका मसिहा हौँ भन्नेहरू टङ्गालतिरका कुनै आलिसान महलमा वाचाल शैलीमा षडयन्त्रका पुरिया खोल्दै हूनन् ।

– कास ! यति सुन्दर देशलाई चलाउन दिमाग र दूरगामी सोच भएका नेताहरू हामीले पाएको भए ? के छैन नेपालमा –जल, जङ्गल, जडीबुटी र जमिन ? पर्यटन यो देशको कायापलट गर्ने सामथ्र्य राख्ने अर्को अतुल सम्भावनाको क्षेत्र हो । सगरमाथा, लुम्बिनी र जनकपुरक क्षेत्रकै गुरुयोजना तयार गरेर पर्यटनका क्षेत्रमा लगानी गर्ने हो भने हामीले वर्षमा करोडौं करोड बाह्य पर्यटकहरू नेपाल भित्र्याउन सक्ने थियौँ ।

– डा. सेन्दुक रुइतको टेक्नोलजीमा निर्मित आँखाका लेन्सहरू, महावीर पुनको सूत्रमा आबद्ध बेतारको वाइफाइ, उत्तम सञ्जेलका कार्यशैलीका जनताले थेग्न सक्ने स्कुलहरू, नुवाकोटे रामश्यामका प्रविधिमा आधारित वैज्ञानिक आविष्कारहरू यी र यस्ता थुप्रैथुप्रै सन्दर्भहरूको फेहरिस्त बताउन सकिन्छ । नेपालमा सोचको मात्र खाँचो हो स्रोतको होइन । देशमा भएकै चिजबिजलाई विज्ञापन गर्न नसकिएको हो ।

– सगरमाथाको पानी विश्वबजारमा बेच्ने हो भने वार्षिक करोडौं डलरकै वैदेशिक मुद्रा झार्न सकिने स्थिति छ । बुद्धभूमिको माटो र बुद्ध मूर्तीलाई संसारका बुद्ध धर्मावलम्बीहरूलाई बेच्ने हो भने अर्को बाटो र पाटोबाट करोडौं डलर झार्न सकिन्छ । गर्ने नै हो भने स्वास्थ्य, शिक्षा र सञ्चारका क्षेत्रमा धेरै बाटा र पाटाहरू छन् । मात्र खाँचो सोचको छ ।

– अब रूपान्तरणसँगै सोचान्तरणको खाँचो छ –नेपाललाई, युवा पुस्तालाई । जो देशभित्र देश खोज्दै छन् ।
।।समाप्त।।

Loading...

यसमा तपाइको मत