होचाहरूको बीचमा- कृष्ण धराबासी

जन्मिदा त अरू जस्तै थिएँ होला तर जति हुर्किदै गएँ, उत्ति नै होचिदै गएँ म । सँगै खेल्ने साथीहरू हेर्दाहेर्दै वर्षै पिच्छे अग्लाअग्ला देखिंदै जान्थे । म भने हरेक वर्ष त्यत्राको त्यत्रै । आमाले खुट्टामा तेल लगाइ दिंदैगर्दा पिडुला छामेर भन्नु हुन्थ्यो– ‘यो नबढ्ने नै रहेछ, यी हेर त यसका पिडुला गाँठो परेका ।’ पिंडुला गाँठो परेपछि मान्छे नबढ्ने रहेछ भनेर सुनेदेखि म पनि चिहाइचिहाइ साथीहरूका पिंडुला हेर्थे– तिनीहरूका पिंडुला सुलुत्त परेका हुन्थे । आफ्ना चाहिँ छाम्यो लोहोरो जस्तो । कहिलेकाही सपनामा देख्थें मेरा पिंडुला त हेर्दाहेर्दै सुलुत्त भएर तन्किँदा रैछन् रे । ब्यूँझन्छु गाँठाका गाठै ।

दिदीबहिनी सबैले फुत्तफुत्त नाघ्दै गए मलाई । उकालो चढ्न नसक्ने यात्रुलाई पछिल्लाहरूले छोड्दै अधि बढेझैं बढिरहे बिस्तारै उनीहरू पनि । साना थिए हातका नारी । बुबासँग चिन्हा हेराउन आउनेहरूका छेउमा टुसुक्क बसेर तिनीहरूको चिन्हाको फल सुनिरहन्थें । आफ्नै सुरमा मेरा साना नारी हत्केलाले खेलाउँदै कसैले भन्थे– ‘हेर ! कत्ति सानो रैछ यसको नारी पनि । कसरी गरी खाला है पछाडि यसले ।’ छेउमै बस्नु भएकी आमाले भन्नु हुन्थ्यो– ‘यो जन्मिदा पनि सानो थियो । पछिसम्म बेर्नु निस्कन्थ्यो । केही खाँदैन । पढ्न भनेपछि हुरुक्क हुन्छ । जतिबेला पनि जे भेटे पनि अक्षर देखेपछि पढिरहन्छ ।’ मेरो हात समात्नेले भनिन्– ‘यस्तै हुन्छन् कति भूरा । हाम्री जेठी छोरीको छोरो पनि यस्तै छ । पटक्कै केही खाँदैन । पढ्न भने पछि हुरुक्क ।’ पढ्नु राम्रो रैछ थोरै खायो भने झन् पढिने रहेछ जस्तो बुझें मैले । अनि झन्झन् जानीजानी थोरथोरै खाने गर्थें ।

साथीहरू जति अग्लिदै गए म उति नै होचिदै रहेँ । अनि साथीहरू माया गर्दै, जिस्क्याउँदै भन्थे– ‘कान्छा होचो छ, कान्छा सानो छ ।’ मलाई यो होचो हुनु र सानो हुनु पनि राम्रै जस्तो लाग्न थाल्यो । यही कारणले पनि मैले कैयौँ सुविधाहरू पाएको छु । धेरैवर्षसम्म बसमा भाडा लागेन । लुगाफाटो किन्दा खर्च थोरै । जादूचटक हेर्नु प¥यो भने अगाडि बस्न पाइने । फोटो खिच्दा पनि होचाहरूलाई अगाडि ठाउँ सुरक्षित । मिनी वा माइक्रोबसमा यात्रा गर्न पनि सजिलो । अफ्ठयारो पनि थियो कति कुरमा । उमेर बढ्दै गएपछि समकालीन केटीहरूले होचो भनेर हेप्थे, जिस्काउथे । भीडमा थिचिने डर । टाढाबाट हेर्नु पर्ने कुरा अग्लाहरूबाट सधैँ छेलिनु पर्ने । देख्थें– अग्लोको व्यक्तित्व नै फरक, आकर्षक । लुगा पनि सुहाउने, हिडाइको फड्का पनि लामो, अगाडिकोलाई प्रभावित गर्न पनि सजिलो ।

होचो र अग्लो प्राकृतिक कुरा हुन । यी न हाँसोका विषय हुन र हिनताका । तै पनि आफ्नो शरीरको बनावटसँग मानिसको मनोविज्ञानले ठुलो काम गरेको हुन्छ । ज्ञान एकातिर, मनोग्रन्थी अर्काेतिर भइरहेका हुन्छन् । जति नै बुद्धिमान र ज्ञानी भएता पनि हरेक मान्छे आ–आफ्नै ग्रन्थीले ग्रस्त हुन्छ नै । रूप नै मानिसको सबैभन्दा ठुला सम्पत्ति हो । पहिला देखिने कुरा रूप नै हो । बिस्तारै घनिष्ठता बढ्दै गएमा मात्र उसका गुणका आधारमा सम्बन्धमा पुनर्विचार हुन सक्दछ । सुन्दर हुनु वा अरूद्वारा प्रशंसित हुन जसलाई पनि मन लाग्दछ । त्यसकै निम्ति मानिसले आफ्नो आम्दानीको अधिकांश भाग खर्च गरिरहेको हुन्छ । शरीरसँग जोडिएर आउने अनेकौँ विचार, चेतना र संवेगहरू नै मानिसका जीवनआधारहरू हुन्छन् ।

मानिसले आफ्ना कमजोरीहरुलाई थिच्न आफैँ भित्रबाट नयाँ नयाँ सीपहरुको विकास गर्दछ । नसोचिएका, नदेखिएका र अनुमानै नगरिएका गुणहरू नपत्याउँदो मानिसभित्र उत्पन्न हुन्छन् । अन्धाहरूको स्मरण शक्ति, बहिराहरूको इसारा बुझ्ने शक्ति, लुलाहरूको बसीबसी अनेकौँ काम गर्ने शक्ति, उसभित्रबाट उत्पन्न वैकल्पिक क्षमता हो । कुनै एकपक्ष कमजोर भएको व्यक्तिमा अर्काेपक्षको चामत्कारिक विकास भइरहेको हुन्छ ।

म सानो, लुते र कमजोर थिएँ । सानैदेखि मेरो एउटा खुट्टो अर्काे भन्दा केही लुलो थियो, त्यसैले म दौडिन, उफ्रिन र खेल्न सक्दिनथें । म बसेर खेलिने चेस, लुडो, क्यारेम बोर्ड आदिहरू खेल्थें र राम्रो जान्दथें पनि । त्यसो त मैले सङ्गीत र कलाको क्षेत्रमा पनि विकास गर्दाे हुँ तर घरको दयनीय आर्थिक अवस्थाका कारणले होला त्यसका लागि चाहिने बाजागाजा र क्यान्भास, रङ्गकुचीको प्रबन्ध हुन सकेन । अनि म बिस्तारै कागजमा पेन्सिल र डटपेनले मनका कुराहरू कोर्न थालेँ । अरू साथीहरू खेलेर शिल्ड कपहरू जित्थे म कविता सुनाएर खाता, कलमहरू जित्थे ।

बिस्तारै मलाई आफू होचो भएको कुराले खासै प्रभावित गर्न छोड्यो किनभने एक दिन मैले थाहा पाएँ, म त मेरी आमा भन्दा अग्लो रैछु । धेरै ठूली ठानेकी मेरी आमा त म भन्दा नि होची पो रैछिन् । अनि थाहा नपाई म अरूसँग दाँजिन थालेँ । यसो गर्दै जाँदा बुझ्दै गएँ मलाई होचो भन्ने केटीहरू भन्दा पनि मै अग्लो हुँदोरैछु । बुझ्दै गएँ मानिसको लुगा कपडाले पनि हेर्दा अग्लो होचो देखिदोरहेछ । महिलाहरू माथिदेखि तलसम्म छोपिने साडी चोलो, कुर्ता सलवार, जामा, म्याक्सी आदिहरूले अग्ला देखिदा रहेछन् र पुरुषहरू सर्ट पेन्ट, हाफ पेन्ट, हाफ भेस्ट आदिले होचा देखिने ।

यो शरीरको अग्लो होचोको मानसिक दबाबबाट मुक्त हुँदै गएपछि बिस्तारै मलाई आफ्नो उचाइमा बेग्लै प्रकारको गर्व लाग्न थाल्यो । मैले यही उचाइ पाएकाले म लेखक हुन सकें, अरूको माया पाउन सकें । जहाँ पनि सजिलै प्रवेश पाउन सकें र अनुभवहरू भेला गर्न सकें ।

काका स्व. एस.एल. शर्माले प्रायः मलाई भनिरहनु हुन्थ्यो– ‘आजसम्म मलाई कसैले निहुराउन सकेको थिएन, तैले लुरुक्कै पार्छस् सधैँ।’ उहाँ निकै अग्लो हुनु हुन्थ्यो । झापाका थोरै अग्ला व्यक्तिहरूमा एस.एल. शर्मा पर्नु हुन्थ्यो । त्यसो त उहाँका छोरा शलभ पनि अग्लै हुनुहुन्छ । जब म उहाँको छेउमा गएर उभिन्थें, उहाँले मलाई हेर्न निहुरिनु प¥थ्यो । उहाँको यो कुरा सुनेर वरिपरिका हाँस्थे । उहाँको त्यो कुरा सुने पछि ममा एकप्रकारको रमाइलो गर्व भरियो । अनि म नजानिदो पाराले अचेल पनि अग्लाहरूको छेउमा पुगेर उभिइदिन्छु । अनि उनीहरू बाध्य भएर मेरा अघि निहुरिइरहेका हुन्छन् । अरूलाई आफूसँग सजिलै झुकाउन सकिने यो शक्ति के रामशरण महत, केशवकुमार बुढाथोकी, राधाकृष्ण मैनाली, बिष्णुविभु घिमिरे, राजेन्द्र शलव, नारायण वाग्लेहरूसँग होला ?

होचो भएपछि आफूले कहिल्यै तल हेर्नु नपर्ने रहेछ । सधैँ माथितिर मात्र हेर्नु पर्ने । त्यसो त आध्यात्मिकहरू प्रायः सबैले माथि हेर्नु, उत्तरोत्तर हेर्नु नै भन्छन् । उनीहरूको विचारमा स्वर्ग, वैकुण्ठ सबै माथि नै हुन्छ । भौतिक कुरा गर्दा पनि प्रायः महत्त्वपूर्ण कुराहरू माथि नै हुन्छन् । जून, तारा, सूर्यहरू माथि नै छन्, वायुमण्डल माथि नै छ, हिमाल माथि नै छ, प्लेन उड्ने बाटो माथि नै छ । माथि नै थिए अस्तिसम्म राजा, अहिले राष्ट्रपति माथि नै छन् । मन्त्री, सचिव, सरकार सब माथि नै हुन्छ । माथि नै बस्छन् घर मालिकहरू, माथिबाटै बोलेको मात्र सुन्छन् सबैले ।

सबैको प्रयत्न हुन्छ माथि पुग्ने । माथिको आकर्षणले प्रायः सबैले तलकोलाई कुल्ची रहेका हुन्छन् । तलकाको ढाडमा नटेकी माथि पुग्न कोही सक्दैन । पैसाले, बलले, ज्ञानले, आवाजले, हतियारले जेसुकैले भए पनि तलकोलाई दवाएर माथि पुग्ने यस प्रतिस्पर्धामा म मात्र तल बसिरहने के कुरा थियो त । सायद त्यसैले मैले पनि माथि पुग्न, माथिको भएर देखिन कैयौँ तलकोहरूलाई टेकें होला । नजानेर त जसले पनि टेक्न सक्छ, तर जानीजानी पनि त नटेकी कहाँ हुन्छ । कसकसलाई कहिलेकहिले कहाँकहाँ टेक्दै म यहाँसम्म आइपुगें भन्ने मलाई भन्दा बढी कसलाई थाहा होला र ! अरूबाट आफू हेपिएको, थिचिएको, भनिरहँदा के मबाट अरूहरू हेपिएका, थिचिएका, मिचिएका थिएनन् ? मैले कृषि विकास बैङ्कको आयोगमा आफूलाई पास गराउँदा कुनै अर्काे अज्ञात एक जना मबाट थिचिएको थिएन ? म आनन्दसँग माइक्रोबसको सिटमा बसिरहेको बेला अरू कुनै एक जना कुप्रिएर उभिइरहेको हुँदैन ? मेरो पुस्तक सजिलै प्रकाशित भइरहेको बेला अर्काे कुनै राम्रो लेखक प्रकाशकको अभावमा कुण्ठित भइरहेको छैन ? मैले प्रत्येक क्षेण कुनै अज्ञात एकजनाको हरेक सुविधा खोसिरहेको हुन्न ? म यहाँसम्म आउँदा अर्काको बाटो नछेकी, उसलाई नअल्झाई आएको हुँला त ?

तर यो ‘माथि’ वा ‘अग्लो’ ले कहिल्यै पनि किन देख्न नसकेको होला होचोलाई ? भन्न त एस.एल.शर्माले भन्नु भाथ्यो ‘तँ होचोले मलाई सधैँ निहुराउँछस्’ तर के यथार्थमा अग्लोहरू होचोहरूका अघि निहुरिएका हुन्छन् ? झुकेका हुन्छन् ? होचोबाटै अग्लिएकाहरूले विर्सिसकेका हुन्छन् आफ्नो धरती । आफू आएको बाटो र आफ्नो हिजो । माथि भनेको हिडदै जाँदा पुगिने हो । हिंड्नेहरू जो पनि पुग्न सक्छन् माथि । तर पुगिसकें पछि फेरि तल झर्नु पर्छ, मेरो वास्तविक ठाउँ भनेको तलै हो भन्ने ज्ञान चाहिँ कसरी हराएको होला ?

म जागिरमा पस्दै अर्दली भन्दा माथि थिएँ, अलिक पछि खरदार भन्दा माथि भएँ, फेरि सुब्बा भन्दा माथि भएँ । हेर्दाहेर्दै मलाई हेर्नेहरूकै नजर फरक परेका थिएँ । अस्ति भर्खर कसैले मलाई भन्यो– ‘तपाईँ त अब धेरै माथि पुगिसक्नु भयो ।’

एकछिन टोलाएर उसलाई हेरेँ र सोचेँ– म खै काहाँ पुगेँ र ? के म पनि माथि पुगेँ त ? के मैले पनि तल देख्न छोडेँ त ?होचो, पुड्रको, सानो देखिएको म अग्लिएँ त ? अग्लिनलाई के पिँडुला तन्किनै पर्दैन त ? म चार फुट एघार इञ्चको मान्छे पनि अग्लिएँ त ?

मलाई डर लागेको छ– साँच्चै म अग्लिएँ भने र होचाहरूलाई देख्न छाडेँ भनेँ म पनि के यो देशका नेताहरू जस्तै, कालाबजारी जस्तै, भ्रष्टाचारी र कमिशनखोर जस्तै हुन्न ? अस्तिसम्मको साह्रै होचो, म जस्तै होचिएका कैयौँ कृष्णप्रसादहरूलाई नदेख्ने म कुनै हरामप्रसाद बन्दिन होला त ?

तर एउटा कुराले खुसी छु म कि संसारको सबैभन्दा होचो मान्छे पनि मेरै देशमा छ र ऊ अब संसारको सबभन्दा अग्लो भएको छ । अब लागेको छ अग्लो हुनलाई अग्लै हुनु नपर्दोरहेछ । अब होचाहरू आफ्नै होचाइका कारण अग्लिनसक्ने रहेछन् । शरीरको होचो मात्र होइन, सामाजिक, आर्थिक, राजनैतिक, धार्मिक आदि कारणले दबाइएका होचाहरू अब आफैँ अग्लिन थालेका छन् । सबभन्दा अग्लो मानिएको दरबार नै होचिएपछि अब अरू कुन् अग्लाहरू छन् जसले अझै होच्याइरहलान् ? त्यसो त अग्लिन होडबाजी गर्ने कैयौँ समकालीन होचाहरू नै छन् जो आज अग्लिएर टाक्सिदै गएका छन् , जसले अग्लिनु अघि भन्थे– म अग्लिएँ भने तिमीहरू सबैलाई उचाल्ने छु तर, आज उनीहरू एक्लै अग्लिएका छन् र सबको नजरमा होचिइरहेका छन् ।

हे अग्लोमा चढेर देखिएका होचाहरू ! तिमी अझै पनि अग्लिन सक्छौ यदि तल हेर्यो र तलका होचाहरूलार्इृ माथि आउन हात दियौ भने , नत्र लेप्चा भाइहरूले फुटाइदिएको हाँडीको सिँढी जस्तो ढल्ने छ तिम्रो अग्लाईको थुम्को ।

चित्त बुझेको छ आज मलाई कि अग्लो हुन पिडुला डल्लो परेर केही नहुने रहेछ । अग्लो हुन होचाहरूसँगै हिँडिरहनु पर्ने रहेछ, र म हिडिरहेको छु होचाहरूकै बिचमा होचै भएर ।

कृष्ण धराबासीका अन्य लेखहरु 

Published on August 22, 2016 at 12:13 pm

Loading...

यसमा तपाइको मत