शिकागोल्याण्ड फ़्रेण्डशिप सोसाइटी (CNFS) अध्यक्षमा टेकराज पौडेल विजयी

विआरटि नेपाल सम्बाददाता-शिकागो , २२अगष्ट 

अमेरिकाको सुन्दर सहर शिकागोमा नेपालीहरूको साझा संस्था शिकागोल्याण्ड फ़्रेण्डशिप सोसाइटी(CNFS) को आज सम्पन्न कार्य समितिको निर्वाचनमा शिकागोका समाजसेवी टेकराज पौडेल अध्यक्ष पदमा  विजयी भएका छन् ।नेपाली समुदायबिच  निष्पक्ष, सहयोगी र सबै पक्षसंग घुलमिल गर्न सक्ने अगुवा रुपमा हेरेका समर्थकहरुले पौडेललाई शिकागोल्याण्ड फ़्रेण्डशिप सोसाइटी(CNFS) को कार्य समितिको अध्यक्ष पदमा  बिजयी गराएका हुन् ।

आफ्ना प्रतिद्वन्द्वी चन्नु प्रसाद भट्टराईलाई उल्लेख्य मतान्तरले उछिन्दै श्री पौडेल विजय भएपछि छोटो प्रतिक्रिया दिँदै नेपाली समुदायको हक़ हित र संस्कृति संरक्षणका साथै खेलकुद र रोज़गार अभिमुखिकरण आदि क्षेत्रमा उल्लेख्य जोड़ दिने र निकट भविष्यमै संस्थाको आफ्नै स्वामित्वको भवन तर्फ पहलकदमी गरिने उनले बताए ।

शिकागो क्षेत्रमा यस संस्थाले पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषाको कक्षा सञ्चालन, खेलकुद , नयाँ वर्ष,तीज तथा दसैँ शुभकामनाका साथै नेपालमा भैपरि आएका प्राकृतिक विपत्तिमा सहयोग गर्दै आएको छ ।

आगामी दुई वर्षका लागि निर्वाचित १५ सदस्यीय सो समितिमा प्रथम उपाध्यक्ष पदमा गणेश थापा, द्वितीय उपाध्यक्षमा ईश्वरी पाठकले झिनो मतको अन्तरले चर्चित युवा बाबुराम सापकोटालाई पराजित गरेका छन् । तृतीय उपाध्यक्षमा विक्रम थापा, महासचिवमा कृष्ण बर्तौला र कोषाध्यक्षमा मुकेश चौधरी र सदस्यहरूमा डा. अमित खनाल, डा. राजेन्द्र पंगेनी, मनोज चौधरी, सुमन पाठक र कलाकार मीन दर्लामी निर्वाचित भएका छन् ।

कार्य समितिको निर्वाचनमा नेपालीहरूले बडो उत्साहका साथ मतदान गरेका थिए साथै मतदान प्रक्रिया बडो वैज्ञानिक र सरल बनाइएको थियो । मतदानको तरीक़ा हेर्दा ठुलो आम निर्वाचन जस्तो अनुभूति हुन्थ्यो ।

Published on August 22, 2016 at 10:49 am

Loading...

यसमा तपाइको मत