“भात” भन्दा माथि उठ्न सकेनौं हामी

शैलेश श्रेष्ठ, सम्प्रेषण, न्युजर्जी

?एक दिन काम गरेर दुई बोरा मगमग बासना आउने बासमती चामल किन्न सकिने यो आ-मरिखामा आएर पनि फेरी भातकै कुरा उठ्नु अनि उठाउनु नितान्त दुर्भाग्यपूर्ण घटना हो | दुई वर्ष अघि एनआरएन अमेरिकाको मेरील्याण्डमा भएको अधिवेशनमा पनि “बासीभात” र “डढेको भात” नै ब्रेकिङ्ग न्युज बनेको थियो | हाम्रो संचारकर्म पनि भात भन्दा एक बित्ता माथि उठ्न सकेन | यो भात महात्म्य भित्रको “भाते नियत” र “संचारकर्म राजनीति” के हो अब त्यो चाँही बुझ्न ढिला गर्नु हुन्न | के निहुँ पाउँ अनि संचारकर्मी माथि जाई लागौं भनेर मौका कुरेर बसेका केही हुल सामाजिक एकता विरोधी दलगत खोल ओढेका हुडारहरु अहिले यो भात काण्डमा उदात्त अनि निर्लिप्त रौसिएका छन् भने हाम्रै संचारकर्मी साथीहरू घटित घटना अनि आमसंचार माथि भएको दुर्ब्यबहारलाई किनारामा राखेर “समाचार लेख्ने र सङ्कलन गर्नेले भात (खाना) लाई प्राथमिकता दिन नहुने” पुराना अनि खोक्रा उपदेशहरु लेखिरहेका छन् | यी सबै बिबादहरुलाई सांगठनिकरुपले निरुपण गर्नु पर्ने पत्रकारहरुको संस्था नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) ले बिषयगत उठान भन्दा पनि भाबाबेश र उत्तेजनाको प्रक्षेपण गरेको छ जसका कारण विवाद थप ज्वलनशिल बन्न पुगेको छ |

नेपाललाई विश्वको सम्मुन्नत राष्ट बनाउछु भन्दै सन् २०२० भन्दा पनि परको “भिजन” देख्ने अनि बाड्ने एनआरएनए र सूचना अनि सञ्चार मार्फत दुनियाँ बदल्ने अदम्य अनि स्वाधीन चेतनाको सम्प्रेषण गर्ने हामी संचारकर्मी बिच “भात प्रकरण” का नाममा सतहमा आएको यो पछिल्लो लफ्फाबाजीले एक जना सिकारु संचारकर्मीको हैसियतले मेरो सधैँ उच्चा रहने शिर झुकेको मात्र छैन सधैँ ठुलो स्वरले सत्य बोल्ने मेरो आवाज र लवज पनि अलिकति खस्किएको छ |

एनआरएनका संसारभरका अभियन्ता अनि नेतृत्व सामु सग्लो, संग्लो अनि अग्लो उभिएर टेलिभिजन कार्यक्रम सम्प्रेषण मार्फत प्रश्नको पहाड उभ्याउने मेरो ताकतमा अलिकति ह्रास आएको छ | एनआरएनए नवौँ क्षेत्रीय सम्मेलनको समापनमा आयोजना भएको प्रेस भेटघाटमा अग्रज अभियन्ता संस्थापक, वर्तमान अध्यक्ष, वर्तमान कार्यकारी, पच्चिस वटा राष्ट्रिय समन्वय परिषदका बहुआयमिक नेतृत्व अनि भविष्यमा कर्णाधारका सामु आफ्ना अहम विचार अनि प्रश्न राखिरहँदा मैले त्यस्तो अप्ठेरो महसुस गरेँ |

हजारौँ डलर खर्च गरेर पनि प्राप्त नहुने यस्तो समाचार बनाउने, लेख्ने अनि बिषयगत सम्प्रेषण गर्न सकिने स्वर्णिम अवसरलाई हामीले भरपूर उपयोग गर्न सकेनौं कि भन्ने मलाई अहिले लाग्न थालेको छ | पूर्व पश्चिम दौडाह गरेर सम्प्रेषणमा सामुदायिक बहस गर्ने हाम्रो टिमले पनि त्यस्तो असवर पक्रन सकेन | अक्सर हामी आयोजकको थाप्लोमा गरुङ्गो भारी बिसाएर आफू चाँही सग्लो अनि चोखो हुन्छौं अब त्यतिले मात्र समाधान फेला पर्दैन | आयोजकहरुको चरम लापरवाही अनि गल्ती कमीकमजोरीका बारेमा अन्तिम सत्रमा गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्, उत्तर अमेरिकाका डी. आर.सी. ए.सी. शेर्पाले ईमान्दारिताका साथ स्वीकार गर्दै क्षमा याचना गरे | उनीहरूले नजानेर मात्र गल्तिहरु गरेका मात्र हुन त्यो क्षमा दिनै नसकिने अनि नमिल्ने अपराधहरु भने होइनन | आवेसमा आएर यस क्षेत्रीय सम्मेलनको सबभन्दा गरुङ्गो भारी बोकेका उत्तर अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामाले “बोलाएको भन्दा धेरै पत्रकारहरु आएर भात खाई दिएकोले अन्य आगन्तुक पाहुनाहरुलाई भात पुगेन” भनेपछि यो प्रकरणले यस्तो रूप लिएको हो | नेजाले उनको नामै किटेर प्रेस विज्ञप्ति जारी गरेको छ |

NRN 2016_ (135)
“खुच्चिङ्ग संस्कार” को चरम विकास भएको न्यु योर्क र अमेरिकाका अन्य सहरहरूमा मात्र होइन “अमिलो अंगुर संस्कार” ले आक्रान्त मातृभूमि नेपालमा पनि यो भात प्रकरण अहिले भाईरल भनेको छ | गौर गरेर हिसाब किताब गर्ने हो भने सबभन्दा ठुलो घाटा र बद्नाम हामी संचारकर्मीहरु कै भएको छ | त्यसैले यो भात प्रकरणको निदानको पहलकदमी पनि साहसका साथ हामीले नै गर्नु पर्दछ | जानी जानी अथवा अन्जानमा संचारकर्मीहरु माथि थुप्रै अप्ठेराहरु पारिएको हो | सहमति अनुसार हप्तौं अघि एक सञ्चार एक पासको मापदण्ड अनुसार संचारकर्मीहरुले सञ्चार संस्थाको विवरण, प्रतिनिधिको नाम अनि तस्बिर पठाउँदा पनि प्रवेश द्वारमा पास उपलब्ध नहुनु आयोजकहरुको चरम लापरवाही हो | त्यसको मारमा संचारकर्मीहरु एक पछि अर्को गर्दै परिरहे | कोलोराडोबाट प्रत्यक्ष प्रसारणको विशुध्द अभिलाषा राखेर कार्यक्रम स्थल आईपुगेका संचारकर्मी शैलेश पोखरेलले पास पाउन लामो लफ्फाबाजी गर्नु पर्‍यो | त्यसै गरेर त्यही चक्रमा ह्वाईट हिमालमा श्याम श्रेष्ठ पनि भौंतारीरहेका थिए | पछि एनआरएन अमेरिकाका मिडिया संयोजक सर्वज्ञ वाग्लेले मलाई खुसुक्क भने “खोइ के भन्नु र शैलेशजी मैले नै पास पाएको छैन |” त्यस पछि त्यो विषयलाई हामीले सहजरुपमा लियौं |

गल्ती, कमी-कमजोरी काम गर्ने मान्छेबाटै हुन्छ | जसले गल्ती कमी कमजोरीलाई जित्दै अगाडी बढ्छ तिनै मान्छे कालान्तरमा सफल पनि बन्दछ | अझ नेतृत्व तहका व्यक्तिमा त त्यस्तो अदम्य साहस हुनै पर्दछ | अब हेर्नु छ, गैर आवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्, उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामाले शालीन, शिष्ट अनि ठुलो मन बनाएर दुखाएका पेशाकर्मी समूह र व्यक्ति समक्ष भद्र सार्वजनिक क्षेमा याचना अनि बिषयगत सम्बोधन गर्छन् गर्दैनन, यसको निदान, निरुपण अनि समाधान त्यसैमा निर्भर गर्दछ | म निजिरुपमा त्यस्तो अचुक सूत्र अनि साध्यको पक्षमा छु |

Email: [email protected]

Published on August 29, 2016 at 4:47 pm

Loading...

यसमा तपाइको मत