आमा

राधा रिजाल

आज पनि मन एक तमासको भएर आयो
एकोहिरियका आँखाहरुमा तिम्रो संम्झनाको
आधिवेरीले अनायासै भेल उर्लन थाल्यो

छाती गहै भएर आयो, श्वास फूल्दै आयो
उमेरले आठ दशक काटिसकेको तिम्रो त्यो
वयोवृद्ध शरीरले अझै पनि मेरा लागी मायाको
मूल फुटाइ दिदा तिम्रो सामु म निरीह भई गलि सकेको छु ।

आज आमाको मुख हेर्ने दिन फेसबुकका भित्ताहरुमा सबै आमाको फोटोहरू अपलोड भैरहदा म पनि अछुतो रहन सकिन । परिमाणत सात समुद्र पारिबाट तिम्रा लागी दुई चार शब्दहरू कोरेर मन हलुको पार्ने कोसिस गर्देछु ।

हुनत आमा तिमीलाई सम्झन कुदै दिनको आवश्यकता पर्देन । हर घडी हर पल तिमी सधैँ सम्झनामा आउँछौ । तिम्रा उमेरको परिवर्तन सँगै दृष्टि हराई सकेका सधैँ आँसु टलपली रहने आँखाहरुमा सदा सदा मेरा लागी सुखी र खुसी देख्ने चाहनाहरु सलवलाई रहदा म धन्य हुन्छु । श्रवण शक्ति हराउँदै गरेका तिम्रा कानहरुमा सधैँ मेरा शब्दहरू भनेको सुन्दा मन भयिएर आउँछ ।

वुढौयौलीले चाउँरिएका तर मायाले भरिएका तिम्रा हत्केलाहरुले मलाई सुम्सुयाई मातृत्व खन्याएको झझल्को आउँदा, फेरि वाल्यकालमा झैँ तिम्रो माखमा लुटुपुटु गर्दे तिम्रो आत्मीयताका सुगन्धमा मोहित हुन मन छ ।

एउटा निर्जिव रक्त पिण्डलाई श्रृष्टिमा फूलाउन श्वास भर्दे मायाले सजाउँदै जीवन मुर्झाएकि थियौ । आमा म जन्मनु अघि नै तिम्रो शरीरको अंश थिए ।

म तिमिमा थिए
तिमीले खायौ र म अघाय
तिमीले श्वास फेर्यो र म वाँचे
तिमीले गायौ म गर्भमै नाचे
तिमीले नाच्यौ म रमाय

तिमिले मलाई संसार देखाउन प्रसव वेदनामा छटपटि पिडा सहन नसकेर अनेकौ सुस्केराहरु सुसेल्दै मध्यरातका सन्नाटा प्रहरहरुमा मृत्यु सँगै पैठजोरी खेल्दा खेल्दै पनि झसङ्ग झस्केर मायालु हातहरुले मलाई सुम्सुयाउदै मेरो स्थिति विचरण गर्दा मलाई स्वर्गीय आनन्द प्राप्त हुन्थ्यो । मातृवात्सल्यले भरिएको तिम्रो न्यानो काखमा परेड खेल्दै तिम्रो अनुहारमा सजियका ममताको गहिराई बोकेका आखाँहरुमा नियाल्दै मुहारमा लहराएका केश राशि तान्दै मेरो भोक मेटाउने बहानामा लात्ती हिर्काउँदै तिमीलाई चुसीरहे, लुछिरहे, स्वादले जिव्रो फटकारी रहे र डकारीरहे । बदलामा केवल तिमीले दश धाराको मूल फुटाई रहयौ, मलाई नियाली मुस्कुराई रहयौ ।

जीवनको जस्तो सुकै परिस्थतीमा पनि तिमीले म माथि मातृत्व खन्याइ रहयौ । मेरा आवश्यकताहरुलाई संम्भव भए सम्म पुरा गरयौ । आफूले नखाई खुवायौ, नलगाई लगाइ दियौ र आफू नसुति सुतायौ । बदलामा तिमीले कहिल्यै केही लिइनौ । मेरो जीवनको हरेक मोडहरुमा अनगिन्ती धुम्तिहरुमा साथ दिने रङ्ग भर्ने अनि श्रृष्टि फुलाउने तिमी निस्स्वार्थ देवीको प्रतिमूर्ति हौ । यसैले त संसारमा कुनै चिज छैन आमा जो तिमि भन्दा ठुलो होस ।

प्रकृतिको नियमलाई आत्मसाथ गर्दे तिमीबाट सृजीत म
तिम्रो मांशपिण्ड वाट निर्मित
तिम्रो रक्तपिण्वाट जीवित

आफू स्वयम आमा भएर तिमीमा घटेका सम्पूर्ण कुराहरू
घटनाक्रमको जोड घटाउ र तिम्रो जीवन चक्र पुन
म मा दोहोरी रहदा आमाको स्वरूप र अनुभवले खारिदै जादा
तिम्रो महत्वले म व्यूझन्छु ।
कति भनु
कति वोलु

जति बोले पनि शब्दहरू कम पर्छन तिम्रा लागी
कल्पना भन्दा पनि माथि तिम्रा ममता
त्यसैले होला हरेक सन्तानको जीवनमा रङ्ग भर्ने,
उज्यालो छर्ने तिमीबाट ममताको उज्यालो पाइरहन
तिम्रो मुख हेर्ने दिन औसीमा परेको ।

अन्त्यमा
हाल व्रमाण्डको दुई विपरीत धुव्रमा हामी हुँदा
भगवानलाई मात्र यति बिन्ती छ
यति नै पुकार छ
मिल्छ भने मेरो आयुको अलि कति समय आमालाई थपि
भेट हुने दिन चाडै जुरायस ।।

http://brtnepal.com/old/literatures.php?pid=11948#sthash.onhhs1h9.dpuf

Published on August 19, 2016 at 10:24 pm

Loading...

यसमा तपाइको मत