सिसि क्यामेराले सुरक्षा व्यवस्था मिलाउन सहज

ईश्वर थापा-धनकुटा, ८ भदौ

धनकुटाको हिलेमा स्थानियको सकृयतामा सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन सहज भएको छ । हिले बजारमा राखिएका क्यामेराले कैद गरेका दृश्य प्रहरी चौकी हिलेले कन्ट्रोल रुमबाट निगरानी गर्ने गरेको छ ।

हिले बजारमा सिसि क्यामेरा जडान भएपछि प्रहरीलाई शहर केन्द्रित अपराध नियन्त्रण गर्न धेरै सजिलो भएको छ । हिले प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक दुखन यादबले सिसि टिभी जडानले अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई मनोबैज्ञानिक प्रभाव पर्ने गरेको बताए । त्यसैले पनि बजारका सार्वजनिक ठाँउहरुमा सिसि टिभी क्यामेरा जडान भएपछि अपराधिक क्रियाकलापमा ८० प्रतिशत भन्दा बढि कमि आएको यादबले बताए । उनका अनुसार “सिसि क्यामेरा जडानपछि जघन्य अपराधका घटना भएकै छैन । तर, मादक पदार्थ सेवनगरि हुने झगडामा धेरै भन्दा धेरै कमी आएपनि सोचेजति नियन्त्रण भएको छैन् । जातजाति र धर्म संस्कृतीको आधारमा पनि मादकपदार्थ नभई नहुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या रहेको यादबको भनाई छ ।

हिले बजारमा हिले पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास संस्थाले अपराधिक गतिबिधी नियन्त्रण गर्न प्रहरीले मात्रै सम्भव नभएकाले सिसि टिभी क्यामेरा जडान गरिएकोे संस्थाका अध्यक्ष खगेन्द्र बिष्टले बताए । कोशी पहाडी जिल्लामै पहिलो पटक हिले बजारमा सिसि टिभी क्यामेरा जडान गरिएको बिष्टको दाबी छ । करिब सात लाख रुपैँयाको लगानीमा २०७१ साल फागुन देखि राख्ने योजना अनुसार सुरु गरिएको सिसि क्यामेरा २०७२ साल जेठ २ गते उद्धघाटन गरिएको थियो । सिसि टिभी क्यामेरा जडानका लागि धनकुटा नगरपालिकाले ५० हजार रुपैयाँ र जिल्ला विकास समिती धनकुटाले २५ हजार रुपैयाँ गरेको र अन्य रकम स्थानियस्तरबाट संकलन गरिएको बिष्टले बताए । सिसि टिभी क्यामेरा जडान भएपछि सुरक्षीत भएकाले हिले बजारमा पर्यटकको संख्यामा बृद्धि भएको उनको भनाइ छ । हिले बजारमा राखिएका १२ वटामध्ये एउटा सिसि क्यामेरा बिग्रेको छ ।

सार्वजनिक स्थानमा सिसि टिभी क्यामेरा जडान गरिएपछि हिले बजारबासी, व्यवसायी, बैंकरहरु पनि खुसि भएका छन् । सिसि टिभी क्यामेरा जडान गरिएपछि चोरी, झैझगडा लगायत अपराधिक घटनामा कमि आएको स्थानिय बासिन्दाहरुले अनुभव गरेका छन् । उनीहरुले धनकुटाका अन्य शहरी क्षेत्रमा सिसि टिभी क्यामेरा जडान गरेर निगरानी गर्नुपर्ने बताउँछन् ।

सिसि टिभी क्यामेरा जडान भएपछि बजार क्षेत्रमा हुलदंगा, गुण्डागदीर्, चोरी लगायतका कुरामा कमि आएको छ । सिसि टिभी क्यामेरा जडान गरिएपछि प्रहरीले पनि कम मात्रामा जनशक्ति प्रयोग गर्नुपरेको छ । प्रबिधिको युगमा धनकुटाको हिले पर्यटन प्रवर्धन तथा पूर्वाधार विकास संस्थाले हिले बजारमा सिसि टिभी क्यामेरा जडानगरि प्रहरीलाई सहयोग गर्नु एकदमै राम्रो काम हो । अझै पनि धनकुटाका शहरी क्षेत्रका सम्पूर्ण सार्वजनिक स्थानमा सिसि टिभी क्यामेरा जडान गरे सुरक्षा व्यवस्था कायम गर्न सजिलो हुने देखिन्छ ।

Published on August 23, 2016 at 10:57 pm

Loading...

यसमा तपाइको मत