हरितालिका तीज विगत र वर्तमानमा मनाउने शैली

प्रकाश श्रेष्ठ

नेपाल विविध सांस्कृतिक परम्पराले भरिपूर्ण मुलुक हो । विभिन्न जातजाती, भाषाभाषिहरुको साझा चैपारी हो हाम्रो देश, जहाँ विभिन्न चाडवाड र पर्वको आफ्नै विशेषता र महत्त्व छ । जन्म देखि मृत्युपर्यान्त सम्म मान्दै आएका रितीरिवाज र संस्कारहरुको आ-आफ्नै उपदेयिता, मान्यता, विश्वास रहदै आएको छ । बोली र आदर्शमा जतिसुकै नास्तिक भन्न रुचाउनेहरुले पनि जानेर वा नजानेर धर्म, संस्कार र परम्परालाई अवलम्बन गरेकै हुन्छन् ।

नेपालमा मनाईने हरेक चाडवाडको महत्त्व धार्मिक आस्था सँग जोडिएको पाइन्छ । त्यस्तैगरि हिन्दु नारीहरूले विशेष महत्वका साथ मनाउने चाड वा पर्व मध्ये एउटा तीज पनि हो । यसलाई हरितालिका तीज पनि भन्ने गरिन्छ । विशेष गरी यस पर्वमा विवाहित चेलीहरु माईतीमा भेला भएर पुराना साथीसंगीहरुसँग आपसमा रमाइलो गर्ने, मनका वेदना, भावनाहरू गीतको माध्यमबाट व्यक्त गर्ने, दर खाने, उपासना( ब्रत) बस्ने, नाँचगान गरेर रमाउने, नयाँ-नयाँ बस्त्रहरु-गहनाहरु लगाउने गर्दछन् ।

विगतमा हरितालिका तीजलाई विशेषगरि विवाह गरेर पराई घरमा गएका चेलीहरुलाई माईतीमा बोलाईने अर्थात् चेलीहरुलाई उनीहरूको विवाह गरेर पठाइएको घरमै लिन गएर तीज पर्व मनाउन माईतीमा ल्याईन्थ्यो । यस पर्वकै कारण पनि चेलीहरु आफ्नो जन्मघरमा थकाइ मेट्न पनि पाउने र साथै मिठा-मिठा परिकार खासगरि खीर, दही, चाम्रे( घ्यु राखेर बनाइएको विशेष भात), मिस्ठान्न, विभिन्न खाले तरकारी, अचारहरु, मासुका परिकारहरु, फलफुलहरु आदी बनाएर खान पाइने, बालबालिका र चेलीहरुलाई नयाँ कपडाहरू किनि दिने, आफन्तहरु, ईष्टमित्रहरु जमघट भएर मिठो मिठो खाएर आपसमा रमाउने गरेको पाईन्थ्यो ।

खासगरि बर्षदिनको खेती किसानी गर्दाको दु:ख र कठिनाईहरुलाई बिर्सिएर रमाइलो गरेर परिवार, इष्टमित्र, छिमेकीहरुसँग खुसीयाली साटासाट गर्ने विशेष पर्वको रूपमा यसलाई हेर्ने गरिन्थ्यो । दरखाने दिनमा यस्ता मिठा-मिठा परिकार खाएर, नयाँ लुगाफाटोहरु लगाएर बालबालिकाहरु र महिलाहरू रमाउने गर्दथे । भोलिपल्ट हरितालिका तीजको दिन पानी पनि नखाई दिनभरि(निराहार) ब्रत बस्ने(विवाहिता महिलाले आफ्नो पति/स्वामीको सुस्वास्थ र दीर्घायुको कामना गर्दै र अविवाहित नारीले असल पति पाउन सकियोस् भनेर व्रत बस्ने धार्मिक मान्यता रहेको थियो), चौर वा खुल्ला सार्वजनिक ठाउँहरूमा सबैजना जमघट भएर नाँचगान गर्ने गर्थे र ऋषि पंचमी सम्म विशेषरुपमा यो तीज पर्व मनाउने चलन थियो ।

विशेष गरी हरितालिका तीजको दिनमा भने नारीहरूले घर-परिवारमा, छिमेक, टोलमा व्यवहारिक जीवनमा भोग्नु परेका पिडा, दु:ख, समस्या र जन्मघर छोडेर पराई घर बस्नु पर्दाको मनमा परेको चोटहरु लोकलय र भाकामा गीत गाएर सबैलाई सुनाउने, मादल बजाएर संगितमय बनाउने र नाँच्ने गर्दथे । यस्तो नाँचगान र गीत हेर्न र सुन्न गाउँघरका केटाकेटीहरु देखि किशोर किशोरीहरु, युवाहरू, वृद्धहरु समेतको भिड लाग्ने गर्थ्यो । साथै हरितालिका तीजको लगत्तै आउने यही पर्वसँग जोडिएको ऋषि पंचमीमा पनि नारीहरू तीजको अन्तिम व्रत बस्ने, नदीनाला वा पवित्र धार्मिक स्थलहरु, मठमन्दिरहरुमा गएर पुजाआजा गर्ने गर्दथे । त्यस्तै ऋषि पंचमीको अघिल्लो दिन पर्ने गणेश चतुर्थीमा भने नेवार समुदायले समेत विशेष गरी खीर पकाएर अन्य परिकारको साथमा खाने गरेको पाईन्थ्यो र अझैपनि यो प्रचलन चलिआएको पाइन्छ ।

समयको बदलाव सँगै देशमा २०४६/४७ सालको राजनैतिक परिवर्तन पछि भने गाउँघर तिर विभिन्न सामाजिक संघसंस्थाहरु, क्लवहरु, आमासमुहहरु आदिको स्थापना हुन थाले, त्यस्तै एफ.एम. रेडियोहरुको विस्तार हुन थाल्यो जसको फलस्वरूप दरखाने र हरितालिका तीज मनाउने शैलीमा केही परिवर्तन हुन थाल्यो । विभिन्न संघसंस्थाहरुको आयोजनामा सामूहिक दरखाने र तीजको दिनमा समेत नाँचगानलाई प्रतिस्पर्धात्मक तीज गीत प्रतियोगिताको रूपमा आयोजना गर्न थालियो । जसको फलस्वरूप बिस्तारै घर-परिवार र चुलोचौकोका समस्यामा आधारित तीज गीतहरुको स्वरूप, विषयवस्तुमा परिवर्तन हुन थाल्यो । अव भने कसरी प्रतिस्पर्धामा पुरस्कार जित्न सकिन्छ, आयोजकले कुन विषयवस्तुमा केन्द्रित रहेर गाउन र नाँच प्रस्तुत गर्न भनेको छ त्यसलाई नै अवलम्बन गर्न थालियो । यसले गर्दा जुन परम्परागत स्वरूपमा ” पीडाको भारी विसाउने चैपारी” को रूपमा लिईने नारीहरूको महान् चाडको महत्त्व र औचित्यमा प्रश्न चिन्ह खडा हुन थाल्यो । तीजको दिनमा गाईने स्वतस्फुर्तरुपको गीत र नाँचगानलाई छेकबार लगाएर सिमांकन गरे जस्तो देखियो र परम्परागत रोनक घट्दै जान थाल्यो ।

हुँदा हुँदा विगत केही वर्ष देखि त तीजलाई अझै फरक ढङ्गबाट आधुनिक शैलीमा मनाउन थालियो । सहर बजारमा तीज आउनु भन्दा १-२ महिना देखिनै दर खाने, नाँचगान गर्ने चलन बढ्न थाल्यो । त्यस्तै तीजका गीतहरुको नाममा छाडा शब्दहरू राखिएका फेद न टुप्पाको अर्थको अनर्थ लाग्ने गीतहरुको सिडी चक्का निकाल्ने, छाडा तरिकाले अपाच्य हुने ड्रेसहरु र श्रृंगारपटार गरेर अश्लील खालका भिडियोहरु समेटिएको तीज गीतहरू सञ्चारका विभिन्न माध्यममा बज्ने, देखाईने गरेको, युट्युवमा राख्ने गरेको पाइन्छ ।

लोकलयको नाममा छाडा शब्द र छाडा अभिनययुक्त भिडियो बनाएर व्यावसायिक तवरबाट मात्र नाफा कमाउने नाममा नारीहरूको भन्दा पुरुषहरुको हाबी भएको तीजसँग सम्बन्धित गितसंगितले परम्परागत मूल्य, मान्यता, संस्कार, संस्कृति, प्रचलन, विश्वास, रितिरिवाज, धार्मिक मानमर्यादालाई समेत खलल पुर्‍याउन उदण्डत भएको पाइन्छ । यस्ता गीतसंगितमा हात हाल्नेहरुले आफ्नो सामाजिक उत्तरदायित्वलाई पुर्णरुपमा वेवास्था गरेको पाइन्छ र यस्तो विकृति सम्बन्धी विभिन्न गुनासाहरु, टिप्पणीहरु पनि सामाजिक संजालहरुमा आजकल प्रशस्त सुन्न थालिएको छ । अत: यस्तो सांस्कृतिक गतिविधिको नाममा झन् आजकल त विकृत संस्कृतिले उग्ररुपनै लिन थालेको देखिन्छ ।

तीज गितसंगित मात्रै नभएर देश विदेशमै समेत तीजको नाममा भड्किलो गरी खर्चिलो चाडपर्वको रूपमा यसलाई उत्सवको रूपमा मनाउन खोजिएको हो की भन्ने आभास समेत आजकल जो कोहीले गर्न सकिन्छ । आजकल दैनिक जसो पालैपालो घरघरमा बोलाएर छिमेकी र आफन्तहरुले परम्परागत तवरले भन्दा अन्य समयमा भोजभतेर वा पार्टी गर्ने शैलीमा दारुपानीको पनि राम्रै व्यवस्था सहित तीजको दर खाने र उत्ताउलो नाँचगान गर्ने चलन पनि बढिरहेको पाइन्छ । हामी सबैले आफ्नो परम्परागत चाडवाड रमाइलो गरी मनाउनु पर्छ तर चाडवाडकै नाममा तडकभडक र उत्ताउलो पाराले खुसीयाली मनाउने तरिकाले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने कुरालाई समेत मध्यनजर राख्नु पर्दछ ।

चाडवाडको नाममा धनी र हुनेखानेहरुले विलाशिता र भड्किलो पाराले चाडवाड मनाईदिदा आर्थिक रूपमा विपन्न हुनेहरुले पनि ऋणधन गरी देखासिकी गरेर चाडवाड मनाउन खोज्दा बर्षदिन कडा मिहिनेत गरेर कमाएको धन पनि एउटै चाडवाडमा स्वाहा हुने अवस्था पनि नआउला भन्न सकिदैन । जसले गर्दा गरिबीको कुचक्रले सधैँ पिछागरिरहने अवस्था आउन पनि सक्ने हुन सक्छ ।

हुनत: सक्ने र हुनेहरुलाई बर्षै भरि दसैँ, तिहार, तीज हुन्छ तापनि नहुने र विपन्नहरुलाई पनि यस्ता विशेष पर्वमा रमाइलो गर्न, परिवारमा रम्न, सामूहिक रूपमा खुसी साट्न मन लाग्ने हुन्छ तसर्थ यस्ता कुराहरूमा समेत सबै वर्ग र क्षेत्रका व्यक्तिहरू सुझवुझ देखाउन सक्ने हुनुपर्छ । तसर्थ फजुल खर्च गरेर तीज पर्व मनाउनु भन्दा तीजलाई आपसमा आत्मियता साट्ने खुसीयालीको पर्वको रूपमा मनाउन सबै प्रयत्नशील रहदाँ नै सबैको भलो हुनेछ । साथै तीजसँग सम्बन्धित गीतसंगित पनि परम्परागत मूल्य-मान्यता झल्कने किसिमको सृजना गर्न सबैको ध्यान जाओस् भन्ने अनुरोध समेत छ । अन्तमा आउँदै गरेको महिलाहरूको महान् चाड तीजको उपलक्ष्यमा देश-विदेशमा रहनु हुने सबै सबैमा हार्दिक शुभकामना छ ।

Published on August 23, 2016 at 11:25 pm

Loading...

यसमा तपाइको मत